Comments Add Comment

असन्तुष्ट दललाई वार्तामा ल्याउने सरकारी प्रयासप्रति अमेरिकाको चासो

KP-Oli-and-Tod२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री विलियम टोडबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध, भूकम्पपछिको पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयन तथा नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग लगायतका बिषयहरुमा छलफल भएको छ ।

टोडले प्रधानमन्त्री ओलीको नेतृत्वमा संविधान कार्यान्वयनमा भइरहेको प्रयास र आर्थिक बिकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आहृवानको प्रशंसा गरेका छन् । संविधानप्रति असन्तुष्ट दलहरुको माग वार्तामार्फत समाधान गर्ने सरकारको प्रयासमा सहयोग गर्ने भन्दै उनले संवादमार्फत नै सबै समस्याको समाधान हुने बिश्वास व्यक्त गरेका छन् ।

अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले भूकम्पपछिको पुनर्निर्माणबारे चासो राख्दै त्यसलाई गतिका साथ अघि बढाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री ओलीले नेपालको संविधान जननिर्वाचित संविधानसभाद्वारा जारी गरिएको, सभाका ९२ प्रतिशतले हस्ताक्षर गरेको, ८६ प्रतिशतले दफादफामा वहस गरी पारित गरेको भन्दै यो उत्कृष्ट संविधान रहेको बताएका छन् । संविधानमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको भन्दै उनले कसैलाई त्यस्तो लागेको भए वार्ता र संवादमार्फत समाधान खोज्न सकिने बताए ।

आफुले वार्तामा आउन असन्तुष्टहरुलाई आग्रह गरेको त, असन्तुष्ट दलहरुले त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र अमेरिकाबीच आर्थिक र व्यापारिक सम्बन्ध बिस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका छन् । अमेरिकी सरकारले ६६ बस्तुमा दिइएको कर सहुलियतको प्रंशसा गर्दै उनले नेपालको मौलिक उत्पादन गार्मेन्ट, कार्पेटलाई पनि त्यसभित्र समेट्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment