Comments Add Comment

वृक्षारोपणका लागि साढे चार लाख बिरुवा उत्पादन

nursery
११ असार, कञ्चनपुर। वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले वन कार्यालय कञ्चनपुरले नर्सरी तयार गरी चार लाख ६५ हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ ।

सिसौ, मसाला, टिक, कोइराला, टँकी, बकाइनो, अर्जुन, विजयसाललगायतका प्रजातिका बिरुवा उत्पादन गरिएको छ ।

सामुदायिक वन, निजी जग्गा, राष्ट्रिय वनमा वृक्षारोपणका लागि बिरुवा उत्पादन गरिएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले बताए । उनका अनुसार कुण्डामा ५० हजार, नवलपुरमा ५० हजार, ब्रह्मदेवमा एक लाख ५० हजार, जिल्ला वन कार्यालयमा एक लाख, वाणिमा ४० हजार र वेदकोेटमा ७५ हजार गरी चार लाख ६५ हजार बिरुवा उत्पादन गरिएका छन् । बिरुवा उत्पादन गर्न झन्डै रु ३० लाख बढी खर्च गरिएको छ ।

राष्ट्रिय वनको बाँझो रहेको २५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना बनाएका छौँ कार्यालय प्रमुख शर्माले भने, “अन्य बिरुवा स्थानीयको मागको आधारमा वितरण गरिने छ ।”

स्थानीय बासिन्दाको माग १०÷१२ लाख बिरुवा भए पनि मागअनुरुप बिरुवा उत्पादन गर्न नसकिएको उल्लेख गर्दै कार्यालय प्रमुख शर्माले सीमित बजेटका कारण बढी बिरुवा उत्पादन गर्न नसकिएको बताए ।

बिरुवा अनुदानमा प्रतिव्यक्ति १० देखि ५० दरले वन कार्यालयले उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्रिय वनको पैदावारले बढ्दो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति लिइएको छ ।

कार्यालय प्रमुख शर्माले भने, “बिरुवा हुर्काएर सर्वसाधारणले थोरै मेहनतमा बढी प्रतिफल पाउने भएकाले पनि बिरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता बढाउन जरुरी छ ।”

वृक्षारोपणको कार्यले वन विनास रोकी वातावरणीय सन्तुलन कार्यम गर्न, जैविक विविधताको संरक्षण गर्न र जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्ने उनले बताए ।

वृक्षारोपणका लागि वन कार्यालयले दीर्घकालीन योजना बनाई एक महिनाभित्रै लागू गर्ने तयारी समेत गरेको छ । गत वर्ष वन कार्यालयले चार लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment