Comments Add Comment

वीरबहादुरको व्यापारः एउटै खुकुरीबाट ८५ हजार कमाइ

परदेशमा सिकेको सीपले स्वदेशमै मनग्य आम्दानी

१३ असार, काठमाठौं । गुल्मीको अमरअर्वाथोक-८ सुन्तलाबारीमा जन्मेका ३९ वर्षीय वीरबहादुर विश्वकर्मा आफूलाई खुकुरी निर्माताका रुपमा विश्वमा चिनाउन चाहन्छन् । १८ वर्ष भारतको देहरादूनमा खुकुरी तथा फलामका अन्य उपकरण बनाउने काम गरेका वीरबहादुरले एउटै खुकुरी ८५ हजार भारुमा बेचेको अनुभव संगालेका छन् ।

Bir-Bahadur-BKसफल उद्यमी हुनका लागि जोस जाँगरका साथै आफ्नो उद्यममा केही न केही नयाँपन हुनुपर्ने वीरबहादुर बताउँछन् । उनी भन्छन्- ‘१८ वर्ष भारतमा बस्दा मैले फलामको उपकरण बनाउन त्यहीँ सिकें । अहिले मलाई आफ्नै गाउँमा बसेर अझै प्रगति गर्न रहर छ ।’

नेपालभन्दा भारतमा रहेका बेला राम्रो आम्दानी गरेको सम्झँदै वीरबहादुर भन्छन्- ‘भारतमा काम गर्ने क्रममा त्यँहा मैले सजावटका लागि तयार पारिएको एउटा खुकुरी भारु ८५ हजार सम्म बिक्री गरेको थिए । तर, नेपालमा त्यति महंगो सामाग्री बिक्री गर्न सकिँदैन । अहिले यँहा खुकुरीहरु १५ सयदेखि ५ हजारसम्म बिक्री भएको छ ।’

अहिले वीरबहादुर गुल्मीमै बसेर फलामका कृषि औजार निर्माण तथा बिक्री गरिहेका छन् । विगत ८ वर्षदेखि उनी आफ्नो थातथलोमै बसेर यो पेशा गर्दै आइरहेका छन् ।

आफूले देहरादूनमा सिकेको सीप स्थानीय स्तरमा प्रयोग गरेर आयआर्जन गर्ने उद्देश्यले उनी स्वदेश फर्किएका हुन् । देहरादूनस्थित जीपीएस तालिम केन्द्रको राम्रो जागिर चटक्कै छाडेर फर्किएका उनी त्यहाँजस्तो नेपालमा कमाइ हुन नसकेको बताउँछन् ।

नेपाल फर्किएपछि वीरबहादुरले भारतमा सिकेको सीपलाई सदुपयोग गर्दै फलामका उपकरण बनाइरहेका छन् । उनले खुकुरी, दाउ, हँसिया, कुटो कोदालादेखि लिएर गि्रल, सटर, फलामका झ्याल, गेट आदि निर्माण गर्दै आएका छन् । वीरहादुरले यो व्यवसायबाट मासिक ७५ हजारसम्म आम्दानी गर्दै आइरहेका छन् ।

आठ कक्षासम्म मात्रै अध्ययन गरेका उनी आँफूले गर्ने काममा एकचित्त भएर निरन्तरता दिएमा सफलता पाइन्छ भन्ने धारणा राख्छन् । त्यसैका साथमा आफूसँगै अन्य गाउँलेहरुलाई पनि व्यवसायिक उद्यमी बनाउन मद्दत गर्ने उनको चाहना छ ।

अमरअर्वाथोक र आसपासका गाउँमा व्याप्त बालीघरे प्रथामा फलामका औजार, उपकरणहरु बनाउने चलनमा परिवर्तन गराउनका लागि उनले परम्परागत भन्दा पनि व्यवसायिकरुपले काम गर्नुपर्ने बताउँछन् ।

यसका लागि उनले व्यवसायिक समूह बनाउने प्रयास गरे । तर, अशिक्षा एवं चेतनाको अभावका कारण उनको यो प्रयास सफल भएन ।

कामको जताततै प्रशंसा

रेसुङ्गा इन्जिनियरिङ्ग उद्योग, बुटवलका प्रोपराइटर मानबहादुर बिकले वीरबहादुरकोे व्यवसायबारे भने- ‘म थोक ब्यापारी हुँ । मेरो ब्यवसायको बजार रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी आदि जिल्लामा रहेको छ । मैले बेच्ने सामानहरुमध्ये वीरवहादुरले निर्माण गरेका फलामका विभिन्न उपकरणहरु छन् ।’

वीरबहादुरलेे करिब सात वर्ष अगाडि बनाएका फलामका सामाग्री पहिलोपटक बिक्री गर्न पाउँदा आफू एकदमै प्रभावित भएको मानबहादुर बताउँछन् । त्यसपछि वीरबहादुरसँग अहिलेसम्म उनले नियमित कारोबार गरिरहेका छन् ।

वीरबहादुरले बनाएका सामान गुणस्तरीय हुने भएकाले आफ्ना ग्राहकहरु खुशी रहेको वीरबहादुरको भनाइ छ । तर, बजारको माग अनुसार वीरबहादुरले फलामका उपकरण पूर्ति गर्न नसकेको उनी बताउँछन् ।

त्यसैगरी गौरीपोखरा- २ बाट घरायसी प्रयोजनका फलामजन्य उपकरण किन्न आएका ग्राहक श्याम प्रधानले भने- “म अहिले आधा घण्टाको बाटो हिँडेर वीरबहादुर दाइको पसलमा बञ्चरो, हसिँया, कुटो र कोदालो किन्न आएको हुँ ।’

स्थानीय स्तरमै उद्यम गरेर आम्दानी गर्न सकिन्छ भन्ने सन्देस दिने उद्देश्यले दायित्व नामक संस्थाले गत वर्ष गुल्मी जिल्लामा आयोजना गरेको दायित्व इन्टरप्राइज च्यालेञ्ज प्रतियोगितामा २ सय ३१ जना उद्यमीहरुले फारम भरेका थिए ।

उक्त प्रतियोगिताको विभिन्न चरणहरु पार गर्दै वीरबहादुर उत्कृष्ट १० उद्यमीको छनोटमा परे । यसवापत उनले २५ हजार नगद पुरस्कारसमेत पाए । साथै व्यवसाय विकाससँग सम्बन्धित विभिन्न तालिमहरु पनि प्राप्त गरे ।

आफूले बनाएका फलामका विभिन्न उपकरणसँगै खुकुरीबाट आफू नेपाल तथा बिदेशमा पनि चिनिन चाहने वीरबहादुरको ईच्छा छ । उनी भन्छन्- ‘अहिले मेरो ब्यवसायमा एकजना मात्रै कामदार हुनुहुन्छ, तर म आगामी दिनहरुमा अन्य युवाहरुलाई पनि रोजगार दिन चाहन्छु ।

तर लोडसेडिङ्गको समस्याले आफूले सोचे अनुसारको फलामको उपकरणहरु राम्ररी बनाउन नसकेको उनी बताउँछन् ।इमान्दार, लगनशील तथा मेहनती वीरबहादुर आफूले सञ्चालन गर्दै गरेको यस व्यवसायलाई निरन्तरता दिँदै थप आधुनिक उपकरणहरु खरिद गर्ने योजना बनाएका छन् ।

आफ्नै समुदायमा बसेर अझै प्रगति गर्दै देश-विदेशमा आफू र आफ्नो व्यवसायको ख्याति बढाउने लक्ष्य राखेका छन् वीरबहादुरले । उनको लक्ष चाँडै पूरा भएको देख्न पाइयोेस् ।

(दायीत्वको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment