Comments Add Comment

कामै नगरी तलब खान्छन् चिकित्सक संघका अध्यक्ष झा

Anjani Kumar Jha

१६ साउन, चितवन । नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनीकुमार झाले चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट काम नै नगरी मासिक तलब खाँदै आएका छन् । उनी अस्पतालको रेडियशन अंकोलोजी बिभागका प्रमुख समेत हुन् ।

अधिकांश समय काठमाडौंमा बस्दै आएका झाले क्यान्सर अस्पतालबाट भने नियमित रुपमा तलब बुझ्दै आएको अस्पतालले जानकारी दिएको छ ।

उनले अस्पतालबाट मासिक ८८ हजार ३ सय ९७ र भत्ता २० हजार गरी कुल १ लाख ८ हजार ३ सय ९७ रुपैयाँ मासिक बुझ्दै आएका छन् ।

अस्पतालबाटै आलोचना

अस्पतालको रेडियशन अंकोलोजीमा उनीसहित ८ जना चिकित्सक छन् । विभागमा क्यान्सर रोग लागेका झण्डै १ सय जना बिरामीहरूले दैनिक रेडियसन सेवा लिँदै आएका छन् । तर, विभागीय प्रमुख झा अस्पतालमा भेटिँदैनन् ।

काम नै नगरी किन तलब र भत्ता दिँदै आएको भनेर अस्पतालका कार्यकारी निर्देशक डा. सिबी पुनसँग जिज्ञासा राख्दा पुनले भने, ‘आफ्नो बिदा भइन्जेल बिदामा बस्नुहुन्छ होइन भने जागिरबाट राजीनामा दिनुपर्दछ।’

कार्यकारी निर्देशक पुनले बिदामा बसेको भएपनि हाजिर कपीमा उनलाई काठमाडौं काज भनेर तलव भत्ता दिँदै आएको जानकारी दिए ।

काठमाडौं काज भनेर उनलाई चिकित्सक संघको राजनीति गर्न छुट दिइएको भन्दै अस्पतालकै कर्मचारीहरुले आलोचना गर्दै आएका छन् ।

काठमाडौं बसेर निजी धन्दा

चितवनको वीपी कोइराला क्यान्सर अस्पताल सरकारी अस्पताल हो । उनलाई सरकारले मासिक एक लाख बढी तलब भत्ता र आकर्षक आवास सुविधा पनि दिएको छ । तर, डा. झा अस्पतालमा होइन, अधिकांश समय काठमाडौंमा बिताउँछन् ।

KCC Bhaktapur
काठमाडौं क्यान्सर सेन्टर (केसीसी)

राज्यकोषबाट आकर्षक सुविधा पाएका झाले काठमाडौंमा केही डाक्टरहरूसँग मिलेर क्यान्सर रोगको उपचार गर्ने भन्दै निजी अस्पताल सञ्चालनमा ल्याएका छन् । उनले भक्तपुरको मन्जुश्री-२ नुवाकोटमा काठमाडौं क्यान्सर सेन्टर (केसीसी) सञ्चालन खालेका छन् । रेडियोथेरापी केमोथेरापी लगायतका सेवा दिन भन्दै यो संस्था डा. झाले खोलेका हुन् ।

अस्पतालको वेभसाइटमा नै ‘चितवनस्थित क्यान्सर अस्पतालमा धेरै वर्ष काम गरेका डाक्टरहरू यो अस्पतालका कार्यरत रहनुभएको छ,’ भनेर उल्लेख गरिएको छ ।

झाले भरतपुर क्यान्सर अस्पतालका पुराना केही कर्मचारीहरूलाई पनि काठमाडौं सेन्टरमा काम गर्न आऊ भन्दै फकाउने गरेको स्रोतले जानकारी दियो ।

कार्यकाल सकिँदा पनि अध्यक्ष नै

नेपाल चिकित्सक संघको अध्यक्ष रहेका झाको कार्यकाल विधान अनुसार गत फागुण महिनामा नै सकिए छ । तर पनि उनी अहिलेसम्म अध्यक्ष नै भएर काम गरिरहेका छन् । नेपाल चिकित्सक संघको विधानमा तीन वर्षे कार्यकाल हुने छ भनेर तोकिएको छ ।

उक्त कार्यकाल सकिएको ६ महिना बितिसकेको छ । उनले आगामी भदौमा अधिवेशन गराउने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment