Comments Add Comment

कविता : खतरनाक मान्छे

सबैभन्दा खतरनाक त आगो हुन्छ

तर जो

यस बेलासम्म पनि

चुपचाप बसिरहेछ

चकमक धुलोहरूसँगै

कतै टाढा सुदूर गाउँहरूमा

 

Sundar Kurupपानी पनि शान्त रहुन्जेल

चुपचाप बसिरहन्छ

पहाडको आदिम हत्केलाहरूमा

 

नदी, समुद्रहरुमा

केही चलायमान हुन्छ पानी

तर जहाँ भए पनि पानी आगो जत्तिकै खतरनाक हुन्छ

 

तर तिमी को हौ

जो आफूलाई

सबैभन्दा

खतरनाक साबित गर्न अनेक थोक गरिरहन्छौ

कहिले विद्रोहको

धम्की दिइरहेका हुन्छौ

कहिले हाँस्दैहाँस्दै हात मिलाइरहेका हुन्छौ

सम्माननीयज्यूहरूसित

कहिले व्यस्त चोकमा गणतन्त्रको सस्तो तन्ना ओछ्याएर

फुटपाथे व्यापारी झैं

बेचिरहेका हुन्छौ कोतपर्व विजेता जंगबहादुरको तरबार

कहिले पाखुरामा खोपेको

ब्रुस लीको टाटु देखाउँदै पन्ध्र-बीस जनाको

ग्याङ लिएर हिँडिरहेका हुन्छौ

कहिले मन्दिर, मस्जिद, गुम्बाहरुमा लाखौंलाख दान दिइरहेका हुन्छौ

कहिले चुन्नीलाल यादवको पसलमा हप्काई-हप्काई पान खाइरहेका हुन्छौ

कहिले सानुमाया खड्काको चिया पसलबाट

चियाको पैसै नतिरी फटाफट हिँडिरहेका हुन्छौ

 

कहिले सन्यासी

जस्तो भएर बिन्दास हिँडिरहेका हुन्छौ
मान्छेहरुको दुर्गम प्रयोगशालाहरुमा

अनकन्टार आँखाहरुलाई प्रशस्त बेचेका छौ तिमीले

स्यालको सिङ जस्तै सपना र हनुमाने पैसाहरू
थुप्रै पल्ट सुनेको छु

डक्टर, इञ्जिनियर, प्राध्यापक,

विद्यार्थी, व्यापारीहरुको मुखबाट

तिमी निकै खतरनाक मान्छे हौ
तर मेरो एउटा प्रश्न कि

सरकार,

मान्छे

कतिखेर सबैभन्दा खतरनाक हुन्छ

न तिमी चेपाङ हौ

न राउटे हौ तिमी

न त बाढी-पहिरो

न बाघ-भालुको डर छ तिमीलाई

जब कि इँटाहरुको अस्थिपञ्जरबाट

निर्मित विशाल महलमा बस्छौ

तर पनि किन सधैं

भित्री जेवमा लुकाई बस्छौ

इन्डियन रिभल्बर
ओ खतरनाक मान्छे !

के तिमीलाई म देखि डर लाग्छ ?

हो…??

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment