Comments Add Comment

नेविसंघ प्रतिनिधि भन्छन्- हामीले भोट हाल्न पाउनुपर्छ

nebisang_bhrikutimandap

२६ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशन उदघाटन भए पनि प्रतिनिधि विवादले अवरुद्ध छ । नेताहरुबीच भागबन्डा नमिलेर महाधिवेशन अवरुद्ध भएपछि कार्यकर्ताहरु अन्यौलमा परेका छन् ।

महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताहरुले मंगलबार त छिटो बन्दसत्र सुरु गर्न माग गर्दै नाराबाजी नै गर्नुपर्‍यो । महाधिवेशन गराउने जिम्मा पाएको निर्देशक समितिको अथक प्रयासले विवाद मिलेको भनिएको छ र बन्दसत्र सुचारु हुने नेताहरुले बताएका छन् ।

बिभिन्न जिल्लाहरुबाट महाधिवेशनमा भाग लिन र लोकतान्त्रिक विधिबाट नेतृत्व चयन प्रक्रियामा भाग लिने उत्कट चाहानासहित कार्यकर्ताहरु काठमाडौंमा भेला भएका छन् । महाधिवेशनस्थल भित्र जान प्रहरीले रोक लगाएपछि उनीहरु बाहिरतिर टहलिरहेका देखिन्थे । कोहि आफना उमेद्वारहरुको सम्पर्कस्थलमा भेटिए । कोहि नौं वर्षपछि हुन लागेकोको महाधिवेशनमा अमूल्य भोट हाल्न पाइन्छ कि पाइँदैन भन्ने अन्यौलमा छन् ।

महाधिवेशनस्थलमा भेटिएका केही प्रतिनिधिहरुलाई हामीले सोधेका थियौं नेविसंघको महाधिवेशनबाट कस्तो नेता चुनिनुपर्ला ? उनीहरुको जवाफ जस्ताको तस्तै ।

सुरेशबाबु पाण्डे, लम्जुङ

suresh-babau-pandyaम पनि नेविसंघको महाधिवेशनमा भोट हाल्न आएको हुँ । कतिबेला मतदान हुन्छ थाहा छैन । तर यति लामो समय पछि हुन लागेको महाधिवेशन निश्पक्ष हुनुपर्छ । विधिसंगत तरिकाले निर्वाचन हुनपर्छ । हामीले आफूलाई मन परेको नेतालाई भोट हाल्न पाउनु पर्छ ।

टिका लगाएर छानियो भने संगठन बन्दैन । खारिएको मान्छे विद्यार्थीको भावना बुझ्न सक्ने विद्यार्थीहरु नै नेता भएर आउनु पर्छ । उनीहरुले मात्रै विद्यार्थीको कुरा बुझन सक्छन् हजुरबाको पालाका मान्छेले संगठन र विद्यार्थीको भावना कसरी बुझन सक्छ ? महाधिवेशन कतिजना उठ्न खोजेका हुन् सबैलाई उठ्न दिनुपर्छ त्यसबाट सही मान्छे छान्न हामी तयार छौं ।

सुमन लौडारी, काठमाडौं

Suman-Laudariम पनि नेविसंघको कार्यकर्ता हुँ । भोट हाल्न तयार भएर बसेको छु । त्यसैले अब नेविसंघले हाम्रा होइन राम्रा नेता ल्याउनु पर्छ । विद्यार्थीको नेता विद्यार्थी नै हुनुपर्छ । त्यसको लागि मतदानले मात्रै सहि नेतृत्व ल्याउन सक्छ ।

अहिले जति जना चुनाव लड्न खोजिरहेका छन् ती सबैलाई लड्नै दिनुपर्छ । त्यसले उनीहरुको हैसियत पनि देखाउँछ । त्यसका साथसाथै नेविसंघको खास नेता को हो विद्यार्थीले छान्नेछन् ।

म पनि मतदाता हो म विद्यार्थीलाई नै नेविसंघको नेता बनाउन भोट हाल्न आएको हुँ । म जस्तै हरेक प्रतिनिधि अर्थात मतदाताले आफूलाई ठीक लागेको नेतालाई जिताउँछन् । नेविसंघलाई जुझारु, सशक्त र गतिशिल बनाउन सक्ने र शैक्षिक मुद्दालाई राम्रोसँग उठाउन सक्ने नेता मतदानबाटै चुनिनुपर्छ ।

वर्षा केसी, सुर्खेत

लामो समयपछि हुन लागेको महाधिवेशन भागबण्डाको आधारमा हुन हुँदैन । हामीजस्ता प्रतिनिधिले मनपरेको नेता छान्न पाउनुपर्छ, नेताहरुको टीका लगाइदिएर नेता चुन्नु हुँदैन ।

विद्यार्थीको लागि काम गर्न सक्ने, पहिलेदेखि नै सक्रिय र सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ । त्यसको लागि गुट उपगुट भन्दा पनि निश्पक्ष तरिकाले मतदानबाट मात्रै सक्षम नेतृत्व नेविसंघले पाउन सक्छ । हामी भोट हाल्न आएका हौं हाम्रो मतले विद्यार्थी नेता छान्न पाउनुपर्छ ।

सुशील भट्ट, काठमाडौं

sushil-bhattaमहाधिवेशन हुनै लाग्दा केहि विवादहरु देखिएका थिए, त्यो मिल्न लागेको सुनेका छौं । नेविसंघ विद्यार्थी राजनीतिको एउटा पुरानो संगठन हो । यसको महाधिवेशन निश्पक्ष हुनु पर्छ भन्ने हाम्रो पनि माग हो ।

कम्तिमा महाधिवेशन प्रतिनिधि बनेर देशभरिबाट आएकाहरुले आफ्नो मत त हाल्न पाउनु पर्छ नि ।

छोराले राजनीति गर्नुपर्ने बेला भैसक्यो तर कतिपय व्यक्तिहरु विद्यार्थी राजनीतिमै लोभ देखाइरहेका छन् । यसले विद्यार्थीको भावना मात्रै होइन विद्यार्थी आन्दोलनको पनि भावना बुझ्न सक्तैन । त्यसैले हामी विद्यार्थीको भावना बुझन सक्ने नेतृत्व छान्न आएका हौं, त्यसको लागि निश्पक्ष मतदान हुनु पर्छ ।

माधव गौतम, सुर्खेत

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीहरु नेविसंघको महाधिवेशनको लागि काठमाडौं आइपुगेका छन् । तर नेताको कारण हामी भृकुटीमण्डपमा अलपत्र परेका छौं । हामी नेताको कार्यकर्ता होइनौं विद्यार्थी हौं विद्यार्थीकै लागि भोट हाल्न आएका छौं ।

विद्यार्थीसँग लामो समय सम्म काठमाडौंमा बस्ने खर्च हुंदैन । हामीलाई आर्थिक समस्या परिसकेको छ । त्यसैले भागवण्डाले होइन मतदानले विद्यार्थी नेता छान्न पाउनु पर्छ ।

सबैलाई प्रतिस्पर्धा गराउनुपर्छ त्यसमा को सही छन् को गलत छन् मतदाताले छान्नेछन् । हामी विद्यार्थी हौं लामो समय सम्म काठमाडौंमा बस्न सक्तैनौं जति सक्दो छिटो भोटिङ हुनु पर्छ भन्ने हाम्रो माग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment