Comments Add Comment

धुम्रपान त्याग्नुस्, २० मिनेटमै सकारात्मक परिवर्तन थाहा पाउनुस्

Abandoning benefit of Smoking

काठमाडौं । धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ । यो जान्दा जान्दै पनि धेरै व्यक्तिहरु धुम्रपानको कुलतमा फँसेका छन् ।

स्वास्थ्यमा हानी पुर्‍याउने भएकैले चिकित्सकहरु धुम्रपान नगर्न सुझाव दिन्छन् । सञ्चारमाध्यमहरुले समेत विभिन्न विज्ञापन तथा जनचेतनामुलक कार्यक्रम मार्फत धुम्रपानले गर्न सक्ने असरबारे जानकारी दिइरहेका छन् ।

धुम्रपानले मुटु रोग, क्यान्सर लगायतका विभिन्न समस्या निम्त्याउने भएकाले स्वस्थ्य जीवन जिउनका लागि पनि धुम्रपान त्याग्नु जरुरी छ । जबसम्म हामी धुम्रपान त्याग्दैनौ, तबसम्म हामी स्वस्थ्य रहन सक्दैनौं ।

आखिर धुम्रपान त्याग्नाले हाम्रो शरीरमा के फाइदा हुन्छ ? यसले शरीरमा कस्तो सकारात्मक परिवर्तन ल्याउँछ भन्नेबारे केही बुँदागत जानकारी पेश गरेका छौ । यसले तपाईंलाई धुम्रपान त्याग्न तथा स्वस्थ्य जीवन जिउन पक्कै उत्प्रेरणा प्रदान गर्नेछ ।

सेन्टर्स फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सन् (सिडिसी)का विशेषज्ञहरुले हालैमात्र धुम्रपान त्याग गर्नासाथ शरीरमा देखिने परिवर्तन सम्बन्धी केही तथ्य सार्वजनिक गरेका छन् । सो तथ्यअनुसार मानिसले अन्तिमपटक चुरोट पिएको २० मिनेट पश्चात्तै शरीरमा सकारात्मक परिवर्तन देखा पर्न सुरु गर्छ । जुन वर्षौंसम्म रहिरहन्छ । उक्त परिवर्तन यस प्रकार छ ।

१५ देखि २० मिनेट

कतिलाई लाग्न सक्छ, धुम्रपान अथवा चुरोट पिउन छोडेको १५ देखि २० मिनेटमा शरीरमा देखिने पहिलो परिवर्तन भनेको धुम्रपान अथवा चुरोटको गन्ध नआउनु हो । जबकी चुरोट छोड्नासाथ तपाईंको मुख, हत्केला र लुगाबाट गन्ध जान अझै केही समय लाग्छ । तर, तपाईंको मुटुले भने धुम्रपान त्यागेको १५ देखि २० मिनेटमै सामान्य तरीकाले काम गर्न थाल्छ ।

त्यसैगरी, तपाईंका रक्तनली तथा नसाहरु पनि पुनर्स्थापित हुन थाल्छन् । यतिसम्म की तपाईंको रक्तसञ्चार राम्रो हुन्छ र तपाईंको हात तथा खुट्टाले समेत पहिलेभन्दा सक्रिय रुपमा काम गर्न थाल्छ ।

१२ घण्टा

चुरोट पिउन छोड्नु भएको करिब १२ घण्टा पछि तपाईंको शरीरमा अर्को सकारात्मक प्रभाव देखिन थाल्छ । यति बेलासम्म तपाईंको शरीरले समेत चुरोट त्यागेको महसुस गर्न थाल्छ । अब तपाईंको शरीरमा कार्वन मोनोअक्साइडको मात्रा घट्दै जान्छ र अक्सिजनको मात्रा बढ्दै जान्छ । यसले तपाईंको रगतमा भएका तत्वहरुलाई सामान्य अवस्थामा फर्काउँछ ।

दुई हप्तादेखि तीन महिना

चुरोट पिउन छोडेको दुई हप्ताभित्रै शरीरमा तेस्रो सकारात्मक प्रभाव देखा पर्छ । तपाईंको फोक्सोले राम्ररी काम गर्न थाल्छ । तपाईंले सजिलोसित सास फेर्न सक्नुहुन्छ । शरीरमा रक्त सञ्चार झनै राम्रोसित हुन थाल्छ । हृदयघातको जोखिम कम हुन्छ । फोक्सोले राम्ररी काम गर्न थालेको अब तपाईं आफैंले महसुस गर्न सक्नुहुनेछ । साथै तपाईंको शरीरले सुर्ती माग्नै छोड्छ ।

एकदेखि नौ महिना

यतिबेलासम्म तपाईंले लिएको निर्णय सही थियो कि थिएन भन्ने कुरा तपाईं आफैंले महसुस गर्न सक्नु हुनेछ । स्वास प्रस्वास दिनप्रतिदिन राम्रो हुँदै जान्छ । तत्काल निको नभए पनि तपाईंको खोकी तथा स्वाँ-स्वाँ आउने समस्या कम हुन थाल्छ । किनकी धुम्रपानका कारण फोक्सोमा जमेका हानीकारक पदार्थ सफा गर्न फोक्सोलाई पनि केही समय अवश्य नै लाग्छ । अझ अब त तपाईं केही समयसम्म नरोकिकन वा आराम नगरीकनै दौडिन सक्नु हुनेछ ।

एक वर्ष

चुरोट पिउन छोडेको करिब एक वर्षमा तपाईंको शरीरमा सुर्तीको आवश्यकता कम भइसक्छ । छालामा अक्सिजन प्रवाह हुनाले तपाईको छालाको रंगमा समेत परिवर्तन आउँछ । तपाईंको छाला स्वस्थ्य एवं लचिलो हुन्छ । अरु मानिसले समेत तपाईंमा आएको परिवर्तनलाई महसुस गर्न सक्छन् । त्यस्तै, रक्तसञ्चारका कमीले हुने हृदयघातमा समेत ५० प्रतिशतले कमी आउँछ ।

पाँच वर्ष

चुरोट अथवा धुम्रपान त्यागेको करिब पाँच वर्षमा तपाईंको रक्तसञ्चार अन्य मानिसको सरह नै सामान्य हुन्छ । हृदयघातको जोखिम पनि सामान्य मानिस सरह नै हुन्छ । नसा तथा पाचन प्रक्रियालेसमेत पहिलेभन्दा धेरै गुणा राम्ररी काम गर्न थाल्छ ।

दश वर्ष

धुम्रपान छोडेको दश वर्षमा त तपाईंको फोक्सो ध्रुम्रपान नगर्ने व्यक्तिहरुकै जस्तो स्वस्थ हुन्छ । तपाईं आफैंलाई पनि धुम्रपान गर्ने व्यक्तिको बीचमा बस्न मन लाग्दैन । फोक्सोले पनि धुम्रपान गर्दा र नगर्दाको भिन्नता महसुस गर्न थाल्छ । त्यस्तै, फोक्सोमा क्यान्सर हुने सम्भावनामा ५० प्रतिशतले कमी आउँछ । अझ भनौं, चुरोट पिउने व्यक्तिको तुलनामा नपिउनेको फोक्सोकोे क्यान्सर हुने सम्भावना दुई गुणाले कम हुन्छ ।

त्यस्तै, इन्ट्राओरल क्यान्सर, घाँटीको क्यान्सर, अन्न नलीको क्यान्सर, पित्त थैली, मिर्गौला तथा पेन्क्रियाज क्यान्सरको जोखिम पनि कम हँुदै जान्छ ।

पन्ध्र वर्ष

१५ वर्षसम्म पनि धुम्रपान अथवा चुरोटलाई हातसम्म नलगाउनु भनेको आफैमा ठूलो कुरा हो । यो अवस्थासम्म आइपुग्न त्यसै गार्‍हो हुन्छ । यदी तपाईंले धुम्रपान त्यागि नै सक्नु भएको हो भने तपाईंलाई धुम्रपानका कारण लाग्न सक्ने रोगको जोखिम पनि धुम्रपान गर्ने व्यक्तिको तुलनामा ज्यादै कम रहन्छ । हृदयघातको सम्भावना पनि न्युन रहन्छ ।

त्यस्तै, स्क्यािमिक नामक हृदयको समस्या, कोरोनरी क्यान्सर लगायत मुटुको समस्या तथा क्यान्सरको जोखिम धुम्रपान नगर्ने व्यक्तिलाई जति नै हुने गर्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment