Comments Add Comment

प्रचण्डज्यू ! पाँच लाख चाहियो, अब म घर बनाउँछु !

bahun

२ भदौ, काठमाडौं । ‘शासक जाति’ को उपमा पाइरहेका ‘पहाडे बाहुन’हरु अचेल गाउँका कुना-कन्दरामा के-कस्तो दैनिकी गुजारिरहेका होलान् ? या उनीहरु शहर/विदेशतिर लागिसके ?

दोलखाको जुगुबाट काठमाडौं आएर पशुपतिको चौबाटोमा बसेका पुरोहित लक्ष्मीप्रसाद घिमिरेको अनुहारमा हामीले ‘पहाडे बाहुन’ समुदायको समग्र विम्व खोज्ने प्रयास गर्‍यौं ।

नेपाली समाजमा आएको परिवर्तन, पहिचानको आन्दोलनले ल्याएको बहस, जनजाति-दलितको हकाधिकार, मधेसको बुझाइ अनि राजनीतिक दलहरुको भवितव्यका बारेमा अन्य समुदायका मानिसले जस्तै पहाडे बाहुनले पनि अतिशय चासो देखाइरहेका छन् ।

प्रतिशतका हिसाबले आगामी चुनावमा यो समुदायको मतप्रतिशतको ठूलो महत्व रहनेछ, दलहरुका लागि । ‘पहाडे बाहुन’ भनिए पनि यो समुदायको बाक्लो बसोबास तराई-मधेसमा समेत छ । तराईका झापा लगायतका जिल्लामा ‘पहाडे बाहुन’ को बाहुल्य छ । कुन दललाई पहिलो बनाउने वा तेस्रोमा झारिदिने भन्ने निणर्ायक भूमिकामा यिनै पहाडे बाहुनहरु छन् ।

जनैपूर्णेको पूर्वसन्ध्यामा पशुपति अगाडि बाटैमा बसेर घिमिरेसँग हामीले केही जिज्ञासा राख्यौं । भूकम्पपछिको गाउँको अवस्था, विगतको सशस्त्र द्वन्द्वकालको परिस्थिति अनि सिंहदरबारको राजनीतिका बारेमा हामीले लक्ष्मीप्रसादको विचार बुझ्न खोज्यौं । यस अर्थमा कि उनको अभिव्यक्तिसँग ‘पहाडे बाहुन’ समुदायको अभिमतलाई सामान्यीकरण गर्न सकियोस् ।

घिमिरेले पहिले माओवादीलाई र त्यसपछि एमालेलाई भोट हालेका रहेछन् । उनले प्रचण्डलाई केपी ओलीकै हविगतमा नपुग्न र बोलेको कुरा पूरा गर्न सुझाव दिएका छन् । भूकम्प पीडितलाई एकमुष्ट ५ लाख रुपैयाँ उपलब्ध गराउन घिमिरेले प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।

बाजे, तपाईको छोटो परिचय पाम न…

मेरो नाम लक्ष्मीप्रसाद घिमिरे हो । म दोलखा जुगु गाविस वडा नम्बर ५ मा वि.सं २००८ सालमा जन्मेको हुँ । अहिले ६५ वर्षको भएँ ।

पहिले गाडी थिएन । गाउँबाट बाह्रबिसेसम्म हिँडेर आउँदा एक दिन लाग्थ्यो । हामी नुन लिन बाह्रबिसे आउँथ्यौं । ढाकर बोकेको हो मैले त्यसबेला । अब त १५ मीनेट नजिकसम्म गाडी जान्छ, उखुबारीसम्म । अहिले वषर्ायाममा गाडी जाँदैन ।

म गाउँबाट उहिले सर्वोच्च अदालतसम्म मुद्दा लड्न आएँ । क्षेत्रीय अदालत रानीपोखरीको किनारमा थियो । त्यहाँ पनि धाएँ । अहिलेसम्म लफडा त्यसै छ भने पनि हुन्छ, ३५ सालतिरदेखि । मुद्दा अहिले छैन, तर लफडा छ ।

०००

दुःखी मान्छे हुँ म । १० वर्षको हुँदा बुबा बद्रीनाथ जानुभएको थियो, उहाँ फर्केर आउनुभएन ।

हामीले ३२ वर्षपछि बुबाको किरिया गर्‍यौं । उहाँ ०१९ सालमा तीर्थ जानुभएको थियो । म कान्छो छोरो १५ वर्षको थिएँ । दाइ पनि हुनुहुन्छ । अहिले गाउँमै हुनुहुन्छ । तीर्थ जाने भनेर जजमानसँग हिँड्नुभएको, जजमान फर्केर आउनुभयो, बुबाचाँहि फर्किनुभएन । जजमानले हामीलाई यस्तो भयो भन्न पनि सक्नुभएन, त्यस्तै भयो ।

मैले स्कुल जम्मा तीन दिन पढेको हुँ ०२२ सालमा । गाउँमा स्कुल तयार भएको थियो । स्कुलमा पदमबहादुर हाम्रो जजमान हुनुहुन्थ्यो । म पढ्न गएको, पार्टीमा लेखेर सोध्नुभयो । मैले क ख, नाम आदि बाह्रखरी घरमै चिनिसकेको थिएँ । उहाँले पार्टीमा लेखेर दिनु भो, मैले आउँछ भनें ।

त्यसपछि उहाँले के पढ्न आएको त बाजे भनेर सोध्नुभयो । मैले श्राद्ध पढ्न आएको भनें । श्राद्ध त दाजुहरुसँग पढ भने । अनि आफैं दाजुहरुसँग सिकें । यहाँ गुररुहरुसँग पनि चोर्छु, माग्छु ।

यस्तै गरेर नै कर्मकाण्ड गर्दै यहाँसम्म आइयो । कर्मकाण्ड गर्छु, गरुड पुराणसम्म भन्छु । व्यासासनमा बस्न सक्दिँन । संस्कृतबाट नेपालीमा उल्था भएका किताब पढ्छु ।

गाउँमा खेती छ । धान पनि हुन्छ, बारी पनि छ । तर, अब बाँझो बस्न लाग्यो । मकै, धानको मिसमासे भात खाने अवस्थाको परिवार हो हाम्रो ।

Bahun-(2)

गाउँघर छाडेर काठमाडौं पस्नुको कारणचाहीँ के हो ?

छोराछोरी गाउँमा काम गर्न सकिँदैन भन्छन् । चार छोरी र दुई छोरा छन् । ठूलो छोराको मात्रै बिहे भएको छ । गाडी चलाउँछ । कर्मकाण्ड गर्नुहुँदैन भन्छ । पशुपतिमा नबस्नुचाँहि भन्न सकेको छैन । तर, अब हामीचाँहि यस्तो कर्मकाण्ड गर्दैनौं भन्छ ।

कान्छाले बीए सक्यो । कर्मकाण्ड पनि जानेको छ त्यसले । तर, कोरियन भाषा पढेर मैले कोरियनमा नाम निकालिसकें, यहाँ सराद्धे पढ्छु ? भन्छ । अब के भन्नु ?

युगअनुसारको गर्न थाले । छोरीहरु पनि यहीँ (काठमाडौंमै) छन् । आमा वहाँ एक्लै छे, म भोलि जान्छु ।
म यहाँ (पशुपतिमा) धेरै बस्दिँन । केटाकेटी मैतीदेवीमा बस्छन् । उनीहरुलाई भेट्न आएका बेला । यसो चाडबाडमा पशुपतिमा आएर यसरी बस्छु । म धेरैजसो गाउँमै बस्छु ।

गाउँमा घर त भूकम्पले लडायो होला हैन ? सरकारले राहत दियो कि दिएको छैन ?

लडेर झ्याराम्मै त भएन, तर नयाँ घर बनाएको वर्ष दिनमात्रै भएको थियो, माछाको काँडाजस्तै बनाइदियो ।

सरकारबाट पाउने राहत त पाइयो नै । घर बनाउने ५० हजार रुपैयाँ अझै पाएको छैन, भर्खर सम्झौतामात्रै भएको छ ।

हामीलाई एकपटक १५ हजार दिएको थियो । एकपटक १० हजार र एकपटक दुईहजार दियो । त्यो पायौं । संघसंस्थाले दिने जिन्सी चिज चाँहि के भइदियो भने उहाँहरुको पनि आँखा छैनन् क्या ! त्यो संयोजक भन्ने डाँकै हो । उसका जिम्मामा छोडियो । उसले आफ्ना मान्छेलाई, नजिकका मान्छेलाई धेरै पार्‍यो । बाख्रापालनको पैसा ६० वर्ष कटेको भनेर मलाई दिएन । त्यो पनि संयोजकद्वारा लेखाएर आ-आफ्ना भाइभतिजालाई, भाञ्जालाई दियो । सबैलाई दिएन । थोरै दिन्छ । माथिबाट पनि उसैलाई जिम्मा लाउँछ ।

तपाईको विचारमा बाहुन कस्तोखालको जात हो ?

बाहुनहरुमा पनि मर्यादा छैन अचेल । सबैभन्दा पहिले त ब्राहमणहरुको आत्मा पनि सुध्रिनुपर्छ । शुद्ध भएरमात्रै ब्राह्मण भइन्छ । म ब्राह्मण हैन, बाहुनमात्रै हुँ । किनभने मसँग त्यो आचरण छैन ।

पहेंलो लुगा लगाउँदैमा जोगी हुँदैन । खरानी घस्दैमा साधु हुँदैन । लट्टा त भालुले पनि पालेको हुन्छ, के त्यो जोगी हो त ? त्यो गधा खरानी देख्नेवित्तिकै ब्लाङ्गै पछारिइहाल्छ, त्यो साधु हुन्छ ? चन्दन लाउँदैमा ब्राह्मण हुँदैन । मेरोचाँहि भनाइ यही हो ।

गर्न त मैले पनि कर्मकाण्ड गरिराखेको छु । मलाई यसैले पाल्यो । छोराछोरी पढाइयो । तर, भित्रैबाट म आफैं सन्तुष्ट छैन । बाहुनले गर्नुपर्ने कर्म खोई त ? दान लिनु, दान दिनु, वेद पढ्नु, खाने चिजहरुमात्रै खानु । आत्म सुद्ध बनाउनु । लोभ नगर्नु ।

तर, लोभ नगरेर हुन्छ ? कसैले दुई पैसा दिन्छ कि भनेर यहाँ लोभले बसेको त हो नि म । खान खाँचो पनि छैन, तैपनि हेर्नु न, यहाँ यसरी बसिराखेको छु । यहाँबाट दुईचार बोरा चामल आए छोराछोरीले खान्थे भनेर बसिराखेको छु ।

अस्ति सोमबारका दिन ६८३२ रुपैयाँ भएछ एकै दिनमा ! हिजो एक हजार रुपैयाँ भयो । दिनको हजार हुन्छ, कुनै दिन रित्तै जानुपर्छ । रित्तै गइयो भनेर दिक्क मान्नु पनि हुँदैन ।

परिस्थितिले गर्दा वा युगले गर्दा हामीसँग आचरण नै छैन । कर्मकाण्ड हामी गर्छौं गर्न त । तर, कसरी गर्छौं ? देखाउनेमात्रै हो । अब माथिका आचार्य पास गर्नेहरुले पनि सोचे हुन्छ । कस्ता गाईको गहुँत ? कस्ता गाईको दूध ? कस्ता गाईको घिउ ? त्यसबाट मात्रै पञ्चगव्य बन्नुपर्ने हो । तर, खोई ?

बाहुन दुःख पनि सहने, सुख पनि सहने जात हो । बाँच्नु कति छ, फ्याटै मरिन्छ भनेर जाने त छाड्दिँदो हुँ । कतिबेला मरिन्छ, बाहुनले पनि जान्दैन, डाक्टरले पनि जान्दैन । अरुलाई बचाउने डाक्टर किन मर्छन् ?

म दोलखामै जन्मेको बाहुन हुँ । कति पुस्ता भयो त मलाई थाहा भएन, तर हाम्रा पूर्खाहरु दोलखाकै काभ्रेबाट छुटिएर जुगु गएका रहेछौं । (काभ्रे जिल्ला हैन, दोलखाको काभ्रे गाविस) काभ्रेबाट हाम्रो अहिलेको गाउँमा गएको ११ पुस्ता भएछ । त्यहाँ घिमिरे धेरै छैनौं । हामी बसेको ठाउँ गाउँको पुछारमा पर्छ । त्यहाँ बढी क्षेत्रीहरु छन् । अलि माथि तामाङहरु छन् । अलि पर दमाईहरु, कामीहरु छन् । अलि टाढा सार्कीहरु पनि छन् ।

तर, अब हामीले यसोभन्दा अलिकति अप्ठ्यारो पर्ला । कामी, दमाई सार्कीहरु भन्दा ।

दलितहरु भन्नुपर्‍यो अब…..

दलित भन्ने त मलाई अलि मनपर्दो काम भएन । किनभने दलित त जुगौं जुगका लागि भयो अब । दलितमा लगेर राखिदियो । कुन संस्थाले हो वा सरकारले भन्यो, त्यो दलित भन्नुहुँदैन । दलित भन्नुहुँदैनथ्यो मेरोचाँहि विचारमा ।

किन ?

दलित भनेपछि त अब बीसौं युग बिते पनि दलितको दलितै रहन्छ, चाहे धनी होस् चाहे गरिब । अब त्यसको जातै दलित भइगयो नि । कामी दमाईचाँहि भन्न नपाउने रे, अब दलितचाँहि मजाले छाती ठोकेर भन्न पाइएन ? दलित भन्न पाइयो कि पाइएन ? संविधानमै दलित भनेर लेखिदियो । यसलाई त जातै बनाइदिइगयो नि । हटायो भनेको मजाले थुप्राइदियो दलितमा लगेर । कामी, दमाई, सार्की पोडे इत्यादि थिए, अब दलित भन्दियो र एउटा जात बनाइदियो ।

तपाई पुरोहित काम गर्ने मान्छे, बाहुनका पूर्खाले यो छुवाछुत र जातपातको विभेद गराए । यसबारे तपाई के भन्नुहुन्छ ?

छुवाछुत…. सबै एकै हुनुपर्छ भन्छन् । अब म यहाँ बसिराखेको छु, कोही गोदान गर्छु भनेर आयो भने कामी आए पनि गर्दिन्छु, दमाई आए पनि गर्दिन्छु । सार्की आए पनि गरिरखेको छु । यहाँ जात कसले सोध्छ ? जात सोधिराखिँदैन ।

तर, हामीले कार्जे गर्दिँदैमा, गोदान गरिदिँदैमा ऊ ठूलो मान्छे भैगो त अब ? उ त अब दलितको दलित नै हुने भो !

तपाई तामाङ गाउँमा जन्मे हुर्केको बाहुन हो । दोलखा जिल्लालाई ताम्सालिङ बनाउने चर्चा पनि चलेको हो, जनजातिको अधिकार पहिचानका बारेमा तपाई के भन्नुहुन्छ ?

तामाङ, गुरुङ, मगर यिनीहरुलाई जनजाति भन्छ । आदिवासी पनि भन्छ क्यार ! तिनीहरु आदिवासी भए, क्षेत्रीबाहुनचाँहि कहाँबाट आयो त ? हाम्रो पूर्खाचाँहि कहाँबाट आयो ? हामीचाँहि के हो त ?

अर्को कुरो, दलित-जनजाति भनेर नेताहरु भुक्नुहुन्छ । कराइराख्नुभएको छ नि, कुनचाँहि दलितलाई ल्याएर प्रधानमन्त्री बनाउनुभो ? आफैं कुद्नुभएको छ त कुर्सीतिर । उहाँहरुको पार्टीमा पनि छन् त दलितहरु । त्यो पार्टीको सेवा दलितले पनि गरो । जनजातिले पनि गरो । खै दलित र जनजातिलाई प्रधानमन्त्री बनाए ?

गोल्चे सार्की माननीय भए रे भन्ने सुन्याथें । उहाँको उछृंखलता, उहाँले व्यहोरा देखाइदिनुभो । रामचन्द्र पौडेललाई झापडै हान्दिनुभो । तर, अहिले उहाँको नामै आउन छाड्यो ।

उहाँको त मृत्यु भएको धेरै वर्ष भइसक्यो नि तपाईलाई थाहा छ ?

हो र ? त्योचाँहि थाहा भएन । नामै आउन छाडेको थियो !

०००

तामाङले बेसी सडाएर खान्छ । एक महिनालाई खाने उसले सातै दिनमा खाइसक्छ । त्यहाँबाट रस झिक्छ र पिउँछ, छोक्राजति फालिदिन्छ । त्यो अन्न बचाएर राख्नुपर्छ भन्ने उसलाई ज्ञान छैन ।

मेरो भनाइमा त दलित, जनजाति अथवा कुनैले पनि अनावश्यक खाने चिज होइन त्यो । फारुतिनो गरेर चलाउने उसले बाहुनबाट सिक्नुपर्ने हो । तर, उसको सिक्ने मनै छैन । अब हाम्रो खाने जात हो भन्दिन्छ ।

एकछिन माओवादीको ‘खेला’ कै कुरो गरम् ।

हाम्रो भन्दा माथिको दलितगाउँमा रक्सीका घ्याम्पा फोर्ने भनेर अभियान चलाए । तर, हाम्रो खाने जात हो भन्दै पट्टा खेले दमाईहरुले । बालखदेखि खाई आएको चिज, पूर्खादेखि खाइआएको चिज भने । अनि तिनेरलाई बाहुनसरह कसरी भन्ने ? बाहुन भन्न मिल्छ ? बाहुनसँग सराबरी भन्न मिल्छ ? त्यसले उहिलेदेखि नै खराब चिज खाँदोरहेछ नि त । खानुहुँदैन है भन्दा त जातले पाएको भन्दै निहुँ खोज्छ । ‘खाने जात’ न रहेछ । हैन त ? त्यहाँ माओवादीलेे जाँडरक्सी बन्द गर्न सकेनन् । उनीहरुले हार खाए । तामाङ गाउँमा पनि त्यस्तै भो ।

अलिक माथि एकजना क्षेत्रीले रक्सीका धेरै पोकाहरु बेच्न राख्नुभएको रहेछ । त्यहीँ दोलखा जिल्लामा बनेको रक्सी अरे । माओवादीहरुले उहाँलाई चाँहि सक्नुभो क्या !

माओवादीहरुले चौरमा रक्सीका पोकाहरु निकाल्नु भो र पसले क्षेत्रीलाई छुरी दिनुभो । प्रत्येक पोकामा रोप्नोस् भन्नुभो । त्यहाँ रक्सीको खोलै बग्यो । पाँच दिनसम्म रक्सी गन्हाएर त्यो बाटो हिँडिनसक्नु भयो । भनेपछि उहाँलाई चाँहि माओवादीहरुले सक्नुभो । त्यसपछि उहाँले रक्सी बेच्ने पेसा नै छाडिदिनुभो । क्षेत्री गरेको पेसा थियो, आफ्नो जातको थिएन । उहाँ अहिले क्रिश्चियन धर्ममा जानुभएको छ ।

Bahun-(1)

ताम्सालिङभित्र बसोबास गर्ने बाहुनको अवस्था अहिले कस्तो छ ? अरु जातजातिले हेप्छन् कि राम्रो व्यवहार गर्छन् ?

बाहुनलाई पहिले-पहिले मनितो गर्थे । अहिले पनि केहीमा छ । तर, अहिले हाम्रो बाहुनमा विकृति पसेको छ । कोही कमाउनको धन्दामा लागे, कोही क्रिश्चियन भए । तिनीहरुले हामीलाई अलिकति नराम्रो दृष्टिकोणले हेर्ने गरेका छन् । गाउँमा एक/दुईजना त्यस्ता छन् ।

मेरै गाउँमा मैले उसका बाऊको किरिया गराएँ, श्राद्ध गराएँ, सप्पै गराएँ, तर छोरो अहिले आएर क्रिश्चियन भएको छ । हामीलाई अलि योचाँहि होइन भन्छ । कसैले चाँहि कोहीको पुरेत तपाई, कोहीको पुरेत हामी भन्छन्, त्यस्तै छ गाउँमा ।

०००

माओवादी युद्धका बेलामा चाँहि पुरेत, जजमानमा मलाई पेलेकै हुन् । जजमान गर्न पाइँदैन भनेको हो माओवादीहरुले ।

पाइँदैन भनेपछि मैले सिधै भनें, तपाईहरुलाई मेरो घरमा भान्सा कसरी पाक्छ ? मेरो स्थिति यही हो, । मेरो पेसा नै यही हो । मसँग जातित्व छ, पेसा छ । यसोभन्दा एकजना मूर्खले त्यतिखेर मलाई गालामा एक चड्कन पनि हान्यो । त्यतिबेला मैले के सोचें भने कोही त मरिराखेका छन्, एक चड्कन त हिर्कायो, युद्धको बेला हो ।

त्यो ‘मूर्ख’ चिनेकै मान्छे हो । उसको परिवार कस्तो भने एकजना माओवादीतिर जाने, एकजना कांग्रेसतिर जाने, एकजना एमालेतिर । जहाँबाट भए पनि कहाँ पोखियो घिउ आफ्नै भागमा भनेजस्तो ।

कांग्रेसका तारा कोइरालाको भतिजो हो, उसले निहुँ खोजेर आएर मलाई गालामा एक चड्कन झापड लायो । ठीकै छ । ऊ पनि बाहुनै हो ।

अब गाउँघरको राजनीतिको कुरो गरौं….

हाम्रो गाउँमा एमालेको बाहुल्यता छ । त्यसकारण सुरुमा एमाले भइयो । केही गर्छ कि भनेर पहिलो संविधानसभामा माओवादीलाई भोट दिएको थिएँ । मेरो घरकै छेउमा मेरो जजमानकै छोरी देवी खड्कालाई मैले पहिलो भोट दिएँ । तर, यस्तै भो, दोस्रो चोटिदेखि चाँहि एमालेलाई नै ।

उहाँ (देवी) ले पनि विचार गर्नुभएन । उहाँको पनि परिवारै हाबी भयो क्या ! सबै हाम्रो, मेरो, अरु कसले बोल्न हुन्छ यहाँ ? भनेजस्तो भो । सन्तानै, परिवारै नयाँ राजाजस्ता भए क्या ! हामी नै सर्वेसर्वा भनेजस्तो भो । उहाँको चाहिँ परिवारै त्यस्तो भो । यो अन्तरवार्ता उहाँले पनि हेर्नुहुन्छ होला नि ?

उहाँमात्रै होइन, त्यो टोलै, त्यो माओवादी पार्टी नै सबै त्यस्तै भो क्या ! पार्टीमा लागेका मान्छे नै जम्मै हामी मात्रै हौं, अरु मान्छे नै हैनन् भन्ने भो क्या !

केपी ओली प्रधानमन्त्री भएपछि गाउँमा एमालेप्रति आकर्षण बढेको छ ?

हैन, ओलीले पनि गल्ती गर्नुभएको छ । सबैलाई समेट्नुपर्छ क्या ! आफैंमात्रै सबै जान्ने ? टुक्कामात्रै जोडेर हुन्छ ? उहाँ हाम्रो पार्टीको नेता हो, तर उहाँले अलि बढ्ता टुक्का जोड्न लाग्नु भो नि । त्यो टुक्काले हुँदैन नि त । राजनेता भएपछि त सबैलाई समेट्न बल गर्नुपर्‍यो नि ।

संघीयतासहितको संविधान बनेको छ, तपाई कुन प्रदेशमा पर्नुहुन्छ, थाहा छ ?

हाम्रो दोलखालाई खै कुन प्रदेशमा पो मिसायो ? जनकपुर…… ए त्यो दुई नम्बर हो ? उसोभए हामीलाई काठमाडौंमै पार्‍यो । उता बाटो खोलेपछि हामीलाई जनकपुर जान पनि सजिलै छ ।

मुख्यमन्त्री बनाउनका लागि यिनीहरुले बिगारे । पाँच विकास क्षेत्र छँदै थियो, हामीलाई अर्थोक आवश्यक थिएन । यो के पो भन्छ, या…. प्रदेशको के आवश्यक ? यसलाई पाँचवटा प्रदेश बनाइदिएको भए कसैले विरोध गर्दैनथ्यो । पहाड-मधेस मिसिएको पनि थियो, मधेसीले पनि बोल्दैनथ्यो । अघि बोल्दैनथ्यो । अहिले उल्लाई प्रदेश किन चाहिएको छ ? के खोजेको छ उसले ?

पहाडबाट मधेसतिर बसाइँ जाने त हाम्रोमा माओवादीका पालादेखि नै कम भएको छ । तैपनि अहिले गाउँ उजाड छ । बूढापाका, आइमाई केटाकेटीमात्रै छन् । कोही मर्‍यो वा विरामी भयो भने बोक्ने मान्छे पाइँदैन । पहाडमा गाडी जाँदैन । बाटोको हालत त्यही हो ।

अन्त्यमा, नयाँ प्रधानमन्त्री प्रचण्डलाई केही सुझाव छ कि ?

प्रचण्डलाई मैले केही भनिराख्नुपर्दैन, उहाँले आफू सुध्रिनुपर्ने हुन्छ । उहाँले पनि आफ्नै मात्रै गर्न लाग्नुभयो भने उहाँको पनि हविगत त उही ओलीकै जस्तो हुन्छ । कांग्रेसको पनि त्यही हविगत हुन्छ ।

यिनीहरुले अहिले बाँडेर खान लागेका छन् । ओलीले ९ महिना खाए । प्रचण्डले ९ महिना खान्छन् । भोलि कांग्रेसले ९ महिना खाला । फेरि ओलीको पालो आउला ।

राजै फर्किए पनि हामीलाई त केही छैन । दुःखै गर्नु त हो नि । अहिले त ६०१ जना छन् राजाहरु । म त प्रचण्ड आए पनि त्यही भन्ने हो । हाम्रो दुःख छ । हामीले दुःख गरेर, परिश्रम गरेर खाने हो । उनीहरु राजकुर्सीको मोजमस्ती खाने हुन् बाँडेर ।

वहाँहरुले बाँडेर खाए पनि प्रचण्डले गरिबतिर यसो दृष्टि दिनुभो भने धन्य भन्नुपर्छ । तेस्रो पार्टी भन्दैमा उहाँलाई पनि अपशब्द भन्ने कुरो होइन ।

भूकम्प गइराखेको छ । हामीले दुःख पाइराखेका छौं । पहिले घर नबना, हामी राहत दिन्छौं भनेर रोक्यो । त्यो राहत पर्खिँदा पर्खिँदै चिसो भुइँको बास भएको दुई वर्ष भयो । हामी जसरी पनि बनाउँथ्यौं नि घर । उहाँहरुले नबना भनेर विज्ञापन गर्नुभयो । तर, राहत आउँछ भन्दाभन्दै भन्दाभन्दै भन्दाभन्दै अहिलेसम्म आएको छैन ।

कता जिल्लातिर गएर भाषण गर्दैहुनुहुन्थ्यो प्रचण्डले । पाँच लाख एकैचोटि दिने भन्नुहुन्थ्यो । लौ चाहियो त अब ! उहाँ प्रधानमन्त्री हुनुभो त ! ल यही पत्रकारमार्फत माग गरें, चाहियो अब ! उहाँले बोल्या हो नि । बढ्ता बोल्ने ? पाँच लाख एकैचोटि दिए घर बन्छ हाम्रो पहाडमा । एक वर्ष अघि ८ लाख लगाएर बनाइरथें, ५ लाख पाएँ भने सानो बनाउँछु । एकैचोटि बन्छ ।
हामीलाई चाहियो अब ! बोलेको कुरा पूरा गर्नु परो नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment