Comments Add Comment

७८ लाख घुस काण्डपछि राजनारायणका भाइलाई राजीनामाको दबाव

२० फागुन, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयूक्त राजनारायण पाठकले घुस लिएको भिडियो प्रमाण सार्बजनिक भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिए ।

पाठकलाई अख्तियारले टोली बनाएर छानविन गरिरहेको छ । तर राजनारायणलाई ७८ लाख घुस पुर्‍याउन भूमिका खेलेका उनका भाइ शुभनारायण भने अझै पदमा आसिन छन् ।

शुभनारायण पूर्वाञ्चल विश्वविद्यालयका डिन हुन् । पाठकले बिज्ञान तथा प्रविधि तर्फमा दोस्रो कार्यकालका लागि डिनमा नियुक्ति पाएका हुन् ।

घुस प्रकरणमा मुछिएपछि शुभनारायण पाठकलाई बर्खास्त गर्न प्राध्यापकहरुले माग गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयमा आवद्ध प्राध्यापकहरुले राजनारायणले लिएको ७८ लाख घुस प्रकरणमा जोडिएका शुभनारायणलाई तत्काल बर्खास्त गरी कारवाही गर्न माग गरेका हुन् ।

‘विश्वविद्यालय प्राज्ञिक थलो हो, प्राज्ञिक थलोमा विवादित व्यक्ति रहनुहुँदैन’ पूर्वाञ्चल विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष यज्ञराज कट्टेलले भने । संघले पाठकलाई निलम्बनको माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई ज्ञापनपत्र बुझाएको छ ।

घुस प्रकरणमा जोडिएको प्रस्ट आधार हुँदा पनि कारवाही नगरेपछि निलम्बन गर्न माग गरेको कट्टेलले बताए ।

अख्तियारका आयुक्त राजनारायण पाठकले इन्जिनियरिङ कलेज विवादको मुद्दा तामेलीमा राखिदिने भन्न्दै भाइ शुभनारायण पाठकको माध्ययमबाट पटक—पटक गरी ७८ लाख रुपैयाँ घुस लिएको भिडियो प्रमाण नै सार्वजनिक भएको थियो ।

केही दिन अघि प्राजातन्त्रवादी प्राध्यापक संघले विज्ञप्ती जारी गरी घुस प्रकरणमा मुछिएका शुभनारायण पाठकलाई तत्काल बर्खास्त गर्न माग गरेको थियो ।

विश्वविद्यालय कानूनी परामर्शमा

डिन नै घुसकाण्डमा मुछिएपछि पूर्वाञ्चल विश्वविद्यालयले कारवाहीका लागि कानुनी परामर्श सुरु गरेको छ । प्राध्यापकहरुले विरोध गरेपछि विश्वविद्यालयले कानुनी सल्लाहकार दिलबहादुर घिमिरेललाई परामर्शका लागि लिखित रुपमा नै आग्रह गरेको विश्वविद्यालयका पूर्वप्रवक्ता राजेश झाले जानकारी दिए ।

राजीनामा दिन सुझाव

शुभनारायणलाई राजीनामा विश्वविद्यालयका पदाधिकारीले सुझाव दिएका छन् । तर उनले अटेर गरेका छन् । उनी नियमित काममा नआए पनि हाजिर गरिरहेका छन् । ‘भिडियो सार्वजनिक भएपछि उहाँ इनएक्टिभ हुनुहुन्छ’ विश्वविद्यालयका एक पदाधिकारीले भने, ‘हाजिर गर्नुहुन्छ, पहिले जस्तो काम गर्नुहुन्न ।’

पदाधिकारीहरुले पाठकलाई राजीनामा नभए लामो विदा लिन आग्रह गरेका थिए । ‘लामो विदा पनि राजीनामासरह हो’ ती पदाधिकारीले भने ‘राजीनामा नदिने भए विदा लिनुहोस भनेका छौ ।’ तर पाठकले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी प्राय काठमाडौंमा नै बस्ने र विराटनगर कम आउने निकटस्थहरु बताउँछन् ।

यसअघि यस समाचारमा प्रयोग भएको तस्वीर अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं । सं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment