Comments Add Comment

चार वटा सिग्नेचर पुलको डिजाइन यसै वर्षबाट

२० फागुन, काठमाडौं । सरकारले राजमार्ग र राजमार्ग आसपासका शहरी क्षेत्र नजिकका नदीमा बन्ने ४ वटा सिग्नेचर पुलहरुको डिजनाइन यसै आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । सडक विभाग अन्तरगत बन्न लागेको डिजाइन संयन्त्रमा विदेशी विज्ञ ल्याएर डिजाइन सुरु गर्ने योजना गरिएको हो ।

विभागका पुल महाशाखा प्रमुख दीपककुमार भट्टराईका अनुसार ४ मध्ये एउटा पुल चितवनको भरतपुर र नवलपरासीको गैँडाकोट जोड्ने हुनेछ । कुल १० वटा यस्ता सिग्नेचर पुल निर्माण गर्ने योजना भएपनि हालसम्म अन्यको भने छनोट हुन सकेको छैन ।

‘नारायणगढ-बुटवल सडक खण्ड पनि विस्तार हुँदैछ, त्यसैले यो पुललाई चार लेनमा बनाउने छौं,’ भट्टराईले भने,’अरु कुन-कुन पुलको डिजाइन थाल्ने भन्ने टुंगो लाग्न केही समय लाग्नेछ ।’

सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने गरी पुल बनाउन गृहकार्य गरिरहेको छ । नेपालमा बनेका केही नयाँ किसिमका पुलहरुको लोकप्रियता र चर्चालाई ध्यानमा राखेर सरकारले यस्तो योजना थालेको हो ।

अहिले पश्चिम नेपालको भ्रमणमा निस्किने अधिकांश पर्यटकहरु केही समय निकालेर भएपनि कर्णाली र महाकालीमा नौलो प्रविधिमा बनाइएको पुल हेर्न पुग्छन् । अब त्यो भन्दा पनि आकर्षक तरिकाले पुलहरु बन्ने भएका छन्, जसलाई सडक विभागले ‘सिग्नेचर पुल’ भनेको छ ।

कस्ता बन्छन् ?

यसरी बन्ने पुलहरु मोटरेबल नै हुनेछन् । यस्ता पुलहरुलाई सुन्दर बनाउन रातको समयमा लाइटहरु जोडिनेछ । शहर र राजमार्ग छेउँमा बन्ने भएकाले यसले शहरहरुको शोभा पनि बढाउनेछ ।

कणर्ाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।

यी पुल बनेपनि त्यहाँ पर्यटकहरु पुग्ने र त्यसले अघि बढेको नेपालको आर्थिक समृद्धिको झल्को पनि दिने सडक विभाग बताउँछ । सडक विभागले नयाँ प्रविधिमा आधारित भएर देशका विभिन्न स्थानमा सिग्नेचर पुल निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

‘यी पुलहरु नेपालको गहनाजस्तो बन्नेछन् । राजमार्ग र शहरमा बन्ने यस्ता आकर्षक पुलले हाम्रो विकासको चाहाना र गतिलाई पनि प्रतिबिम्बित गर्नेछन्,’ पुल महाशाखका एक इन्जिनियरले भने, ‘साथै शहरी क्षत्रेको एउटा बलियो पहिचान पनि यस्ता पुलबाटै स्थापित हुनेछन् । विश्वमा धेरै त्यस्ता शहरहरु छन्, जुन आकर्षक ब्रीजलाई नै आˆनो पहिचान बनाएर बसेका छन् ।’

यो परियोजनाका लागि सरकारले बजेटको ब्यवस्थापन विश्व बैंकले गर्नेछ । ‘अबका पुलहरु पर्यटकीय हिसावले पनि महत्व राख्ने बन्नुपर्छ । स्थानीय अर्थतन्त्रमा पनि यिनले योगदान दिन सक्छन्,’ ती इन्जिनियरलले भने, ‘अब यस्ता पुलले विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि पनि बढाउनेछन् ।’

चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ ।

कणर्ाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक दुई हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् ।

विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment