
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा २७ वर्षीय राजन भुजेल र २६ वर्षीय उत्तम भुजेल रहेका छन्।
- पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजाना कसुरमा जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप अनुमति दिएको छ।
२९ असोज, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका– ३ गोकर्ण बस्नेत गाउँबाट अमेरिकन पेस्तोल र हतकडीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सुर्यकोट घर भई भक्तपुरमा बस्दै आएका २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१ घर भई काठमाडौं गोकर्णेश्वर–३ बस्दै आएका २६ वर्षीय उत्तम भुजेल रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले अमेरिकामा बनेको मो–११११ लेखिएको नौ एमएम क्यालिभरको एउटा पेस्तोल र एउटा हतकडी बरामद गरेको छ ।
पानी ट्यांकीभित्र पेस्तोल र हतकडी लुकाएर राखेको सूचनाका आधारमा पक्राउ मंगलबार राति ९:१० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया 4