Comments Add Comment

रविन्द्रको सफलताका पछाडि विद्याको त्याग !

नेकपा नेताको ढाडस- विद्या, तिम्रो पछाडि सिंगो पार्टी छ

१६ फागुन, काठमाडौं । भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय छन् । कतिपय जोडी सांसद छन् । विद्यार्थी संगठन र पार्टी राजनीतिमा सँगै काम गर्दा बिहे भएका धेरै नेकपा नेतामध्येका थिए अधिकारी । तर, रविन्द्रको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनी विद्या भट्टराई दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिएकी थिइन् ।

कास्कीका रविन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रविन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । ०५५ सालमा बिहे भएपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय भइन् ।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफील उनी अहिले रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिरहेकी छन् ।

विद्याले राजनीतिक करिअर अगाडि बढाउन चाहेको भए उनी यतिबेलासम्म सांसद र पार्टी केन्द्रीय सदस्य बनिसक्ने थिइन् ।

शंकर पोखरेल अनेरास्ववियुको अध्यक्ष हुँदा केन्द्रीय कमिटीमा पुगेकी विद्या योगेश भट्टराई अध्यक्ष र रविन्द्र अधिकारी कोषाध्यक्ष हुँदा महिला विभाग प्रमुख थिइन् । उनी ०४९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुबाट पद्मकन्याको स्वविययु सभापतिकी प्रत्यासी थिइन् । उनीपछि ममता गिरी र रामकुमारी झाँक्री पद्मकन्याको स्ववियु सभापतिका उम्मेवार बनेका थिए । भलै, त्यसबेला त्यो क्याम्पसमा नेविसंघको पकड रह्यो ।

समकालीन भए पनि विद्यार्थी राजनीतिमा विद्या भट्टराई आफूहरुभन्दा एक कार्यकाल अघि नै केन्द्रीय कमिटीमा पुगेको ममता बताउँछिन् । दोस्रो संविधानसभामा तत्कालीन एमालेबाट सभासद र पार्टी केन्द्रीय सदस्य रहेकी ममता अहिले नेकपा केन्द्रीय सदस्य छिन् ।

दुई छोरा जन्मिएको अवधिमा रविन्द्र अधिकारी धमाधम पार्टी राजनीतिको खुटकिला चढिरहेका थिए । अनेरास्ववियुको नेतृत्वबाट पार्टी राजनीतिमा आएसँगै उनले कास्कीको कमाण्ड सम्हाल्न पाएका थिए । त्यो अवस्थामा विद्याले घरपरिवार सम्हालेर उनलाई पूरा समय राजनीतिमा सक्रिय हुन सघाइन् ।

रविन्द्रले पनि पत्नीलाई अध्ययन र प्राध्यापनमा प्रेरित गरेको रविन्द्र अखिलका अध्यक्ष हुँदाका उपाध्यक्ष शिव गुरुङ बताउँछन् ।

अहिले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहेका नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईकी बहिनी हुन्, विद्या भट्टराई । ०५४ सालमा एमाले विभाजन हुँदा राजन एमालेतिर र विद्या मालेतिर लागे । रविन्द्र पनि मालेमै थिए । त्यही समयमा उनीहरुको प्रेम विवाह भयो ।

विद्या भट्टराई तत्कालीन एमालेका सबै नेता-कार्यकर्तामाझ परिचित छिन् । उनलाई पतिवियोगको कठिन क्षणमा सम्हालिन सबैले ढाडस दिइरहेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझै मन्त्री निवास पुल्चोक पुगेर विद्याको पछाडि आफू र सिंगो पार्टी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले रविन्द्रका मातापितालाई पनि भेटेर सान्त्वना दिए । ओलीसँगै गएका उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखरेलले विद्यालाई ढाडस दिँदै पार्टीले अभिभावकत्व लिने बताएका थिए ।

विहीबार विहान नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि विद्यालाई भेटेर शान्त्वना दिएका छन् ।

विद्याका लागि यो अकल्पनीय शोकको घडी हो । रविन्द्र अधिकारीका अधूरा सपना अघि बढाउने सन्दर्भमा विद्याले भावी दिनमा कुन भूमिका रोज्लिन् ? अहिलेलाई यो हतारको प्रश्न हुनेछ ।

राजनीतिक परिवारमा जन्मेर राजनीति नै गरेकी उनका लागि राजनीतिकको बाटो खुला छ । नेकपाका महासचिव बिष्णु पौडेल रविन्द्रको राजनीति फराकिलो बनाउन विद्याले गरेको योगदान पार्टीले नबिर्सने बताउँछन् ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामाको अनुभवमा विद्याले पार्टी नेतृत्वमा नरहे पनि अरुलाई हौसला र मार्गदर्शन गरिरहिन् । रविन्द्र अधिकारीलाई भेट्न पुग्ने सबै नेता-कार्यकर्तालाई विद्याले सधैं एक कमरेडको व्यवहार गरेको नवीना बताउँछिन् । ‘हाम्रा लागि उहाँ अग्रज नेता नै हो’, नविनाले भनिन्, ‘उहाँ राजनीतिबाट टाढिनुभएको छैन ।’

नेकपाका युवा नेता योगेश भट्टराईले प्रेस विज्ञप्तिमार्फत विद्यालाई सान्त्वना दिँदै भनेका छन्, पि्रय वहिनी विद्या, तिम्रो पीडामा म कुनै शब्दले सहानुभूति व्यक्त गर्न सक्दिनँ । तिम्रो आफ्नै अनुभव, साहस र लाखौं लाख शुभचिन्तकको मायाले तिम्रो यात्रा निरन्तर अघि बढ्नेछ ।’

वाइडबडी विमान खरिद प्रकरणबारे लेखा समितिको अध्ययन प्रतिवेदन आएपछि नागरिक उड्यन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले अनलाइनखबरकर्मीसँगको एक भेटमा भनेका थिए, ‘मैले गलत गरेको छैन भन्ने कुरा भगवान छन् भने उनलाई थाहा छ । नत्र, प्रधानमन्त्री र मेरो जीवन संगिनी विद्यालाई थाहा छ । जति प्रष्टीकरण दिए पनि एकथरी मान्छेको नियत नै त्यस्तै छ, तर समयक्रममा यो काण्डको असली खलनायक उदांगिने छन् ।’

मन्त्रीले वाइडबडी काण्डमा आफ्नो संलग्नता पुष्टि भए राजनीतिक जीवनबाटै सन्यास लिने अनलाइनखबरकै अन्तर्वार्तामा बताएका थिए । वाइडबडी काण्डबारे छानविन नहुँदै उनी बुधबार ताप्लेजुङमा हेलिकप्टर दुघट्नामा परेर संसारबाट विदा भए ।

अब आफ्नो पतिको आत्माविश्वासको दीयो जलाउन एक्ली विद्या छिन् । यसका अतिरिक्त उनका साथमा दुई छोराहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment