
३१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा मंसिरभित्र १५औं महाधिवेशन गर्ने कार्यतालिका पेश गरेका छन् । महामन्त्री थापाले नियमित महाधिवशेनका लागि दुई विकल्प सहित कार्यतालिका पेश गरेका हुन् ।
गत बुधबारदेखि सुरु भएर विहीबारसम्म निरन्तर बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले यही मंसिरको २७ देखि २९ सम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तावका रुपमा पेश गरेका छन् ।
महामन्त्री थापाले कार्यसम्पादन समितिमा पेश गरेको कार्यातालिको पहिलो विकल्प अनुसार नयाँ सदस्य वितरण तथा नवीकरण भएका सदस्यको इन्ट्री कात्तिक २१ सम्मका लागि राखिएको छ ।
दुई सातामा फारम भर्ने समय र एक सातामा प्रतिनिधि सभा क्षेत्रबाट स्विकृत गर्ने समयसीमा तोकेर कात्तिक २१ भित्र टुंगो लगाउने प्रस्ताव राखेका छन् । नयाँ सदस्यता सबै वडामा वितरण गर्ने र प्रतिनिधि सभा क्षेत्रबाट सदस्यता प्रदान गर्ने गरी जेनजी लगायत नयाँ पुस्तालाई क्रियाशील सदस्यतता उक्त अवधिमा प्रदान गर्ने महामन्त्री थापाको प्रस्तावमा छ । नयाँ सदस्यता तथा नवीकरणको विवाद कात्तिक मसान्तसम्म सक्ने कार्य कार्ययोजना प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाउने समय मंसिर ७ सम्म तोकिएको छ ।
वडा अधिवेशन मंसिर १२ र १३ गते गर्ने गरी महामन्त्री थापाले कार्यतालिका बैठकमा पेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन र जनसम्पर्क समितिको अधिवेशन मंसिर २१ गते हुने गरी प्रस्ताव पेश गरिएको छ ।
१५ औं महाधिवेशनका लागि मंसिर २७ देखि २९ सम्मको अवधि तोकेर महामन्त्री थापाले प्रस्ताव गरेका छन् ।
महामन्त्री थापाले प्रस्तुत गरेको दोस्रो विकल्पमा सबै तहको अधिवेशन गर्ने उल्लेख छ । वडाको मंसिर ५, गाउँ/नगर, उपमहानगर, महानगरको मंसिर ८, प्रदेश सभा क्षेत्रको मंसिर १२, प्रतिनिधि सभा क्षेत्र, केन्द्रीय महाधिवशेन प्रतिनिधि र जनसम्पर्क समितिको मंसिर १५, जिल्लाको मंसिर १८, प्रदेश अधिवेशन मंसिर २१ र केन्द्रको मंसिर २७ देखि २९ गतेसम्म हुने गरी दोस्रो विकल्प प्रस्तुत गरिएको छ ।
सदस्यताको सन्दर्भमा नवीकरणको सन्दर्भमा महामन्त्री थापाले विकल्प सहित प्रस्ताव गरेका छन् । १४ औं महाधिवेनमा रहेका क्रियाशील सदस्यहरूमा मृत्यु भएका, पार्टी परित्याग गरेका बाहेक सबै जनाको क्रियाशील सदस्यताको नवीकरण भएको मान्यता प्रदान गर्न सकिने महामन्त्री थापाले उल्लेख गरेका छन् ।
विधानमा भएको व्यवस्था संशोधन गरेर क्रियाशीलबाट सिधै नेतृत्व चयन गर्न सकिने विकल्प पनि महामन्त्री थापाले प्रस्ताव गरेका छन् । क्रियाशील सदस्यता प्रदान, नवीकरण र सबै तहको अधिवेशन सक्नका लागि समयको चाप भएको अवस्थामा ढिलोमा पुसको पहिलो साता हुने गरी १५ औं महाधिवशेनको कार्यतालिका बनाउन सकिने थप विकल्प महामन्त्री थापाले राखेका छन् । उक्त विकल्पमा पनि सहमति नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने थापाको भनाई छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार क्रियाशील सदस्यता असोज मसान्तसम्म ८१ प्रतिशतले नवीकरण गरेका छन् । समितिका अनुसार नवीकरण भएकाहरूको इन्ट्री कार्य भने सकिएको छैन । नवीकरणको कार्य सक्ने जिल्लाको संख्या ६० रहेको छ ।
२८ असोजबाट जारी केन्द्रीय समिति बैठकमा भने महामन्त्री थापाको प्रस्ताव पेश हुन सकेको छैन । संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशनको पक्षमा नदेखिँदा महामन्त्री थापाको विकल्प सहितको कार्यतालिकामा पेश हुन सकेको छैन । दुई महामन्त्री थापा र विश्वप्रकाश शर्मासँगै संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्ष मंसिरमा नियमित महाधिवशेन गर्ने पक्षमा छन् । १५ औं महाधिवशेन गर्न नसक्ने भए विशेषमा जानुपर्ने विशेषका लागि हस्ताक्षर गर्नेहरूको धारणा छ ।
प्रतिक्रिया 4