Comments Add Comment

सरस्वती प्रतीक्षाले हारिन् ! ‘नथिया’ सच्याएर बादीसँग माफी माग्न सर्वोच्चको आदेश

‘पण्डित बाजेको लौरी’ र ‘ऐलानी’ पनि संशोधन गर्न अदालतको आदेश

२० फागुन, काठमाडौं । बादी समुदायको समस्या उठान गरेको भनिएका चर्चित कृतिमाथि बादी समुदायले नै आपत्ति जनाएपछि ती कृतिहरु अब संशोधन गर्नुपर्ने भएको छ ।

सरस्वती प्रतीक्षाद्वारा लिखित उपन्यास नथिया, विवेक ओझाद्वारा लिखित ऐलानी र चलचित्र पण्डित बाजेको लौरीलाई सर्वोच्च अदालतले संशोधन गर्न आदेश दिएको छ ।

ती कृतिमा वादी समुदायको आत्मसम्मानमा ठेस पुर्‍याउने र राज्यले बादी समुदायमाथि प्रयोग गर्न नपाइने भनी किटान गरेका शब्दलाई महत्वका साथ प्रयोग गरेको भन्दै बादी अगुवाहरु सर्वोच्च अदालत पुगेका थिए । ती कृतिबाट त्यस्ता शब्द हटाएर श्रष्टाले बादी समुदायसँग क्षमा माग्न माग निर्देशनात्मक आदेश जारी गर्न माग गर्दै मीना नेपालीसमेतका बादी अगुवाहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

फागुन १५ गते सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले उपन्यासमा प्रयोग भएका आत्मसम्मानमा ठेस पुर्‍याउने, जातीय विभेद जनाउने शब्दहरु हटाउन र बादी समुदायसँग माफी माग्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

बादी अगुवाले दायर गरेको रिटमा सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको अधिवक्ता शशी बस्नेतले जानकारी दिइन् । ‘आदेशको लिखित रुप त आएको छैन, तैपनि रिटमा जे जे मागदावी गरिएको थियो, त्यही आदेश भएको छ भन्ने हाम्रो अनुमान हो’ उनले भनिन् । उक्त आदेशको संक्षिप्त रुप पनि सार्वजनिक भएको छैन ।

आदेश सार्वजनिक नभए पनि वादी अगुवाहरु आफूले रिटमा माग दावी गरेकै विषयमा आदेश भएको हुनसक्ने बताउँछन् ।

उपन्यास र फिल्ममा बादी समुदायका पुरुषले माछा मार्ने, मादल बजाउने र श्रीमतीका लागि ग्राहक खोज्ने गरेको देखाइएको छ । तर, बादी समुदायमा विवाह गरेका महिलाले यौन व्यवसाय गर्दैनन् । तथ्य नै तोडमोड भएको भन्दै बादी समुदायले आपत्ति जनाएका हुन् ।

राज्यले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेका शब्दलाई उपन्यास र फिल्ममा प्रमुख स्थान दिएकाले न्याय माग्दै अदालत गएको बादी अगुवा केशव नेपाली बादीले बताए ।

यो पनि पढ्नुहोस् :  ‘सरस्वती प्रतीक्षाले माफी मागून्, पण्डित बाजेको लौरी खारेज होस्’ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment