Comments Add Comment

‘सरस्वती प्रतीक्षाले माफी मागून्, पण्डित बाजेको लौरी खारेज होस्’ (भिडियोसहित)

नथिया उपन्यासकी लेखिका सरस्वती प्रतिक्षालाई हामीले भेटन खोज्यो उहाँ भाग्नुहुन्छ । फोन गर्‍यो, फोन नै उठाउनुहुन्न । हामीले सञ्चार मन्त्रालयमा पनि यस विषयमा कुरा उठायौँ । चलचित्र विकास बोर्ड र मन्त्रालयबाट फोन गर्दा पनि उहाँ आउनुभएन । उहाँ भागिरहनुभएको छ । अनि ‘एनजीओको भात खाएर आन्दोलन गर्ने !’ भन्दै ट्वीट गर्नुहुन्छ ।

सरस्वती प्रतिक्षाले नथिया सार्वजनिक गरेपछि मेरी श्रीमतीले पढिन् । त्यसपछि उनले मलाई प्रश्न गरिन्- ‘यहाँ त बादी महिलाले बिहेपछि पनि यौन व्यापार गरेर श्रीमान पाल्छन् भनेका छन्, मैले त त्यस्तो कहिल्यै गरिनँ ।’

यसरी श्रीमतीले प्रश्न गर्दा म स्तब्ध भएँ । ताकि उनले मसँग मागी विवाह गरेकी हुन् । त्यसभन्दा पहिले कहिल्यै यौन व्यवसायमा पनि आवद्ध थिइनन् । यसरी नथिया उपन्यासको प्रभाव मेरै घरमा समेत परिरहेको छ ।

आजभोलि बादी समुदायका विद्यार्थीलाई स्कुलमा जिस्क्याउन थालेका छन् । देख्नेवित्तिकै भन्छन्, ‘उ नथिया आई ।’ कति ठाउँमा जिस्क्याउँदै मुटुमा प्रहार गर्छन्, ‘ओ ऐलानी के छ ?’

यी त तत्काल देखिएका समस्या भए । नथिया, ऐलानी पुस्तक र, पण्डित बाजेको लौरी नामक चलचित्रमा बादी समुदायलाई यसरी प्रस्तुत गरिएको छ कि उहाँहरुले सामान्य मानवीय सम्वेदनासम्म देखाउनुभएको छैन ।

बादी समुदायको आपत्ति किन ?

हामीले उपन्यासकारसँग द्वन्द्व बढाउन खोजेको होइन तर, सरस्वती प्रतिक्षाजी आफूलाई सच्याउनै तयार हुनुहुन्न । त्यसैले हामी न्याय पाउने आशा राखेर नै सर्वोच्चसम्म पुगेका हौँ ।

यसमा कानूनले वर्जित गरेका, बादी समुदायको आत्मसम्मानमा ठेस पुग्छ भनेर बर्जित गरेका शब्दहरुलाई नै प्रमुखताका साथ देखाइएको छ । राज्यले लिखितरुपमै यस्ता शब्दले बादी समुदायमाथि उच्चारण गर्न पाइँदैन भनेको छ । तर, यी पुस्तक र फिल्ममा तिनै कुरालाई जोडदार रुपमा उठाइएको छ ।

उपन्यासमा छोरी जन्मिँदा खुशीयाली र छोरा जन्मेपछि मानिस मरेकोजसरी सन्नाटा छाउँछ भनिएको छ । अझ गम्मीर विषय भनेको त बाबुले नै छोरीको नथिया खोलेको (पहिलो पटक शारीरिक सम्पर्क गरेको) लेखिएको छ । त्यसरी प्रस्तुत गर्दा त गलत सन्देश गयो नि त ।

उपन्यासमा कथालाई मात्र अतिरञ्जित गरिएको छैन कि पाँच/छ जना पात्रको नाम नै मिलेको छ । यसलाई संयोग मात्र मान्न सकिँदैन । विवेक ओझाको ऐलानी किताबले त यिनीहरुलाई जे गरे पनि हुन्छ भन्ने सन्देश दिएको छ । जो आएर जे गरे पनि हुन्छ भन्ने वास्तविकता त होइन ।

हाम्रो सम्मानित इतिहास र संघर्ष खोई ?

बादी समुदायभित्रका केही निश्चित परिवारले १०/१५ वर्ष पहिले यौन व्यवसाय गर्थे । त्यसबेला पनि सिंगो बादी समुदायको करिब ६ प्रतिशत जनसंख्या मात्रै देहव्यापारमा संलग्न थियो । अहिले त्यो पनि छैन । तर, उपन्यासले सिंगै समुदायलाई नै देह व्यापारका रुपमा चित्रण गरेको छ, जुन निराधार छ ।

फेरि, बादी समुदायले त्यसबेला रहरले देहव्यापार गरेको पनि त होइन । यौन व्यवसाय गर्न बाध्य पारिएको हो । त्यो त सम्भ्रान्तहरुले नै, उहाँहरुकै जातले गराएको हो । बादी समुदायको ग्राहक बादी पनि होइन । त्यो अन्यायलाई किन देखाउनुहुन्न उहाँहरुले ?

एउटा पहिचानविहीन समुदायको आत्मसम्मान नै गुमिरहेका बेला, यसबाट कसरी उम्कन खोजिन्छ भन्नेतिर लागिरहेका बेला नथिया र ऐलानीले फेरि त्यही परिस्थितितिर धकेलिदिएको छ ।

बादी समयुदाय सामाजिक बहिस्करणमा छ, राजनीतिक आर्थिक रुपमा उपेक्षित छ । ८० प्रतिशतभन्दा बढी भूमिहीन छन् । तर, बादी समुदायलाई उत्थान गर्ने तरिकाले लेखेको खोई ? इतिहासचाँहि चटक्कै बिर्सने, अनि देहव्यापारलाई मात्रै केन्द्रमा राखेर लेख्ने ?

पुस्तकमा बादी समुदायका सम्मानित कुरा पनि त देखाउनुपर्‍यो नि । बादी समुदाय देह व्यापार गर्ने समुदाय होइन । यो त नाचगान गर्ने, माछा मार्ने, मादल बनाउने सीप र कलाको धनी समुदाय पनि हो । नाचगानको जननी हो बादी समुदाय । भलै आज रेखा थापाहरु फिल्म खेल्छन् त्यो अर्को कुरा भयो ।

हाम्रो बादी समुदायले राज्यसँग पनि लामो संघर्ष गरेको छ । बादी समुदायले ०६० सालमा सर्वोच्चमा मुद्दा नै हालेको छ । त्यतिबेला अग्राधिकारसहित बादी समुदायका लागि काम गर्नुपर्छ भनेर सर्बोच्चले परमादेश पनि जागि गर्‍यो । ४८ दिनसम्म सडकमा संघर्ष गर्‍यो । त्यसबाट वोर्ड बन्ने जस्ता केही सकारात्मक परिवर्तनहरु पनि आए ।

तर, उहाँहरुले उमादेवी बादी नांगै सिंहदरबारको गेटमा उभिनुपर्ने अवस्थालाई चटक्कै बिर्सेर उपन्यास लेख्न कसरी मिल्छ ? बादीको छुट्टै स्कुल खोल्नुपर्ने बाध्यताका कुरा खोई ? विभिन्न संघसंस्था खोलेर लडेको संघर्ष कहाँ छ ? आज हामी राजधानीमा उत्रिन लायक त्यत्तिकै भएका होइनौँ । उहाँहरुसँग बहस गर्न खोज्ने त्यतिकै भएका होइनौँ ।

उहाँहरुले त आफ्नो पुस्तक बिक्री गर्नका लागि अतिरञ्जित गरेर इतिहास नै बंग्याउन खोज्नुभएको छ ।

यसरी पुग्यौँ सर्वोच्चसम्म

आजभोलि बादी समुदायका विद्यार्थीलाई स्कुलमा जिस्क्याउन थालेका छन् । देख्नेवित्तिकै भन्छन्, ‘उ नथिया आई ।’ कति ठाउँमा जिस्क्याउँदै मुटुमा प्रहार गर्छन्, ‘ओ ऐलानी के छ ?’

गत भदौमा रञ्जिता नेपालीले आफ्नो नाममा बेइज्जत गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा सरस्वती प्रतिक्षाविरुद्ध मुद्दा हाल्नुभएको थियो । यो पुस्तकले सिंगो बादी समुदायलाई अपमान गरेकाले राष्ट्रिय बादी परिषदले सर्वोच्च अदालतसम्म मुद्दा दायर गरेको छ ।

हाम्रो माग के हो भने ‘पण्डित बाजेको लौरी’ खारेज हुनुपर्‍यो । नथिया र ऐलानीलाई जलाएर त समस्या समाधान हुँदैन, परिमार्जित गरेर अर्को संस्करण निकाल्नुपर्‍यो र पीडितलाई क्षतिपूर्ति दिनुपर्‍यो । अनि सिंगो समुदायसँग माफी माग्नुपर्‍यो । यिनै माग राखेर हामीले सर्वोच्चमा मुद्दा दर्ता गरेका हौं ।

हामीले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्‍यौँ । यसका लागि हामीले गत साउनमा विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरेर हाम्रा कुराहरु राख्यौँ । हाम्रो आवाजको सुनुवाई भएन ।

अनि हामी बैधानिक कानुनी अभियानमा लाग्यौँ । बादी विकास बोर्डमा गएर छलफल गर्‍यौँ । हामी चलचित्र विकास बोर्डमा पनि पुग्यौँ । रााष्ट्रिय मानवअधिकार आयोगसँग पनि हाम्रा कुरा राख्यौं । आयोगले पनि समुदायमाथि आँच आएकाले पुस्तकलाई सच्चाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गर्‍यो ।

तर, सरस्वती प्रतिक्षाजी आफूलाई सच्याउनै तयार हुनुहुन्न । त्यसैले हामी न्याय पाउने आशा राखेर नै सर्वोच्चसम्म पुगेका हौँ ।

हामीले उपन्यासकारसँग द्वन्द्व बढाउन खोजेको होइन । दुवै पक्ष मिल्न जरुरी छ । उहाँले सफा नियतले लेखेको पनि हुन सक्छ । तर, उहाँहरुको नियत सफा हुन सक्छ । तर, बाहिर प्रस्तुतीकरणमा त्यो देखिएन ।

तपाईले लेख्नुस्, उपन्यास नलेख्नुस भनेको होइन । तर, यसलाई सच्याएर अर्को संस्करण निकाल्नुहोस् । बरु हामीले नै सही तथ्यांक र सूचना के दिनुपर्ने हो, दिन्छौँ । तपाईहरुले कुनै काल्पनिक हिरोहरु पनि खडा गर्नुपर्दैन । हामीसँग दमदार रियल हिरो पनि छन् । यसका लागि हामीसँग भेट्नु त पर्‍यो । सहमतिमा आउनुपर्‍यो ।

मैले सरस्वती प्रतिक्षालाई के भन्छु भने तपाईले लेखनी त देखाउनुभयो । तर, यसरी लेखिरहँदा एकपटक बादी महिला भएर सोच्नुस् अनि पीडा थाहा पाउनुहुन्छ ।

(सुकलाल नेपाली राष्ट्रिय बादी परिषदका महासचिव हुन्)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment