१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रभावकारी बजेट कार्यान्वयनमा सहजीकरण गर्न प्रदेश सभा सदस्याहरूलाई आग्रह गरेका छन् ।
प्रदेश नीति तथा योजना आयोगले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कँडेलले प्रदेशसभाका सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा विनियोजित विकास बजेटको प्रभावकारी खर्चका लागि सहजीकरण गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कँडेलले विभिन्न कारणले खर्च सुस्त हुन सक्ने सम्भावना भएकाले प्रदेशसभाका सदस्यहरूले जिल्लामा पुगेर कामको गति बढाउन नेतृत्व लिनुपर्ने बताए ।
उनले चालु आबको बजेट कार्यान्वयन गर्न विभिन्न तहका जनप्रतिनिधि, कर्मचारी र सरकारबीच साझा बुझाइ आवश्यक रहेको धारणा राखे ।
‘यो कार्यक्रम गर्नुको कारण नै सबै पक्षलाई एउटै धारमा ल्याउनु हो,’ उनले भने ।
कर्णाली प्रदेशले योजनाको प्रस्ताव, छनोट, आयोजना बैंक तथा अनुदान कार्यान्वयन प्रक्रियालाई व्यवस्थित गर्न देशमै पहिलो पहल गरेको मुख्यमन्त्री कँडेलले दाबी गरे । उनले स्थानीय तहसँग पहिलोपटक औपचारिक छलफलमार्फत योजनाको एकीकृत व्यवस्थापन अघि बढाइएको समेत जानकारी दिए ।
विगतका वर्षहरूमा समेत प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर भएको स्मरण गर्दै उनले चाअु आर्थिक वर्षमा पुरानै गल्ती दोहोरिन नदिन मातहतका निकायलाई निर्देशन समेत दिए । कँडेलले मन्त्रालयमा १० जिल्लाका योजनाको निगरानी गर्ने व्यवस्था र जिल्लामा रहेका कार्यालयमार्फत जिल्लाका विकास आयोजनाको अनुगमन हुने जिकिर गरे ।
विगतमा मनपरी सिफारिस हुँदै आएका योजनालाई रोक्न अब ५० लाखभन्दा माथिका सबै योजना आयोजना बैंकमा समावेश गरिने बताउँदै उनले प्रणाली सुधारमा सरकार गम्भीर रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री कँडेलले विकसित हुँदै गइरहेको राजनीतिक तथा प्रशासनिक वातावरणले काममा चुनौती थपेको स्वीकार गरे ।
‘विषम परिस्थितिले सबैलाई थर्कमान बनाएको छ, तर जिम्मेवारीबाट पछि हट्न मिल्दैन’ मुख्यमन्त्री कँडेलले भने । सबैले आफ्नो ठाउँबाट जिम्मेवार भएर कामको गति बढाउनुको विकल्प नभएको कँडेलले बताए ।
प्रतिक्रिया 4