News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णाली प्रदेशका बिजुली तार तथा केबुल उत्पादन उद्योग करिब ९० प्रतिशत क्षमतामा सञ्चालन भएका छन्।
- आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशमा औद्योगिक कर्जा कुल कर्जाको ६.५ प्रतिशत मात्र ओगटेको छ र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा १.९४ प्रतिशतले घटेको छ।
- कर्णाली प्रदेशमा विद्युत् प्रसारण लाइन ३ हजार ५ सय ७५ दशमलव ७४ किलोमिटर पुगेको र विभिन्न पूर्वाधार निर्माणले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।
३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशका बिजुली तार तथा केबुल उत्पादन उद्योगको अवस्था सहज देखिएको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कर्णालीका ती क्षेत्रका उद्योग करिब पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । तर, बिजुलीका तार र केबुल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत छ ।
त्यसैगरी गलैँचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत रहेको अध्ययनले औँल्याएको छ ।
कर्णालीमा गत आव बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको औद्योगिक कर्जा अघिल्लो आवको तुलनामा १.९४ प्रतिशतले घटेको छ ।
त्यहाँ प्रवाह भएको समग्र कर्जाको ६.५ प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ । बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८५.४७ प्रतिशत सेवा क्षेत्रमा छ ।
गत आव कर्णालीमा वाणिज्य बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ४ सय ७५ कायम भएको छ । त्यसैगरी शाखारहित बंैकिङ संख्या १८ छ । गत आव बैंक तथा वित्तयि संस्थाको औसत कर्जा तथा निक्षेप अनुपात ६६.८५ प्रतिशत छ ।
नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार आव २०८१/८२ मा विद्युत् प्रसारण लाइन ३ हजार ५ सय ७५ दशमलव ७४ किलोमिटर पुगेको छ ।
कर्णालीमा निर्माणाधीन पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण कार्यले गति लिइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
गत आव कर्णाली सरकारले ३१ अर्ब ४१ करोड बजेट विनियोजन गरेकोमा कुल विनियोजनको ६३.६७ प्रतिशत अर्थात् १९ अर्ब ९९ करोड खर्च भएको छ । २०८२ असार मसान्तसम्म प्रदेशको कुल आय २७ अर्ब ६८ करोड पुगेको छ ।
यस प्रदेशमा समयमै धान रोपाइँ भएको, अन्य वर्षे बालीको समयमा पनि मौसम अनुकूल भएको, आन्तरिक पर्यटन प्रवर्द्धन भएको, वित्तीय सेवा, वित्तीय पहुँच, डिजिटल भुक्तानी, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा क्रमश: सुधार हुँदै गएको अध्ययनले देखाएको छ ।
रणनीतिक महत्त्वका सडक विस्तार भइरहे सँगसँगै विद्युत् प्रसारणलाइन निर्माण, पर्यटन पूर्वाधार निर्माण, भूकम्प पुनर्निर्माणका कार्य, यातायात, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र खानेपानीसँग सम्बन्धित पूर्वाधार निर्माण भइरहेकाले चालु आव प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्न सक्ने अनुमान अध्ययन प्रतिवेदनमा छ ।
२०८१/८२ असार मसान्तसम्म कर्णालीको समग्र कृषि बालीले ढाकेको भूक्षेत्र अघिल्लो वर्षको तुलनामा ६.०८ प्रतिशतले घटेको छ । गत आव प्रमुख खाद्यबालीमध्ये धान, मकै, गहुँ, कोदो र जौले ढाकेको क्षेत्रफलमा क्रमश: ५.११, ४.१६, ४.८६, ११.५२ र १.३९ प्रतिशत ह्रास आएको छ ।
कर्णालीमा समग्र कृषि बालीे उत्पादन अघिल्लो वर्षको तुलनामा ५.०१ प्रतिशतले घटेको छ । गत आव तरकारी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमश: ०.८८ र ३६.४१ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
गत आव कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ८.०२ प्रतिशत हो । यस्तो कर्जा गत वर्षको तुलनामा ७.७० प्रतिशतले घटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया 4