+
+
Shares

लिम्बु समुदायमा सिलामसाक्मा : परम्परादेखि पहिचानको प्रतीकसम्म

सिलामसाक्माको अब केवल धागो, बाँस वा धातुबाट बनेको एउटा संरचना मात्र रहेन भन्ने स्पष्ट हुन्छ । यसभित्र याक्थुङ समुदायको मुन्धुमी दर्शन, धार्मिक विश्वास, इतिहास, आध्यात्मिक चेतना, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचान जोडिएको छ ।

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ भदौ २४ गते ८:५७

२४ भदौ, तेह्रथुम । कुनै सांस्कृतिक कार्यक्रम होस् वा औपचारिक समारोह, अतिथिको स्वागतमा फूलमाला, खादा र अबिरसँगै पछिल्लो समय एउटा फरक सांस्कृतिक चिनो पनि देखिन थालेको छ-सिलामसाक्मा।

याक्थुङ (लिम्बु) समुदायको मुन्धुम, धार्मिक विश्वास र सांस्कृतिक परम्परासँग गहिरो रूपमा जोडिएको सिलामसाक्मा अहिले धार्मिक अनुष्ठानको सीमाभन्दा बाहिर निस्केर पहिचान, सम्मान र सांस्कृतिक गौरवको प्रतीक बन्दै गएको छ ।

कुनै समय विशेष धार्मिक तथा सांस्कृतिक संस्कारमा मात्र प्रयोग हुने सिलामसाक्मा अहिले सभा, सम्मेलन, स्वागत तथा सम्मान कार्यक्रमदेखि पहिरन, हस्तकलाका सामग्री, घरका मूलढोका र सार्वजनिक संरचनासम्म पुगिसकेको छ । यसले एउटा परम्परागत सांस्कृतिक वस्तुको स्वरूप मात्र परिवर्तन गरेको छैन, याक्थुङ समुदायको मौलिक पहिचानलाई नयाँ पुस्ता र नयाँ पुस्ताको जीवनशैलीसँग जोड्ने कामसमेत गरिरहेको छ ।

परम्परागत रूपमा बाँस वा काठको सानो टुक्रामा नौ फरक-फरक रंगका धागो प्रयोग गरेर सिलामसाक्मा बनाइन्छ । याक्थुङ मुन्धुममा यसलाई अकाल मृत्युबाट बचाउने पवित्र वस्तुका रूपमा व्याख्या गरिएको पाइन्छ । लिम्बू भाषामा ‘सि’ को अर्थ मृत्यु, ‘लाम’ को अर्थ बाटो र ‘साक्मा’ को अर्थ छेक्नु वा बन्द गर्नु हो। यसरी हेर्दा सिलामसाक्माको अर्थ ‘मृत्युको बाटो छेक्नु’ भन्ने हुन्छ ।

मुन्धुमी दर्शन र जनविश्वासअनुसार सिलामसाक्माले मानिसको मृत्युको बाटो बन्द गर्ने र आयु लामो बनाउने विश्वास गरिन्छ । यही धार्मिक तथा आध्यात्मिक विश्वासका कारण यसको प्रयोग याक्थुङ समुदायका विभिन्न संस्कारमा विशेष महत्वका साथ हुँदै आएको हो ।

किरात याक्थुङ चुम्लुङ, तेह्रथुमका पूर्वअध्यक्ष गणेश सेनेहाङका अनुसार मुन्धुममा सिलामसाक्मा लगाएमा मृत्युको बाटो छेकिने र आयु लामो हुने गहिरो विश्वास रहेको छ । उनका अनुसार सिलामसाक्मा केवल धागो वा बाँसबाट बनाइएको सामान्य वस्तु नभई याक्थुङ समुदायको मुन्धुमी विश्वास, जीवनदर्शन र सांस्कृतिक चेतनासँग जोडिएको पवित्र प्रतीक हो ।

परम्परागत रूपमा फेदाङ्मा, येबा, साम्बा र देबारीहरूले धार्मिक विधिअनुसार यसको निर्माण गर्ने चलन थियो । निश्चित विधि र सांस्कृतिक मान्यतासँग जोडिएको सिलामसाक्मा पछिल्लो समय भने धार्मिक सीमाबाट बाहिर आएर सामाजिक तथा सांस्कृतिक जीवनको अभिन्न हिस्सा बन्न थालेको छ ।

विशेषगरी सांस्कृतिक सभा, सम्मेलन तथा औपचारिक कार्यक्रममा अतिथिलाई सम्मान र स्वागतस्वरूप देब्रे छातीमा सिलामसाक्मा लगाइदिने चलन व्यापक बन्दै गएको छ ।

इतिहासविद् भगिराज इङ्नामका अनुसार देब्रे छातीमा लगाइने सिलामसाक्मा अकाल मृत्युबाट जोगिने कामनासँग जोडिएको सांस्कृतिक विश्वासको प्रतीक हो । यसले याक्थुङ समुदायको इतिहास, दर्शन र आध्यात्मिक चेतनालाई समेत प्रतिनिधित्व गर्छ । यही कारण पछिल्लो समय सिलामसाक्माको प्रयोग केवल धार्मिक संस्कारमा मात्र नभई सामाजिक, सांस्कृतिक र सार्वजनिक समारोहमा समेत बढ्दै गएको देखिन्छ ।

समयसँगै सिलामसाक्माको स्वरूपमा पनि परिवर्तन आएको छ । पहिले बाँस वा काठको सानो टुक्रामा विभिन्न रंगका धागो प्रयोग गरेर बनाइने भए पनि अहिले चाँदी, तामा, पित्तललगायतका धातु प्रयोग गरेर समेत निर्माण गर्न थालिएको छ । यसको प्रयोग ढाका कपडा, खादा, रुमाल, टी–सर्ट, टोपी, स्मृति चिनो तथा विभिन्न हस्तकलाका सामग्रीमा समेत हुन थालेको छ । यसले सिलामसाक्मालाई परम्परागत धार्मिक वस्तुबाट आधुनिक सांस्कृतिक पहिचानको सामग्रीका रूपमा विस्तार गरेको छ ।

लिम्बू भाषा तथा सांस्कृतिक अभियन्ता एवं गायिका हेमुस्मृती चोङबाङका अनुसार पछिल्लो समय औपचारिक तथा अनौपचारिक सभा–समारोहमा सिलामसाक्माको प्रयोग उल्लेख्य रूपमा बढेको छ । पहिले विशेष धार्मिक तथा सांस्कृतिक प्रसंगमा बढी प्रयोग हुने यो चिनो अहिले याक्थुङ समुदायको सांस्कृतिक परिचयका रूपमा व्यापक हुँदै गएको उनको भनाइ छ ।

सिलामसाक्माको प्रभाव याक्थुङ समुदायभित्र मात्र सीमित रहन छाडेको छ । अहिले अन्य समुदायका मानिसहरूले समेत यसलाई सम्मानका साथ ग्रहण गर्ने र लगाउने गरेका छन् । अतिथिको देब्रे छातीमा सजिँदा यो सम्मानको प्रतीक बन्छ भने सांस्कृतिक कार्यक्रममा प्रयोग हुँदा सामुदायिक पहिचानको चिनोका रूपमा देखिन्छ ।

घरको मूलढोका र बाहिरी गेटमा समेत सिलामसाक्माको आकृति सजाउन थालिएको छ । यसले यसको प्रयोग मानिसको पहिरन र व्यक्तिगत सम्मानबाट घर, समुदाय र सार्वजनिक स्थानसम्म विस्तार भइरहेको देखाउँछ ।

सिलामसाक्माको सांस्कृतिक महत्वलाई स्थायी रूपमा स्थापित गर्ने उद्देश्यले विभिन्न स्थानमा यसका ठूला स्तम्भसमेत निर्माण भएका छन् । तेह्रथुमको आठराईमा करिब ४० फिट अग्लो विशाल सिलामसाक्मा स्तम्भ निर्माण गरिएको छ । त्यस्तै ताप्लेजुङ, पाँचथर हुँदै छिमेकी मुलुक भारतको सिक्किमसम्म पनि सिलामसाक्माका स्तम्भ निर्माण भएका छन् । यस्ता संरचनाले एउटा सांस्कृतिक प्रतीकलाई सार्वजनिक पहिचानका रूपमा स्थापित गर्नुका साथै भावी पुस्तालाई आफ्नो मौलिक इतिहास र संस्कृतिसँग जोड्ने काम गरिरहेका छन् ।

सिलामसाक्माको अब केवल धागो, बाँस वा धातुबाट बनेको एउटा संरचना मात्र रहेन भन्ने स्पष्ट हुन्छ । यसभित्र याक्थुङ समुदायको मुन्धुमी दर्शन, धार्मिक विश्वास, इतिहास, आध्यात्मिक चेतना, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचान जोडिएको छ ।

अतिथिको छातीमा सजिँदा यसले सम्मान र सत्कारको अर्थ बोकेको हुन्छ, घरको ढोकामा राखिँदा मौलिक पहिचानप्रतिको आत्मीयता झल्काउँछ भने विशाल स्तम्भका रूपमा उभिँदा पुस्तौँदेखि जोगिँदै आएको सांस्कृतिक स्मृतिको सार्वजनिक अभिव्यक्ति बन्न पुग्छ ।

परम्परा समयसँगै बदलिन्छ, तर त्यसको मूल अर्थ र आत्मा पुस्तान्तरण हुँदै जान्छ । सिलामसाक्माको वर्तमान यात्रा पनि त्यही सांस्कृतिक निरन्तरताको एउटा उदाहरण हो । मुन्धुमी विश्वासबाट सुरु भएको यसको यात्रा आज आधुनिक जीवनशैली, औपचारिक कार्यक्रम, पहिरन, हस्तकला र सार्वजनिक संरचनासम्म आइपुगेको छ । यसले परम्परागत ज्ञानलाई आधुनिकतासँग जोड्दै नयाँ पुस्तासम्म पुर्‍याउने काम गरिरहेको छ ।

त्यसैले सिलामसाक्मा अब केवल ‘मृत्युको बाटो छेक्ने’ पवित्र प्रतीकमा सीमित छैन, यो याक्थुङ समुदायको इतिहास र वर्तमानलाई जोड्ने, पुस्ता र पुस्ताबीच संस्कृति हस्तान्तरण गर्ने तथा आफ्नो मौलिक पहिचानलाई संसारसामु चिनाउने सांस्कृतिक चिनोका रूपमा स्थापित हुँदै गएको छ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?