Comments Add Comment

ओआईसीको घोषणापत्र : काश्मिरमा भारतीय बर्बरता उत्कर्षमा

इस्लामिक राष्ट्रहरुको संगठन ओआईसीले जम्मु–कश्मिरमा भारतले आम नागरिकहरुमाथि बर्बरता उत्कर्षमा पुगेको निस्कर्ष निकालेको छ । ओआईसीका विदेशमन्त्रीहरुको यूएईमा सम्पन्न सम्मेलनले शनिबार जारी गरेको घोषणापत्रमा भारतविरुद्ध कडा शब्दहरु प्रयोग गरिएका छन् ।

उक्त सम्मेलनमा गेस्ट अफ अनरका रुपमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि भाग लिएकी थिइन् । शुक्रबार सम्मेलनलाई सम्वोधन गर्दै उनले पाकिस्तानलाई आतंकवादको आश्रयस्थलका रुपमा चित्रित गरेकी थिइन् । तर, सम्मेलनको घोषणपत्रले भने पाकिस्तानको बचाउ गर्दै भारतको आलोचना गरेको छ ।

‘जम्मु कश्मिरमा सन् २०१६ देखि भारतीय बर्बरताले उग्र रुप लिएको छ,’ घोषणापत्रमा भनिएको छ, ‘त्यहाँ भारतीय आतंकवाद व्याप्त छ । नागरिकहरुलाई गैरकानूनीरुपमा थुनामा राख्ने र वेपत्ता पार्ने कम भइरहेको छ ।’

घोषणापत्रमा निर्दोष काश्मिरीहरुविरुद्ध भारतले जथाभावी बल प्रयोेग गरेको भन्दै निन्दा गरिएको छ । साथै भारतका पाइलट फर्काइदिएकोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रशंसा गरिएको छ ।

ओआईसीको यस्तो घोषणापत्रले पाकिस्तानलाई प्रशन्न बनाएको छ भने भारतलाई क्षुब्द । पाकिस्तानी विदेश मन्त्रालयले ओआईसीले पाकिस्तानको समर्थन गरेको भन्दै विज्ञप्ति निकालेको छ ।

भारतीय विदेश मन्त्रालयले यसमा प्रतिक्रिया दिँदै भनेको छ, ‘हाम्रो अडान स्थिर र चिरपरिचित छ । हामी जम्मु र कश्मिरलाई भारतको अभिन्न अंग मान्छौ र यो मुद्दा भारतको आन्तरिक विषय हो भन्ने हाम्रो ठहर छ ।’

शुक्रबारको सम्वोधनमा स्वराजले ओआईसीलाई विश्वव्यापी आतंकवादविरुद्धको लडाईमा सहकार्य गर्न आह्वान गरेकी थिइन् । १७ मिनेट लामो सम्वोधनमा उनले भनेकी थिइन्, ‘यदि हामी मानवताको रक्षा गर्न चाहन्छौं भने आतंकवादलाई आश्रय र पैसा दिइरहेका राष्ट्रहरुलाई तिनीहरुको भूमिमा रहेका आतंकवादी समुहका शिविरहरु ध्वस्त पार्न भन्नुपर्छ ।’

ओआईसीको सम्मेलनमा भारतलाई पहिलोचोटि निम्त्याइएको थियो । भारतीय विदेशमन्त्रीलाई सहभागी गराउने निर्णयमा असहमति जनाउँदै पाकिस्तानी विदेशमन्त्रलिे सम्मेलन अघोषित बहिष्कार गरेका थिए । भारतीय मिडियाहरुले यसलाई भारतको ठूलो कुटनीतिक जीतका रुपमा व्याख्या गरेका थिए । ओआईसीमा ५७ वटा इस्लामिक राष्ट्रहरु आवद्ध छन् । पाकिस्तान यसको संस्थापक सदस्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment