Comments Add Comment

बगैंचाजस्तै बन्यो हेटौंडाको सडक

कान्तिलोकपथसहित ११ सडकमा फूल रोपेपछि फेरियो मुहार

२० फागुन, हेटौंडा । हरितनगरी हेटौंडाको पहिचानलाई थप प्रभावकारी बनाउन हेटौंडा उपमहानगरले राष्ट्रिय मार्ग कान्तिलोकपथसहित ११ सडकमा फलफूल र विभिन्न जातका बिरुवा लगाएको छ ।

फराकिलो कान्तिराजपथको बीचमा निर्माण गरिएका डिभाइडरमा उपमहानगरपालिकाले सयपत्री, निलजाई, अशर्फीलगायत फूल तथा बिरुवा रोपेको हो । जसले सडकको मुहार नै फेरिदिएको छ ।

निर्वाचित भएर आएलगत्तै उपमहानगरपालिकाका जनप्रतिनिधिले नगरको मुख्यबजार र त्यस आसपासका क्षेत्रका सडक फराकिलो बनाउने अभियान सञ्चालन गर्नुका साथै फलफूल तथा बिरुवा रोप्ने अभियान थालेका थिए । त्यसको नतिजा अहिले कान्तिराजपथ हेटौंडा सानोपोखरा खण्डदेखि मुख्य बजारसम्मको रोडबीच डिभाइडरमा पहेँलपुर फूल फुलिरहेका देखिन्छन् ।

यही अभियानअन्तर्गत हेटौंडा बजार र आसपास क्षेत्रका ११ वटा मूल सडकमा फूल र फलफूलका बिरुवाहरु रोपिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल तत्कालीन मेयर र आफू उपमेयर हुँदा मुख्य सडकमा अशोकका रुख रोपिएको र थप निखार ल्याउन फूल रोपिएको महतको भनाइ छ ।

सडक व्यवस्थित भएसँगै अहिले हेटौंडाको मानसचोक हुँदै मकवानपुर क्याम्पस, सानोपोखरा कलभर्ड, पिप्लेचोक, स्कुलरोड भैरवचोक , पारिजात पथको तायल ब्रदरचोकका स्थानमा बिरुवा रोपिएको उपमहानगरपालिकाले जनाएको छ । मेयर महतका अनुसार, कबर्डहल, पिपलबोट, संगमचोक, कान्तिराजपथ चोकदेखि जोसी नर्सरी जाने चोक तथा देवीहल रोडको दुवैतर्फको सडक पेटी र मानव सेवा आश्रमको क्षेत्रमा २७ प्रजातिका बिरुवाहरु रोपिएको छ ।

२ वर्षको अवधिमा ४ हजार २ सय ५६ जातका बिरुवा रोपिएको उपमहानगरपालिकाले बताएको छ । यसबाट हौसिएको महानगरले सबै वडामा फूल तथा बिरुवा रोप्ने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment