News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंक प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ।
- काठमाडौँको भेलोसिटी एरिनामा शनिबार भएको फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गरेको छ।
- अमित श्रेष्ठले ३ विकेटसहित ‘प्लेयर अफ द फाइनल’ उपाधि जिते भने हरिओम जोशी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए।
२८ भदौ, काठमाडौं । पोखरा वारियर्सले कटिया हाउसको प्रस्तुति तथा एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्डोर सुपर लिग क्रिकेट सिजन–२ को उपाधि जितेको छ ।
काठमाडौँस्थित भेलोसिटी एरिनामा शनिबार सम्पन्न फाइनलमा पोखराले बुटवल एम्पायरलाई १७ रनले पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंहको प्रमुख आतिथ्यमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ७९ रन बनाएको थियो ।
पोखराको इनिङ्स संकटमा रहेका बेला अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याएका थिए । ८० रनको लक्ष्य पछ्याएको बुटवलका ब्याटरले भने लय समात्न सकेनन् । ब्याटिङपछि बलिङमा पनि चम्किएका अमितले तीन विकेट लिएपछि बुटवल लक्ष्यभन्दा १७ रनले पछि पर्दै उपाधिबाट वञ्चित भयो ।
सात दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो भने कुल ४९ खेल खेलिएका थिए । च्याम्पियन पोखराले पाँच लाख रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो। उपविजेता बुटवलले दुई लाख रुपैयाँसहित पदकमा चित्त बुझायो ।
अलराउन्ड प्रदर्शन गरेका अमित श्रेष्ठ ‘प्लेयर अफ द फाइनल’ घोषित भए । पोखराकै आश्रय बस्नेत उत्कृष्ट ब्याटर बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्दा काठमाडौं कैलाश किंग्सका गौतम केसी उत्कृष्ट बलर घोषित भए ।
त्यस्तै, पोखराका हरिओम जोशी २५ हजार रुपैयाँसहित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने भने काठमाडौंका सन्तोष रोकाया १० हजार रुपैयाँसहित ‘इमर्जिङ प्लेयर’ घोषित भए ।
प्रतिक्रिया 4