Comments Add Comment

प्याराग्लाइडिङ पर्यटकको फेवातालमा दुःखद अन्त्य

१९ फागुन, पोखरा । फेब्रुअरी २३ मा ९ जना साथीसहित नेपाल आएका रोमानियाका एड सिजरको मुख्य उद्देश्य थियो प्याराग्लाइडिङ गर्ने । ४२ वर्षीय सिजरले विगतमा साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे ।

स्काई प्याराग्लाइडिङबाट फेब्रअरी २५ देखि ११ मार्चसम्म सराङकोट डाँडाबाट पोखरा बजार नियाल्न सिजरको टोलीले सोलो पर्मिट लियो । सोलो पर्मिटमा प्याराग्लाइडिङ आफैं उडाउन पाइने सुविधा हुन्छ, सिजर त्यही फाइदाको मजा लिदै थिए उनी ।

आकाशबाट पोखरा र आसपासका सुन्दर दृश्य नियाल्दै, प्याराग्लाइडिङमा भुर्रर उड्दै फेवाताल किनार खपौंदीमा र्झन आइपुग्थे । तर, मार्च ३ उनको लागि दूर्भाग्यपूर्ण रहृयो । बिहान करिब ११ बजे सराङकोटबाट भुइँ छोडेका उनी ११ बजेर १७ मिनेटमा प्याराग्लाइडिङसहित फेवातालमा खसे ।

टाढाबाट फेवाताल र वरपरको गुल्जार क्षेत्रमा रमाउन आइपुगेका पर्यटकले सिजर खसेको प्रत्यक्ष देखेर आत्तिंदै प्रहरीको १०० मा फोन गरे । प्रहरीलाई खबरको गरेको १० मिनेटसम्ममा पनि त्यहाँ उद्दार टोली पुगेन ।

बरु फेवाघाटमै डुंगा व्यवसाय गरिरहेका ब्रजेश कसजु श्रेष्ठको ५ जनाको टोली हाते डुंगा छिटोछिटो खियाउँदै घटनास्थल पुग्यो । उनीहरुले नै उद्दार गरे र आफ्नै ढुंगामा सिजरलाई घाटसम्म ल्याइपुर्‍याए ।

‘आधिकारिक उद्दार टोली त हामी पुगेको ५ मिनेट पछि पुग्यो,’ श्रेष्ठले भने, ‘हामीसँग मोटर डुंगा थिएन । नत्र बचाउन पनि सक्थ्यौं ।’ उद्दार टोलीले प्रहरीको भ्यानमा राखेर तुरुन्त पोखराकै मेट्रो सिटी अस्पतालमा पुर्‍यायो, तर अस्पतालले मृत घोषणा गर्‍यो ।

अस्पतालको आईसीयू विभागमा कार्यरत डा. गोविन्द पाण्डेले उनको पहिल्यै मृत्यु भइसकेको जानकारी दिए । उनीसँग आएका अन्य साथीले रोमानिया दूताबासमा सम्पर्क गर्न खोजिरहेका थिए । तर, सम्पर्क हुन सकिरहेको थिएन ।

मृतक प्याराग्लाइडरको पोस्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरीका अनुसार जमीनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सिजर फेवातालमा खसेका हुन् । जिल्ला प्रहरी कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment