+
+
Shares

उदयपुरको बोप्ताङ : नयाँ प्याराग्लाइडिङ ‘हब’को सम्भावना

विदेशीसमेत प्रशिक्षण लिन आउँदै

उचित पूर्वाधार, स्पष्ट सरकारी नीति र व्यवसायिक उडानको अनुमति प्राप्त भए बोप्ताङ प्याराग्लाइडिङ सिकाइ केन्द्रमा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहसिक पर्यटनको नयाँ गन्तव्य बन्नसक्ने जानकारहरु बताउँछन् ।

ईश्वर थापा ईश्वर थापा
२०८३ जेठ १४ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको बोप्ताङ डाँडा पूर्वी नेपालकै आकर्षक प्याराग्लाइडिङ सिकाइ केन्द्रका रूपमा विकास भएसँगै स्वदेशी तथा विदेशी प्रशिक्षार्थीको रोजाइमा परेको छ ।
  • उदयपुरमा सञ्चालित प्याराग्लाइडिङ स्कुलबाट तीन वर्षमा ६० जना विदेशीसहित १ सय ५० भन्दा बढी व्यक्तिले आधारभूत तालिम लिइसकेका छन् ।
  • व्यावसायिक उडानको अनुमति र आवश्यक पूर्वाधार अभावका बीच हाल उदयपुरमा दुई महिलासहित १८ जना सोलो पाइलटहरू सक्रिय रहेका छन् ।

१४ जेठ, धनकुटा । बिहानको कुहिरो हट्दै जाँदा सप्तकोशीमाथिको आकाश खुल्छ । त्यससँगै उदयपुरको बेलका नगरपालिका–८ स्थित बोप्ताङ डाँडामा रंगीन प्याराग्लाइडिङ उडाउने तयारी सुरु हुन्छ । प्रशिक्षकको निर्देशन सुन्दै केही युवा उडानका लागि तयार भइरहेका हुन्छन् । केही क्षणमै उनीहरू आकाशमा पुग्छन् र तल फैलिएको हरियाली जंगल, चुरे क्षेत्र र परसम्म बगिरहेको सप्तकोशी नदीको दृश्यले रोमाञ्चित हुन्छन् ।

केही वर्षअघिसम्म सामान्य ग्रामीण डाँडाका रूपमा चिनिने बोप्ताङ अहिले भने पूर्वी नेपालमै प्याराग्लाइडिङ सिकाइ केन्द्रका रूपमा परिचित बन्दै गएको छ । यहाँ सञ्चालनमा रहेको ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालि’ले आधारभूत प्याराग्लाइडिङ पाइलट तालिम सञ्चालन गर्न थालेपछि नेपालका विभिन्न जिल्लासँगै विदेशबाट समेत प्रशिक्षार्थी आउन थालेका छन् ।

साहसिक पर्यटनप्रतिको विश्वव्यापी आकर्षण बढिरहेका बेला उदयपुरमा पनि त्यसको प्रभाव देखिन थालेको छ । विशेषगरी युवापुस्ताले नयाँ सम्भावना खोजिरहेका समयमा बोप्ताङले साहसिक खेलमार्फत पर्यटन र रोजगारी दुवैको ढोका खोल्ने संकेत दिएको छ ।

बोप्ताङको मुख्य आकर्षण भनेकै यहाँबाट देखिने सुन्दर प्राकृतिक दृश्य हो । प्याराग्लाइडिङ उडानका क्रममा तल फैलिएको सप्तकोशीको विशाल बहाव, चुरे क्षेत्रका हरिया डाँडा, खेतबारी र बस्तीहरूले छुट्टै आनन्द दिन्छन् । बराहक्षेत्र, चतरा धामलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि आकाशबाट अवलोकन गर्न सकिने भएकाले पनि यहाँको उडान अनुभव फरक मानिन्छ ।

साहसिक अनुभवसँगै प्राकृतिक दृश्यावलोकन गर्न चाहनेका लागि बोप्ताङ आकर्षक गन्तव्य बन्न थालेको छ ।

विदेशी प्रशिक्षार्थीको आकर्षण

फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुलका सञ्चालक तथा प्रशिक्षक सुरेन गुरुङका अनुसार बोप्ताङमा अहिले नेपालका विभिन्न जिल्लाबाट मात्रै होइन, भारत, चीन र युरोपका विभिन्न देशबाट पनि प्रशिक्षार्थी आउने गरेका छन् । ‘स्पेन, फ्रान्स, जर्मनी, पोल्यान्ड, पोर्चुगलजस्ता देशबाट समेत सिक्न आउने गरेका छन्,’ गुरुङ भन्छन्, ‘यहाँको भूगोल, मौसम र हावाको अवस्था प्रशिक्षणका लागि निकै उपयुक्त छ ।’

तीन वर्षअघि स्थापना भएको स्कुलबाट हालसम्म १ सय ५० भन्दा बढीले तालिम लिइसकेका छन् । तीमध्ये करिब ६० जना विदेशी नागरिक छन् । स्कुलले एक पटकमा पाँच जनालाई १५ दिने आधारभूत तालिम प्रदान गर्दै आएको छ ।

तालिमका क्रममा प्रशिक्षार्थीलाई उडानका आधारभूत सीप, हावाको दिशा पहिचान गर्ने तरिका, टेकअफ र ल्याण्डिङ प्रविधि, आकस्मिक अवस्थासम्बन्धी सुरक्षा अभ्यास तथा उपकरण प्रयोगबारे प्रशिक्षण दिइन्छ । ‘प्याराग्लाइडिङ केवल रमाइलोका लागि गरिने खेल मात्र होइन,’ गुरुङ भन्छन्, ‘यसमा अनुशासन, धैर्य र प्राविधिक ज्ञान आवश्यक हुन्छ ।’

महँगो भए पनि बढ्दो आकर्षण

प्याराग्लाइडिङ सिक्न खर्च पनि कम लाग्दैन । नेपाली प्रशिक्षार्थीका लागि खाना, बसोबास, बीमा र आवश्यक उपकरणसहित करिब एक लाख ८० हजार रुपैयाँ शुल्क लाग्छ । विदेशी प्रशिक्षार्थीले भने १५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

यति खर्चिलो भए पनि पछिल्लो समय युवाहरूको आकर्षण भने बढ्दै गएको प्रशिक्षक गुरुङ बताउँछन् । ‘उदयपुरकै युवायुवतीले पनि निकै चासो देखाइरहेका छन्,’ उनी भन्छन्, ‘भर्नाका लागि पालो कुरेर बस्ने अवस्था छ ।’

हाल स्कुलले प्रशिक्षणमात्र सञ्चालन गरिरहेको छ । व्यवसायिक ‘ट्यान्डम फ्लाइट’ अर्थात् पर्यटकलाई प्रशिक्षकसँगै उडाउने सेवा भने सुरु हुन सकेको छैन । त्यसका लागि सरकारी अनुमति आवश्यक पर्ने गुरुङ बताउँछन् ।

‘यदि सरकारले व्यवसायिक उडानको अनुमति र आवश्यक पूर्वाधारमा सहयोग गरिदियो भने बोप्ताङ पूर्वी नेपालकै प्रमुख प्याराग्लाइडिङ गन्तव्य बन्न सक्छ,’ उनले भने ।

उनका अनुसार उदयपुरका चौदण्डीगढी दरबार क्षेत्र, गढीकोट, रौतापोखरी डाँडा र उदयपुरगढी क्षेत्रमा गरिएको परीक्षण उडानसमेत सफल भइसकेको छ ।

स्थानीय सरकारप्रति अपेक्षा

२०७४ सालको स्थानीय तह निर्वाचनपछि विभिन्न स्थानीय तहका प्रमुखहरूले प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । त्यतिबेला यसलाई उदयपुरको पर्यटन विकाससँग जोडेर ठूलो सम्भावनाका रूपमा हेरिएको थियो । तर त्यसयता व्यवसायिक विकासका लागि अपेक्षित पहल हुन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ उदयपुरका अध्यक्ष तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरका महासचिव इश्वरमान राई निजी क्षेत्रले प्रयास गरिरहे पनि स्थानीय सरकारको सक्रियता अझै पर्याप्त नभएको बताउँछन् ।

उनका अनुसार गाईघाट क्षेत्रमा समेत परीक्षण उडान गरिएको थियो । तर वन क्षेत्र र अग्ला रुखका कारण नियमित सञ्चालनमा समस्या भएको छ । ‘यदि स्थानीय सरकारले वन क्षेत्र व्यवस्थापन र आवश्यक अनुमति प्रक्रियामा सहजीकरण गरिदियो भने अझ धेरै सम्भावना खुल्न सक्छ,’ राई भन्छन् ।

पूर्वाधार र नीतिगत चुनौती

प्याराग्लाइडिङ सञ्चालनका लागि सुरक्षित टेकअफ र ल्याण्डिङ क्षेत्र सबैभन्दा महत्वपूर्ण मानिन्छ । तर उदयपुरमा त्यस्ता पूर्वाधार पर्याप्त छैनन् । महाभारत क्षेत्रबाट चुरे र भित्री मधेशतर्फ फैलिएका फाँटहरू उडानका लागि उपयुक्त मानिए पनि धेरै स्थान वन क्षेत्र वा निजी जग्गामा पर्ने भएकाले प्रक्रिया जटिल बनेको छ ।

सोलो पाइलट जितेन्द्र रोइलाका अनुसार उदयपुरमा प्राकृतिक सम्भावना अत्यन्त राम्रो भए पनि सरकारी नीति स्पष्ट नहुनु ठूलो चुनौती हो । ‘यहाँको पहाडी भूगोल, मौसम र प्राकृतिक दृश्य प्याराग्लाइडिङका लागि उपयुक्त छन्,’ उनी भन्छन्, ‘तर पूर्वाधार र सरकारी नीतिमा स्पष्टता नहुँदा लगानीकर्ता अन्योलमा छन् ।’

प्याराग्लाइडिङ क्षेत्रका जानकार महेन्द्र राईका अनुसार कटारी नगरपालिकाले दुई लाख, त्रियुगा नगरपालिकाले पाँच लाख, चौदण्डीगढी नगरपालिकाले एक लाख तथा बेलका नगरपालिकाले १८ लाख रुपैयाँ लगानी गरेका छन् । तर दीर्घकालीन र व्यवस्थित योजना अझै आवश्यक रहेको उनी बताउँछन् ।

हाल उदयपुरमा दुई महिला र १६ पुरुष गरी १८ जना सोलो पाइलट सक्रिय छन् ।

पर्यटनसँगै रोजगारीको सम्भावना

व्यवसायिक उडान सुरु हुन सके प्याराग्लाइडिङले पर्यटन प्रवर्द्धन मात्र होइन, स्थानीय स्तरमा रोजगारी सिर्जनामा पनि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । होटल, यातायात, गाइड, खाद्यान्न, फोटो तथा भिडियो सेवाजस्ता क्षेत्रसमेत चलायमान बन्न सक्ने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

नेपालमा पोखरा प्याराग्लाइडिङको मुख्य केन्द्रका रूपमा स्थापित भइसकेको छ । तर पछिल्लो समय पूर्वी नेपालमा पनि नयाँ गन्तव्य खोज्ने प्रयास भइरहेका छन् । तीमध्ये बोप्ताङ अहिले सबैभन्दा सम्भावनायुक्त स्थानका रूपमा अगाडि देखिन थालेको छ ।

उचित पूर्वाधार, स्पष्ट सरकारी नीति र व्यवसायिक उडानको अनुमति प्राप्त भए बोप्ताङ प्याराग्लाइडिङ सिकाइ केन्द्रमा मात्र सीमित नरही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहसिक पर्यटनको नयाँ गन्तव्य बन्न सक्ने देखिन्छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?