Comments Add Comment

क्रिकेट रंगशाला निर्माणस्थलमा जुटे धुर्मुस

२० माघ, चितवन । भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो ।

अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । २० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाइने छ । यसका लागि दिनहुँजसो मिस्त्री र कामदारहरू जुटिरहेका छन् ।

आइतबार मध्यान्न फलामको पोल गाडिरहेको ठाँउमा सिताराम कट्टेल (धुर्मुस) आफैं सिमेन्टको मसला बोक्दै गरेको देखिए । मसला बोक्नेदेखि फलामका रड काट्न समेत उनी सघाइरहेका थिए । निरीक्षणका लागि पुगेका कट्टेल कामदारलाई हौस्याउन यसरी खटिएका थिए । केहीबेर कामदारसँगै मिसिएर उनले परिश्रम गरे ।

उनले निर्माण प्रगतिबारे जानकारी लिए । यस क्रममा केही स्थानीयबाट उनी घेरिए । स्थानीयमा बेग्लै उत्साह छ । तन, मन र धनले सहयोग गर्ने वचन दिएका छन् । त्यसबाट कट्टेल उत्साही छन् । परियोजनाबाट सबैभन्दा बढी लाभ यहीका जनताले उठाउने भन्दै कट्टेलले स्थानीयलाई ढाडस पनि दिए ।

स्थानीयले सके आर्थिक, नसके श्रमदान गर्न सक्ने भन्दै कट्टेलले भने, ‘अब म तपाईंहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो, सधैं मलाई यहीँ देख्नुहुन्छ ।’

भरतपुर महानगरपालिका-१६ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ । रंगशाला निर्माणमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस स्थापना गरिएको छ ।

अहिले रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको छ । यो काम ६ महिनाअघि सकिने कट्टेलले जानकारी दिए । निर्माणस्थलमै आएर कतिपय संघसंस्थाले श्रमदान गर्न थालेका छन् । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ । ‘हामीले सार्वजनिक रुपमा आहृवान नै गरेका छैनौं,’ पत्रकारसँग भरतपुरमा कुराकानी गरेका कट्टेलले भने, ‘पहिला परियोजना कस्तो बन्ने, के बन्ने भनेर सबैलाई बुझाउन बाँकी नै छ ।’

तीन अर्ब रुपैयाँ एकजना व्यक्तिका लागि ठूलो भए पनि सबै नेपालीका लागि ठूलो नभएकाले जनताको तहबाट पूरा सहयोग हुने विश्वासमा आफू रहेको उनले बताए । रकम जुटाउन सकिन्छ भन्नेमा उनी आत्मविश्वासी देखिन्छन् । ‘रंगशाला विश्वकै नमूना र नेपाली मौंलिकता झल्काउने खालको हुनेछ,’ कट्टेलले भने, ‘रकम जुट्यो, प्रकृति र परिस्थितिले साथ दियो भने तोकिएको समयअघि नै रंगशाला बन्छ । कसरी काम गर्नुपर्दछ हामीलाई थाहा छ ।’

रंगशाला निर्माण सहयोगार्थ मलेसियामा कार्यक्रम सम्पन्न भइसकेको छ भने आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको जानकारी उनले दिए ।

यो पनि हेर्नुहोस्

यस्तो बन्नेछ धुर्मुस सुन्तलीले बनाउने क्रिकेट रंगशाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment