News Summary
Generated by OK AI. Editorially reviewed.- विशेषज्ञहरूले भनेका छन् कि सनस्क्रीनले छाला क्यान्सरबाट सुरक्षा दिन्छ र दैनिक प्रयोगले भिटामिन डी स्तरमा उल्लेखनीय कमी ल्याउँदैन।
- घाममा बिहान १० देखि ३ बजेभित्र १०–२० मिनेट हात, अनुहार र खुट्टा खुला राखेर घाम लिन सकिन्छ र त्यसपछि सनस्क्रीन लगाउनुपर्छ।
घामबाट छालामा हुने क्षतिबाट बच्न हामी सनस्क्रीनको प्रयोग गर्छौं । धेरैलाई चिन्ता लाग्छ कि यसले शरीरमा भिटामिन डी उत्पादन रोक्छ र हड्डी कमजोर बनाउँछ । के यो चिन्ता वैज्ञानिक रूपमा पूर्ण सत्य हो ? वा यो आंशिक मिथ मात्र हो ?
विशेषज्ञ र हालका अध्ययनहरूका अनुसार सनस्क्रीनले छाला क्यान्सरबाट बलियो सुरक्षा दिन्छ र दैनिक सामान्य प्रयोगले भिटामिन डीको स्तरमा उल्लेखनीय कमी ल्याउँदैन । तर नेपालजस्तो देशमा जहाँ घाम प्रशस्त छ तर पनि भिटामिन डीको कमी ४०–७० प्रतिशत मानिसमा देखिन्छ, सही सन्तुलन कायम गर्नु अत्यन्त जरुरी छ ।
हड्डीका लागि भिटामिन डी
भिटामिन डी शरीरका लागि अत्यन्त आवश्यक पोषक तत्व हो । यो हड्डी र दाँतको स्वास्थ्यलाई मजबुत बनाउने मुख्य तत्व हो, जसले क्याल्सियम र फस्फोरसको अवशोषण बढाउँछ र अस्थिपोरसिस जस्ता समस्याबाट बचाउँछ ।
यसबाहेक भिटामिन डीले रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछ, संक्रमणबाट बचाउँछ, मांसपेशी दुखाइ र थकान कम गर्छ तथा मस्तिष्क स्वास्थ्य र मुड सुधारमा पनि मद्दत गर्छ ।
जब छाला सूर्यको यूभीबी किरणसँग सम्पर्कमा आउँछ, छालामा रहेको ७–डिहाइड्रोकोलेस्ट्रोल नामक पदार्थले भिटामिन डी३ को उत्पादन गर्छ, जुन शरीरले सक्रिय रूपमा प्रयोग गर्न सक्छ । नेपालमा महिलाहरू, घरभित्र बढी बस्ने व्यक्ति र प्रदूषणयुक्त शहरहरूमा बस्नेहरूमा यो कमी बढी देखिन्छ।
भिटामिन डीले क्यान्सरबाट बचाउँछ कि भन्ने विषयमा अध्ययनहरू मिश्रित छन् । केही अध्ययनहरूले भिटामिन डीले यूभी किरणबाट डीएनए क्षतिलाई मर्मत गर्न मद्दत गरी नन–मेलानोमा छाला क्यान्सर बेसल सेल कार्सिनोमा र स्क्वामस सेल कार्सिनोमाको जोखिम कम गर्न सक्ने देखाएका छन् ।
बेसल सेल कार्सिनोमा छाला क्यान्सरको सबैभन्दा सामान्य प्रकार हो भने मेलानोमा सबैभन्दा खतरनाक । तर भिटामिन डीले क्यान्सरबाट पूर्ण बचाउ गर्छ भन्ने कुरा अझै पूर्ण प्रमाणित छैन र थप अनुसन्धान आवश्यक छ । केही अध्ययनहरूले उच्च भिटामिन डी स्तरलाई छाला क्यान्सरसँग जोडेर देखाए पनि यो मुख्य रूपमा घामको सम्पर्कसँग सम्बन्धित हुन सक्छ ।
सनस्क्रीन र भिटामिन डीबीचको सम्बन्ध
सनस्क्रीन र भिटामिन डीबीचको सम्बन्धलाई बुझ्दा दुई पक्ष स्पष्ट हुन्छन् । जब छाला घाममा आउँछ, भिटामिन डी उत्पादन हुन्छ । सनस्क्रीनले यूभीबी किरणहरूलाई रोक्छ, जसले भिटामिन डी उत्पादनमा केही प्रभाव पार्न सक्छ । प्रयोगशाला परीक्षणमा पूर्ण रूपमा लगाएमा भिटामिन डी उत्पादन रोकिन सक्छ । तर वास्तविक जीवनमा फिल्ड ट्रायल र अवलोकन अध्ययन यसको प्रभाव न्यून देखिएको छ । धेरै अध्ययनहरूले देखाएका छन् कि दैनिक सामान्य प्रयोगले भिटामिन डी स्तरमा उल्लेखनीय कमी ल्याउँदैन ।
किनकि मानिसहरूले सनस्क्रीन पूर्ण रूपमा वा हरेक पटक सही तरिकाले लगाउँदैनन् र केही यूभीबी किरण छालासम्म पुग्छ । हालका केही अध्ययनले दैनिक उच्च एसपीएफ प्रयोगले कमीको जोखिम अलिक बढाउन सक्ने देखाए पनि विज्ञहरू सनस्क्रीन छोडेर घाममा बस्नु छाला क्यान्सरको जोखिम बढाउने मुख्य हुनेमा जोड दिन्छन् ।
नेपालमा भिटामिन डीको कमी किन यति धेरै छ ?
घाम प्रशस्त भए पनि अध्ययनहरूले ४२–७० प्रतिशतसम्म मानिसमा कमी देखाएका छन् । मुख्य कारणहरूमा घरभित्र बस्ने आधुनिक जीवनशैली, लुगा र स्कार्फले शरीर ढाक्ने बानी आदि पर्छन् । त्यसैगरी वायु प्रदूषणले यूभीबी किरण घटाउने, माछा–अण्डा–दूध जस्ता खानेकुरा कम खाने कारणहरू पनि छन् । पहाडी तथा हिमाली क्षेत्रमा यो समस्या अझ बढी छ ।
शरीरमा भिटामिन डीको कमी पूरा गर्न घामबाहेक अन्य विकल्पहरू पनि पर्याप्त छन् । छोटो समयको सुरक्षित घामले धेरै मद्दत गर्छ । नेपालमा बिहान १० देखि ३ बजेभित्र १०–२० मिनेट हात, अनुहार र खुट्टा खुला राखेर घाम लिन सकिन्छ । घाम लिइसकेपछि सनस्क्रीन लगाउनु राम्रो हुन्छ।
खानेकुराबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । माछा, अण्डाको पहेँलो भाग, घाममा सुकाएको च्याउ, दूध, दही र फोर्टिफाइड खानेकुरा । नेपालमा सजिलै उपलब्ध हुन्छन् । यी खानेकुरा हप्तामा २–३ पटक खाँदा भिटामीन डी पूर्ति हुन्छ । यदि कमी धेरै छ भने डाक्टरको सल्लाहमा सप्लिमेन्ट लिन सकिन्छ । रगत जाँच गरेर मात्र सप्लिमेन्ट सुरु गर्नुपर्छ ।
ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू
घाममा निस्किँदा एसपीएफ ३० वा बढी भएको सनस्क्रीन लगाउनुपर्छ र हरेक २ घण्टामा दोहोर्याउनुपर्छ । लुगा, टोपी, छाता र छायाँको प्रयोगले छाला क्यान्सरबाट बचाउँछ ।
छोटो समय १०–२० मिनेट बिहानको घाम लिन सकिन्छ तर दिउँसो ११–३ बजेसम्म लामो समय घाममा बस्न हुँदैन । विशेष गरी महिला, वृद्धावृद्धा र घरभित्र बस्नेहरूले भिटामिन डीको स्तर जाँच गर्न नियमित डाक्टरसँग परामर्श लिनुपर्छ ।
प्रतिक्रिया 4