+
+
Shares

एप्पल विरुद्ध युट्युब क्रिएटरले हाले मुद्दा, एआईका लागि भिडियो चोरेको आरोप

युट्युबका भिडियो प्रयोग गरेर विकसित गरिएका एप्पलका एआई प्रडक्टहरूमा प्रतिबन्ध लगाउन उनीहरूले अदालतसँग माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ११:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तीनजना चर्चित युट्युब क्रिएटरहरूले एप्पलविरुद्ध क्यालिफोर्नियाको अदालतमा कपीराइट उल्लङ्घन मुद्दा दायर गरेका छन्।

दिग्गज प्रविधि कम्पनी एप्पलविरुद्ध तीनजना चर्चित युट्युब क्रिएटरहरूले मुद्दा दायर गरेका छन् । युट्युबको सेक्युरिटी सिस्टम उल्लंघन गरेर त्यहाँ रहेका लाखौँ भिडियो प्रयोग गरी एप्पलले आफ्नो एआई टुललाई तालिम दिएको आरोप क्रिएटरहरूको छ।

युट्युब क्रिएटरहरू टेड इन्टरटेन्मेन्ट, म्याट फिसर र गल्फहोलिकले क्यालिफोर्नियाको अदालतमा एप्पलविरुद्ध कपीराइट कानुनको उल्लङ्घन गरेको अभियोगमा मुद्दा हालेका हुन् ।

एप्पलले आफ्नो जेनरेटिभ एआई मोडेललाई प्रशिक्षण दिनका लागि युट्युबका भिडियोको प्रयोग गरिरहेको उनीहरूको दाबी छ ।

मुद्दा दायर गर्ने क्रिएटरहरूका अनुसार एप्पलले युट्युबका प्राविधिक सुरक्षा उपायहरू (टिपिएम) हरूलाई बाइपास गर्दै पान्डा-७० एम नामक डेटासेटमार्फत ३० लाखभन्दा बढी भिडियो क्लिपहरू अवैध रूपमा प्रयोग गरेको हो । उनीहरूले युट्युब सामाग्रीको यस्तो अवैधानिक प्रयोग गर्ने एप्पललाई क्षतिपूर्ति तिराउन र आफ्ना सामाग्रीको प्रयोगमा रोक लगाउन माग गरेका छन् ।

के हो अपरेसन पाण्डा र एप्पलमाथिको आरोप ?

युट्युबले सामान्यतया भिडियो स्ट्रिमिङका लागि मात्रै मात्र अनुमति दिन्छ र त्यहाँबाट भिडियो डाउनलोड गर्न होइन । तर एप्पलले स्वचालित टुल्स प्रयोग गरी युट्युबको क्याप्चा र रेट लिमिटजस्ता सुरक्षा प्रणालीलाई छल्दै ठूलो मात्रामा डेटा संकलन गरेको आरोप उनीहरूको छ ।

एप्पलले आईपी एड्रेस परिवर्तन गर्दै र वैधानिक अनुरोधहरूको नक्कल गरेर डेटा निकालेको आरोप पनि लगाइएको छ ।  यो अमेरिकास्थित डिजिटल मिलेनियम कपिराइट ऐनको उल्लङ्घन मानिन्छ।

यो मुद्दाको केन्द्र पान्डा-७० एम नामको डेटासेट हो । यसमा करिब ३० लाख युट्युब भिडियोहरूको रेफरेन्स समावेश गरिएको बताइएको छ । आरोप अनुसार एप्पलले आफ्नो टेक्स्ट-टु-भिडियो एआई मोडेल विकास गर्न यी भिडियोहरू ठूलो मात्रामा डाउनलोड र प्रयोग गरेको थियो । एप्पलले आफ्नै एउटा अनुसन्धान पत्रमा यस डेटासेटको प्रयोग स्वीकार गरेको थियो जसलाई अहिले क्रिएटरहरूले प्रमाणका रूपमा प्रस्तुत गरेका छन् ।

मुद्दा दायर गर्ने च्यानलहरूमा एच३ एच३ प्रोडक्सन(टेड इन्टरटेनमेन्ट), मिस्टर सर्ट गेम गल्फ(म्याट फिसर) र गल्फफोलिस रहेका छन् । यी च्यानलका भिडियोहरूमा अर्बौं भ्युज र लाखौँ सब्सक्राइबर छन् । क्रिएटरहरूका अनुसार एक पटक उनीहरूका युट्युब सामाग्री एआई मोडेलमा प्रयोग भएपछि त्यसलाई फिर्ता लिन सम्भव हुँदैन । जसले गर्दा सर्जकहरूको बौद्धिक सम्पत्ति माथिको नियन्त्रण सधैंका लागि गुम्ने खतरा हुन्छ ।

त्यसैले युट्युबका भिडियो प्रयोग गरेर विकसित गरिएका एप्पलका एआई प्रडक्टहरूमा प्रतिबन्ध लगाउन उनीहरूले अदालतसँग माग गरेका छन् ।

साथै आफ्ना सामाग्रीहरूको अनधिकृत प्रयोगका लागि निर्धारित क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?