News Summary
Generated by OK AI. Editorially reviewed.- कटलफिस समुद्रको गहिराइमा बस्ने जीव हो जसले क्षणभरमै रंग, ढाँचा र शरीरको बनावट बदल्न सक्छ।
समुद्रको गहिराइमा लुकेर बस्ने अनौठो र चतुर जीवमध्ये एक हो, कटलफिस । नाममा ‘फिस’ जोडिए पनि यो वास्तवमा माछा भने होइन, बरु अक्टोपस र स्क्विडको नजिकको समुद्री जीव हो ।
यसको सबैभन्दा ठूलो विशेषता भनेको क्षणभरमै रंग, ढाँचा र शरीरको बनावट बदल्न सक्ने क्षमता हो । यही कारण यसलाई धेरैले ‘समुद्रको गिरगिट’ पनि भन्छन् ।
संसारभर १०० भन्दा बढी प्रजाति पाइने यो जीव प्रायः समुद्रको किनार नजिकको तातो वा समशीतोष्ण पानीमा भेटिन्छ । यसको आयु छोटो भए पनि जीवनशैली अत्यन्त सक्रिय, बुद्धिमान र रोमाञ्चक हुन्छ ।
१. ३ वटा मुटु
सुन्दा पनि आश्चर्य पार्ने कटलफिसको सबैभन्दा ठूलो विशेषता भनेको तीनवटा मुटु हुनु । सामान्य जीवमा एउटा मुटु हुने भए पनि यसमा तीनवटा मुटुले फरक–फरक काम गर्छन् । यही कारण यो पानीभित्र निरन्तर सक्रिय रहन, शिकार गर्न र छिटो भाग्न सक्षम हुन्छ ।

समुद्रमा यसको जीवन सधैं सचेत रहनुपर्ने हुन्छ । किनकी, यिनीहरू नजिक कहिले शिकार नजिकिन्छ, कहिले शत्रु देखिन्छ भन्ने निश्चित हुँदैन । यस्तो अवस्थामा शरीरलाई लगातार अक्सिजन र ऊर्जा चाहिन्छ । तीनवटा मुटुको यही संरचनाले यसको शरीरलाई पानीभित्र लामो समय छरितो र सक्रिय बनाइराख्छ ।
यही विशेषताले कटलफिसलाई साधारण समुद्री जीवभन्दा धेरै फरक बनाएको छ ।
२. दृष्टि निकै तेज
कटलफिसको आँखा यसको शरीरको सबैभन्दा शक्तिशाली भागमध्ये एक हो । यसको आँखाको अनौठो आकारले कम प्रकाश भएको समुद्री वातावरणमा पनि राम्रोसँग वरिपरिको हलचल थाहा पाउन मद्दत गर्छ ।
यही कारण बालुवा, ढुंगा वा समुद्री घाँसबीच लुकेर बस्दा पनि यसले वरिपरि के भइरहेको छ भन्ने छिट्टै बुझ्छ । यसको दृष्टि केवल शिकारका लागि मात्र होइन, लुक्ने कलाका लागि पनि अत्यन्त महत्वपूर्ण हुन्छ । वातावरणको प्रकाश, छायाँ र बनावट कस्तो छ भन्ने थाहा पाएपछि यसले शरीरको ढाँचा तुरुन्तै बदल्छ ।

रोचक कुरा, यसले मानिसले सजिलै नछुट्याउने प्रकाशको सानो फरक पनि महसुस गर्न सक्छ । यही तेज दृष्टिले कटलफिसलाई समुद्रको उत्कृष्ट शिकारी र लुक्ने कलाको उस्ताद बनाएको छ ।
३. समुद्री छेपारो
कटलफिसलाई समुद्री छेपारो पनि भन्ने गरिन्छ । किनकी, यसको रङ र शरीरको बनावट बदल्ने अद्भूत क्षमता हो । यो क्षणभरमै आफ्नो शरीरलाई बालुवाजस्तो, ढुंगाजस्तो, समुद्री घाँसजस्तो वा थोप्ला परेको ढाँचामा बदल्न सक्छ ।
यो क्षमता लुक्नका लागि मात्र होइन । शिकार नजिक पुग्दा चुपचाप नजिकिन, साथी आकर्षित गर्न वा प्रतिद्वन्द्वीलाई डर देखाउन पनि यसले फरक–फरक ढाँचा प्रयोग गर्छ ।
यही कारण कटलफिसको लुक्ने कला संसारकै उन्नत प्राकृतिक कलामध्ये एक मानिन्छ । मानिसले क्यामेरामा छिट्टै फिल्टर फेरेजस्तै यसले आफ्नो शरीर तुरुन्त बदल्न सक्छ ।
४. संसारभर १०० भन्दा बढी प्रजाति
कटलफिस एउटै प्रकारको जीव होइन । संसारभर यसको १००–१२० भन्दा बढी प्रजाति पाइन्छन् । केही प्रजाति निकै साना, २–३ इन्चका हुन्छन् भने ठूलो अस्ट्रेलियन कटलफिस आधा मिटरभन्दा लामो र १० किलोभन्दा बढी हुन सक्छ ।
युरोप, एसिया, अफ्रिका र अस्ट्रेलिया आसपासका समुद्रमा यसको धेरै प्रजाति भेटिन्छन् । धेरैजसो किनार नजिकको तातो वा समशीतोष्ण पानीमा बस्छन् । केही दिनमा बढी सक्रिय हुन्छन् भने केही राति शिकार खोज्न निस्किन्छन् ।
यति धेरै विविधताले कटलफिसलाई समुद्री संसारको निकै रोचक समूह बनाएको छ ।
५. ८ हात र २ लामा अंग
कटलफिसका ८ वटा हात र २ वटा लामो समात्ने अंग हुन्छन् । यी दुई लामो अंग मुख्य रूपमा शिकार समात्न प्रयोग हुन्छन् । सामान्य अवस्थामा भित्र लुकेका जस्ता देखिन्छन्, तर शिकार देख्नेबित्तिकै एक्कासी अगाडि निस्किन्छन् ।
शिकार समातिसकेपछि ८ वटा हातले त्यसलाई मजबुत समातेर मुखतिर ल्याउँछन् । त्यसपछि मुखले केकडा, झिँगा, सानो माछा वा खोल भएका जीवलाई पनि सजिलै खान सक्छ ।

यसको शिकार गर्ने शैली निकै रोचक छ । आँखा, दूरी र सही समय मिलाएर शिकारतिर फुत्त पुग्ने क्षमता यसलाई समुद्रको चतुर घातक शिकारी बनाउँछ ।
६. आयु छोटो
यति बुद्धिमान र अनौठो जीव भए पनि कटलफिसको आयु सामान्यतया १ देखि २ वर्ष मात्रै हुन्छ । छोटो आयु भए पनि यसले जीवनको हरेक चरण निकै तीव्र गतिमा पूरा गर्छ ।
जन्मिएपछि छिट्टै बढ्ने, शिकार सिक्ने, रंग बदल्ने कला सिक्ने, साथी खोज्ने र अण्डा राख्ने सबै काम यही छोटो अवधिमा हुन्छ । यही छोटो तर अत्यन्त सक्रिय जीवनशैलीले यसलाई समुद्री जीवविज्ञानमा ‘छोटो जीवन, तीव्र गतिविधि’ को उत्कृष्ट उदाहरण बनाएको छ ।
७. पानीमा निकै सुन्दर ढंगले सर्छ
कटलफिसको चाल हेर्दा निकै सुन्दर र लचकदार देखिन्छ । यसको शरीरको छेउमा रहेको पखेटाजस्तो भाग लहरिँदै चल्दा यो पानीमा बिस्तारै तैरिएको जस्तो देखिन्छ । तर खतरा महसुस भयो भने यसको गति एक्कासी बदलिन्छ । यसले शरीरभित्र पानी सोसेर बलपूर्वक बाहिर फाल्छ र त्यसकै सहायताले एकैछिनमा फुत्त अगाडि वा पछाडि निस्किन्छ ।
८. शरीरभित्र सन्तुलन मिलाउने विशेष कडा भाग
कटलफिसको शरीरभित्र हल्का र कडा विशेष हड्डीजस्तो भाग हुन्छ । यही भागले पानीमा यसको सन्तुलन मिलाउँछ । यसका कारण धेरै ऊर्जा खर्च नगरी पानीको एउटै तहमा स्थिर रहन सजिलो हुन्छ । शिकारको प्रतीक्षा गर्दा वा लुकेर बस्दा यही विशेषता निकै उपयोगी हुन्छ ।
किनारामा कहिलेकाहीँ भेटिने सेतो हल्का हड्डीजस्तो वस्तु यही कटलफिसको शरीरभित्रको भाग हो ।

९. खतरा पर्दा कालो मसी छोड्छ
कटलफिसको आत्मरक्षाको सबैभन्दा चर्चित हतियार हो, यसको कालो मसी । खतरा महसुस हुनासाथ यसले पानीमा कालो बादलजस्तो पदार्थ छोड्छ । यसले शत्रुलाई अलमल्याउँछ र त्यही मौका छोपी कटलफिस भाग्छ ।
कहिलेकाहीँ यो मसीले कटलफिसकै आकारजस्तो झुटो आकृति पनि बनाउँछ, जसले शत्रुलाई झन् बढी भ्रमित पार्छ । यो निकै चतुर बच्ने तरिका हो, जसले यसलाई समुद्रको चलाख जीव बनाउँछ ।
१०. प्रकाशको फरक राम्रोसँग महसुस गर्छ
कटलफिसले रङ नदेखे पनि प्रकाशको दिशा, छायाँ र सानो फरक अत्यन्त राम्रोसँग महसुस गर्छ । यही कारण वरिपरिको सतह, बालुवा, ढुंगा वा समुद्री घाँस कस्तो छ भन्ने छिट्टै थाहा पाउँछ ।
यही क्षमताले यसको लुक्ने कलालाई लगभग पूर्ण बनाउँछ । कुन ठाउँमा कुन ढाँचा वा बनावट बनाउने भन्ने निर्णय यसले प्रकाशको यही सूक्ष्म फरकबाट गर्छ ।
मानिसले छुट्याउन नसक्ने हल्का चमक वा प्रकाशको कोणको फरक पनि यसले महसुस गर्न सक्छ भन्ने तथ्यले यसको इन्द्रीय संसार कति उन्नत छ भन्ने देखाउँछ ।

प्रतिक्रिया 4