News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको कार्यकालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परे।
- गृहमन्त्री सुधन गुरुङले फेसबुकमा भीआईपी पक्राउको गणना गर्दै सार्वजनिक गरेका थिए र तीमध्ये पाँच जना छुटेका छन् ।
२६ चैत, काठमाडौं । बालेन शाह (बालेन्द्र) प्रधानमन्त्री भएलगत्तै हाइप्रोफाइल व्यक्तिहरू धमाधम पक्राउ परे । सुरुमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परे । उनीहरू जेनजी आन्दोलनमा दमन गरेको घटनामा पक्राउ परे । सरकार गठन भएको भोलिपल्ट १४ चैतमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
भीआईपी पक्राउ पर्न थालेपछि गृहमन्त्री सुधन गुरुङ आफैंले त्यसबारे जानकारी दिंदै फेसबुकमा स्टाटससमेत लेख्ने गरेका थिए । कतिसम्म भने किन पक्राउ परे भन्नेसम्मको जानकारी दिँदै उनले पक्राउ पुर्जीसमेत सार्वजनिक गर्थे ।
त्यतिमात्रै होइन, फेसबुकमै काउन्ट (गणना) गर्दै अंकसमेत लेख्ने गर्थे । गृहमन्त्री गुरुङले काउन्ट गरेकामध्ये पाँच भीआईपी भने छुटेका छन् । ओली आज बिहीबार बिहान छुटेका छन् । लेखक पनि आजै छुटेका छन् भने यसभन्दा अघि तीन भीआईपी रिहा भइसकेका छन् ।
१७ चैतमा मत्रै काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा छुटे ।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । तर, उनी पक्राउ परेकै दिन रिहा भए ।
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा पनि छुटिन् ।
१५ चैतकै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी थिइन् । उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो ।
६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । त्यसपछि उनको उद्धार भएको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।
नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । तर, सांसद शर्माविरुद्ध भने मुद्दा चलेको थिएन । १५ चैतमा पक्राउ परेकी उनी २२ चैतमा छुटिन् ।
महान्यायाधिवक्ताको कार्यालयले १६ जेठ २०८२ मा शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । पहिल्यै निर्णय भइसकेको विषयमा पुन: प्रतिवादीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्ने अवस्था नदेखिएको भन्दै काठमाडौं जिल्ला अदालतले हिरासत मुक्त गर्न आदेश दिएपछि उनी छुटिन् ।
पक्राउ परेका अर्का उच्चपदस्थ शंकर अग्रवाल पनि रिहा भए । सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो । बयानको काम सकिएको भन्दै उनी २२ चैतमा रिहा भए ।
प्रतिक्रिया 4