१६ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)लाई प्रधानमन्त्रीले फुली लगाइदिने व्यवस्था बनाउन पहल गर्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । अहिले भने आईजीपीलाई गृहसचिवले फुली लगाउने चलन छ । यसअघि भने अवकाशमा जाँदै गरेका आईजीपीले आउने आईजीपीलाई फुली लगाउने प्रचलन थियो ।
त्यस्तैगरी मन्त्री गुरुङले प्रहरी पोशाक नेपालमै उत्पादन गर्ने र स्तरीय पनि बनाइने पनि बताएका छन् । गृहमन्त्री गुरुङले आफ्ना समस्या राख्न सधै खुला रहेको बताएका छन् ।
गृहमन्त्रीको हैसियतमा आफू र रास्वपा पार्टीबाट प्रहरीमा कुनै दबाब, प्रभाव नहुने बताए । संठनलाई बलियो बनाउन आफू भरपुर लाग्ने उनले बताए । आईजीपीलाई थप शक्तिशाली बनाइने पनि उनको बताए ।
सेवा प्रवाह राम्रो गर्न निर्देशन दिँदै मन्त्री गुरुङले कुनै पनि मन्त्रीलाई ट्राफिक सेवामा प्राथमिकता नदिन पनि निर्देशन दिएका छन् ।
गृहमन्त्री गुरूङलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलगायत उच्च प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर र पोलीग्राफ सेक्सनको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।
विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्रहरीलाई थप साधनस्रोत युक्त बनाउनुका साथै समयानुकुल आवश्यक तालिमहरूको समेत व्यवस्था गरिने उल्लेख गरे ।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरीले विभिन्न कठिनाइहरूका बाबजुद प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ऐतिहासिक रूपमा शान्तिपूर्ण तवरले सम्पन्न गराउन प्रत्येक प्रहरी कर्मचारीले निर्वाह गरेको व्यावसायिक भूमिकाको उच्च सम्मान गरे ।
प्रतिक्रिया 4