News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।
- कप्तान विनोद भण्डारीले ७५ बलमा १०० रन बनाए भने बसिर अहमदले ९.१ ओभरमा ५ विकेट लिए ।
- आर्मीले ७ खेलमा १३ अंक जोडेर शीर्षस्थानमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा छ ।
२६ चैत, काठमाडौं । बलिङमा बसिर अहमदको ५ विकेट तथा ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक बनाएपछि त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ ।
बिहीबार जनकपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । सुदूरले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
कप्तान विनोदले ७५ बलमा १०० रनको शानदार इनिङ खेले । पीएम कपमा विनोदको यो चौथो शतक हो । यसका साथै उनी सर्वाधिक शतक बनाउने खेलाडी समेत बने ।
कुशल मल्ल २६ रनमा अविजित रहे भने भीम सार्कीले १६ रन बनाए । सुदूरका लागि शेर मल्लले २ विकेट लिँदा मिलन बोहराले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ३८.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ६३ रन बनाए । अभिषेक पालले २४ रन बनाउँदा खडक बोहराले १३ अनि अशोक धामीले ११ रन बनाए ।
आर्मीका बसिरले ९.१ ओभरमा ३५ रन दिएर ५ विकेट लिए । शाहब आलम र नरेन साउदले २-२ विकेट लिँदा आकाश चन्दले १ विकेट लिए ।
आर्मीले पीएम कपमा छैटौं जित निकाल्दै ७ खेलमा १३ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । ७ खेलमा १० अंक भएको सुदूरपश्चिम दोस्रोमा यथावत् छ ।
प्रतिक्रिया 4