+
+
Shares

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बाबु-छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि सुन तस्करीमा भ्रष्टाचार मुद्दा चलाएको छ।
  • अख्तियारले १० पुस २०७९ मा फ्लाई दुबईबाट ल्याइएको ८ किलो ४८० ग्राम सुन तस्करीमा भन्सार कर्मचारीहरूले मिलेमतो गरेको आरोप लगाएको छ।
  • मुद्दामा प्रमुख भन्सार प्रशासन अरुण पोखरेल र अन्य भन्सार अधिकृतहरूलाई समेत भ्रष्टाचारमा संलग्न भएको उल्लेख गरिएको छ।

२६ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले प्रमुख भन्सार प्रशासन अरुण पोखरेल, प्रमुख भन्सार अधिकृतहरू मुक्तिप्रसाद श्रेष्ठ, अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नासुहरू सुवर्णाप्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोखरेलमाथि मुद्दा चलाएको हो ।

अख्तियारले महरासहित उनको छोरा राहुल, निर्मलकुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, रामकेशव थापा, अमृत कार्की र निमा गुरुङमाथि पनि मुद्दा चलाएको हो ।

त्यसैगरी प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सोङ र दोजिङ वाङ अनि बेल्जियमका नागरिक दावा छिरिङ तथा भारतीय नागरिक साहेव राव पाण्डुरङ विरुद्ध मुद्दा चलाएको हो । त्यसैगरी डेक्टर ट्राभल्स एण्ड टुर्स प्रालि माथि पनि मुद्दा चलाएको छ  ।

१० पुस २०७९ मा फ्लाई दुबईबाट चिनियाँ नागरिक लि हाङ सोङले २ वटा सुटकेस ल्याएका थिए । त्यसभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) थियो । त्यसमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूले मिलेमतो गरेको अख्तियारको आरोप हो ।

शंकास्पद देखिएको मालवस्तुको भौतिक रूपमा पनि चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नै नगरेको अख्तियारको आरोप हो ।

त्यसरी बरामद गरिएको सामान गोदाममा बन्द गरी राख्नुपर्नेमा गलत मनसायले प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखेको र सुन छुटाउने समूहका व्यक्तिहरुसँग अस्वभाविक भेटघाट र फोन सम्पर्क गरेको भनी अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो ।

शंकास्पद वस्तु करिब १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाँउमा सारेको आरोप लगाएको छ ।

अख्तियारले आठ किलो ४८० ग्राम सुन तस्करीमा भूमिका खेलेको भन्दै उनीहरूमाथि सात करोड ७८ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो ।

अख्तियारले भन्सारका कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लगाएको छ भने पूर्वसभामुख महरा, उनका छोरा राहुल लगायतमाथि मतियारको आरोप लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?