+
+
Shares

अख्तियारले के आधारमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ?

चिनियाँ नागरिकले ल्याएका सुटकेसमा रहेका भेपभित्र सुन लुकाइएको थियो । त्यही पत्ता लगाउन नसकेको र तस्करहरुसँग मिलेको भन्ने आरोपमा अख्तियारले २९ जनामाथि मुद्दा चलाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि भ्रष्टाचार मुद्दा चलाएको छ।
  • पूर्वसभामुख महरा र उनका छोरा राहुलले भन्सार कार्यालयमा पटकपटक सम्पर्क गरी भेप छुटाउन प्रयास गरेको र सुन तस्करीमा मिलेमतो गरेको अख्तियारको आरोप छ।
  • प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठमाथि सुटकेसको पुन: चेकजाँच र भौतिक परीक्षण नगराएको र त्यसले गर्दा भ्रष्टाचार भएको भन्ने आरोप छ ।

२७ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनामाथि मुद्दा चलाएको छ । अख्तियारले कर्मचारीहरुमाथि भेपमा लुकाइएको सुन पत्ता लगाउन नसकेको आरोप लगाएको छ । सुन ल्याउनेहरुमाथि तस्करी गरेर मतियारको भूमिका खेलेको आरोप छ ।

सुन तस्करीमा मुछिएकाहरुमाथि यसअघि नै जिल्ला अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको अभियोग सहित मुद्दा चलेको थियो । त्यही घटनामा अख्तियारले अर्को मुद्दा पनि दायर गरेको हो ।

यस्तो हो घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० पुस, २०७९ मा चिनियाँ यात्रु लि हाङ सुङ दुईवटा सुटकेस सहित नेपाल आएका थिए । भन्सार जाँचका क्रममा दुई वटा सुटकेसमा ७३ वटा बट्टामा ७३० वटा भेप (विद्युतीय चुरोट) भेटियो ।

भन्सारका कर्मचारीहरुले भेपको भौतिक परीक्षण गर्नुपर्ने भनी जाँचपास रोके र पर्चा खडा गरी सामान नियन्त्रणमा लिए । तर अख्तियारले उनीहरुमाथि सामान रोकेपछि फेरि चेकजाँच नगराएको आरोप लगाएको छ ।

घटनापछि प्रमुख भन्सार अधिकृत मुक्तिनारायण श्रेष्ठको आदेशमा भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठ र नासु भुवनराज घिमिरेलाई गणना गर्न लगाएका थिए । अनि जफत गरेको रसिद लिएर भेपलाई आफ्नो कार्यकक्षमा राखेका थिए ।

अख्तियारले त्यो कामलाई बदनियत भन्दै किन सुन बरामद भएको भनी उल्लेख नगरेको भनी प्रश्न उठाएको हो । घटनाको डेढ महिनापछि जफत भएको भेप भन्सारको मुद्दा तथा लिलामी शाखामा पठाइएको थियो ।

अख्तियारको दावी अनुसार, ती सामान प्रशासनिक भवनमा राखियो । तिनलाई प्रशासनिक भवनमा नभई गोदाममा राख्नुपर्ने अख्तियारको जिकिर थियो ।

बरामद भएको भेप व्यापारी उदयचन्दन श्रेष्ठले परीक्षण गरेका थिए । त्यसरी फुक्दा धुँवा नआएकाले थप शंका गर्नुपर्नेमा भन्सारका कर्मचारीहरुले मिलेमतो गरेको अख्तियारको आरोप हो ।

भेप लामो समय भन्सारमा अलपत्र परेपछि सामान छुटाउन पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल लगायतले पटकपटक प्रमुख भन्सार प्रशासक, भन्सार अधिकृत लगायतलाई फोन गरेकोमा अख्तियारले प्रश्न उठाएको छ ।

सुरक्षा गार्डले थाहा पाए, कर्मचारीले लुकाए 

सामान लैजाने क्रममा सुटकेसबाट सुरक्षा गार्ड निर्मल विकले एउटा भेप लगेका रहेछन् । त्यसक्रममा उनले भेपभित्र सुन रहेको थाहा पाएको अख्तियारको दावी छ ।

अख्तियारको आरोप अनुसार, त्यसपछि भेप साटफेर भएको थियो । अरु सदस्यहरुलाई देखाएर प्रमुख भन्सार प्रशासकको संयोजकत्वमा गठित समितिले ५ लाख ११ हजार पर्ने भनी भेपको मूल्यांकन गरेको थियो ।

भन्सार कार्यालयका सुरक्षा गार्ड निर्मल विकले अविनाश राउतसँग कोटेश्वरको सुनचाँदी पसलमा भेप चेक गराउँदा करिब साढे ९९ लाल (एक तोलामा १०० लाल हुन्छ) सुन भेटेको अख्तियारको दावी छ । आरोपपत्र अनुसार, त्यसपछि निर्मलले त्यो सुनको सिक्री बनाई लगाएका थिए र बचेको सुनको मूल्य पर्ने ३ हजार रुपैयाँ पनि लिएर गए ।

निर्मल कुमार विकले भेपभित्र सुन रहेको थाहा पाएपछि व्यापारीमार्फत कर्मचारीलाई भनेको तर त्यो कुरा औपचारिक रुपमा लुकाएको अख्तियारको आरोप हो ।

महरा कसरी मुछिए ?

भेप लामो समय भन्सारमा अलपत्र परेपछि सामान छुटाउन पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल लगायतले पटकपटक प्रमुख भन्सार प्रशासक, भन्सार अधिकृत लगायतलाई फोन गरेकोमा अख्तियारले प्रश्न उठाएको छ । उनीहरु भन्सार कार्यालयमा गएकोमा समेत अख्तियारले बदनियत भनेको छ ।

अख्तियारको दावी अनुसार, त्यसपछि नासु रेवन्त लगायतले सुन साटेको आरोप लगाएको छ । दुई वर्षअघिको घटनामा अख्तियारले दुईवटा मुद्दा चलाइसकेको छ ।

१३ भदौ २०८१ मा भेप तस्करी भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा पहिलो मुद्दा चलेको थियो । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भए लगत्तै २७ असोजमा पूर्वसभामुख महरा, उनका छोरा राहुल लगायतमाथि अख्तियारले सम्पत्ति शुद्धीकरणको अर्को मुद्दा पनि चलायो ।

अख्तियारले भन्सारका उच्चपदस्थ कर्मचारीहरुमाथि भेप जफत भइसकेपछि कायम राख्नुपर्ने सुरक्षा र गोपनीयतामा चुकेको आरोप लगाएको छ । अनि पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसँग सम्पर्क गरेको भन्ने आधारमा बदनियत देखिएको भन्दै मुद्दा चलाएको हो ।

कर्मचारीहरुमाथिको आरोप के छ ?

प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठमाथि सुटकेसको पुन: चेकजाँच र भौतिक परीक्षण नगराएको र त्यसले गर्दा भ्रष्टाचार भएको भन्ने आरोप छ ।

अर्का प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनालमाथि भेपमा सुन भएको भनी उल्लेख नगरी मूल्यांकन गरेकोमा प्रश्न उठाएको हो । भन्सारका कर्मचारीहरुमाथि अरु आरोपितहरुसँगको मिलेमतोमा भेपको थप परीक्षण नगरेको भन्ने आरोप छ ।

पूर्वसभामुख महरा र उनका छोरा राहुलमाथि पटपटक सरकारी अधिकारीलाई सम्पर्क गरेको र सुन तस्करीको मिलेमतोमा उनीहरुलाई सामेल गराएको अख्तियारको दावी छ ।

अख्तियारले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोग, २०८० ले समेत महरालाई कसुरदार देखाएको भन्दै भ्रष्टाचारमा पनि संलग्न भएको जिकिर गरेको हो । राहुल महरालाई अर्को मुद्दामा कसुरदार देखिएकाले भ्रष्टाचार पनि गरेको भन्ने अख्तियारको दावी हो ।

अख्तियारले आठ किलो ४८० ग्राम सुन तस्करीमा भूमिका खेलेको भन्दै उनीहरुमाथि सात करोड ७८ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो ।

कर्मचारीहरुमाथि शंकास्पद वस्तु १९ दिन भन्सारमा राखेर त्यसपछि मात्रै मुद्दा तथा लिलामी शाखामा पठाएको भन्दै अख्तियारले पछि सामग्री परिवर्तन गर्ने बदनियतले सीसीटीभीको कभरेज नभएको ठाउँमा सारेको आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?