News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १ वैशाखदेखि 'एक महिने जरामा जाऊँ अभियान' सञ्चालन गर्दै ७७ जिल्लामा सदस्यता अद्यावधिक गर्ने तयारी गरेको छ।
- महामन्त्री प्रदीप पौडेलले सबै क्रियाशील सदस्यलाई स्थानीय वडामा गएर सदस्यता अद्यावधिक गर्नुपर्ने र 'कांग्रेस आईडी' अनिवार्य हुने बताए।
- अभियानअन्तर्गत पार्टीले डिजिटल सदस्यता प्रणाली लागू गर्दै फोन नम्बर र फोटो संकलन अनिवार्य गर्ने र सभापति थापाले सदस्यता अद्यावधिकको सुरुवात गर्नेछन्।
२६ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेस यतिबेला आन्तरिक किचलोमा जेलिएको छ ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबीच पुस मसान्तमा आयोजित विशेष महाधिवेशनले आन्तरिक गुटबन्दी चुलिएपछि कांग्रेसको ‘जरा’ नै कमजोर बनाएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेसको रुखको टुप्पो हरियो देखिए पनि जराको माटो सुकेको, पानी नपुगेको अवस्था छ ।
आन्तरिक किचलोका बीच १५औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसले यो यथार्थतालाई स्वीकार गर्दै पार्टी संगठन मजबुत बनाउने उद्देश्यका साथ ‘एक महिने जरामा जाऊँ अभियान’ लाई मुख्य हतियार बनाएको छ ।
‘हाम्रो पार्टीको चुनाव चिह्न रुख भएकाले जरा शब्दप्रति हाम्रो सामिप्यता हुनु स्वाभाविक भयो,’ महामन्त्री प्रदीप पौडेल ‘जरामा जाऊँ अभियान’ बारे भन्छन्, ‘रुख अहिले अलि उजाडियो, पातहरू झरे, नाङ्गिए जस्तो देखियो । त्यसैले जरामा मल हाल्नु पर्यो, पानी हाल्नु पर्यो, रुख हरियो बनाउनु पर्यो भनेर अभियान चलाउन लागेका छौं ।’
सदस्यता अद्यावधिकका लागि भौतिक उपस्थिति अनिवार्य
कांग्रेसले अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । उनीहरूलाई पार्टीले स्थानीय स्तरमा प्रत्यक्ष रूपमा काम गर्न भनेको छ । १ वैशाखदेखि सञ्चालन हुने एक महिने अभियानमा खटिने प्रतिनिधिहरूका लागि कांग्रेसले अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।
‘कार्यक्रमअन्तर्गत ७७ जिल्लामा प्रतिनिधि खटाएका छौं । प्रतिनिधिहरूले गर्ने कामबारे टीओआर बनाएर खटाएको स्थिति छ,’ महामन्त्री पौडेलले भने, ‘त्यसको निर्देशिका पनि पास गरेका छौं ।’
उनका अनुसार केन्द्रीय प्रतिनिधिहरूले पार्टीले पारित गरेको निर्देशिकाबमोजिम तोकिएको कार्यक्षेत्रमा बसेर सदस्यता विस्तार अभियानको नेतृत्व गर्ने छन् । पौडेलका अनुसार ‘एक महिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

‘यो खासमा नेपाली कांग्रेसका सबै सदस्यलाई जहाँबाट सदस्य बनेको हो, त्यहीँ गएर अध्यावधिक गर, गाउँ फर्क, टोलमा जाऊ भन्न खोजिएको हो,’ पौडेलले भने । उनले १४औं महाधिवेशनका क्रियाशील सदस्यहरू सबैले (कारबाहीमा परेकाबाहेक) सदस्यता अद्यावधिक गर्न पाउने पनि बताए ।
‘विधानको प्रावधानअन्तर्गत कारबाहीमा नपरेका सबै पुराना सदस्यले क्रियाशील सदस्यता अद्यावधिक गर्न सक्नुहुन्छ,’ पौडेलले भने, ‘त्यहाँ यसले सक्ने, यसले नसक्ने भनेर कसैलाई निषेध गरिएको हुँदैन ।’
पार्टीले सदस्यता अद्यावधिकमा पार्टीको विधानअनुसार योग्य रहेका कसैलाई काखापाखा नगरे पनि प्रक्रिया भने प्रष्ट्याएको महामन्त्री पौडेलले जानकारी दिए । ‘हामीले अद्यावधिकको प्रोसेस चाहिँ प्रष्ट्याएका छौं । प्रोसेस के हो भने, आफ्नै वडामा जाने, म सदस्यता नवीकरण गर्न चाहन्छु भन्ने,’ उनले भने, ‘यति भनेपछि उहाँहरूले ओटीपी नम्बर पाउनुहुन्छ । अनि त्यो ओटीपी नम्बरको आधारमा उहाँहरूले आफ्नो सदस्यता अद्यावधिक गर्नुहुन्छ ।’
सदस्यता अद्यावधिक गर्नेलाई ‘कांग्रेस आइडी’
कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नुपर्ने प्रावधान लागु गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यको वयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो ।
१४औं महाधिवेशनका ८ लाख ६६ हजार क्रियाशील सदस्यमध्ये कांग्रेससँग एक लाख सदस्यको पनि फोन नम्बर छैन । २५–३० हजार क्रियाशील सदस्यको फोटो पनि कांग्रेससँग छैन ।
क्रियाशील सदस्यहरूले एकअर्कासँग सम्पर्क गर्न, सदस्यले पार्टीका विभिन्न संरचनाहरूसँग सम्पर्क, समन्वय गर्न र सूचनाहरू लिन सहज बनाउन कांग्रेसले कार्यकर्ताको फोन नम्बर सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणका क्रममा संकलन गर्न लागेको हो ।
‘नेपाली कांग्रेसलाई डिजिटलाइज्ड गर्नका निम्ति सबै सदस्यको फोन नम्बर जरुरी भयो । अनि सदस्यको सही परिचय खुलाउन फोटो आवश्यक भयो,’ महामन्त्री पौडेल भन्छन्, ‘पार्टीले आफ्ना सदस्य को हुन् भन्ने कुरालाई अद्यावधिक गर्ने कुरा व्यवस्थित पार्टीको मुख्य दायित्व पनि हो ।’
क्रियाशील सदस्यता अद्यावधिक भएपछि कांग्रेसका नेता–कार्यकर्ताहरूले प्राप्त गरेको ‘ओटीपी’ नम्बरमा ‘कांग्रेस आईडी’ जानेछ । ‘फारममा सदस्यले जुन मोबाइल नम्बर रेकर्ड गर्नुहुन्छ, त्यो मोबाइल नम्बरमा ओटीपी नम्बर जान्छ,’ पौडेलले भने, ‘नम्बरको आधारमा ‘कांग्रेस आईडी’ सदस्यता अद्यावधिक गरेको व्यक्तिले प्राप्त गर्नुहुन्छ ।’
अब ‘कांग्रेस आईडी’ प्राप्त गरेको व्यक्ति मात्रै कांग्रेसको क्रियाशील सदस्य हुनेछ । ‘कांग्रेस आईडी’ भएको व्यक्तिले मात्रै वडा अधिवेशनमा भाग लिन पाउने छ । ‘कांग्रेस आईडी प्राप्त नगरेको मान्छेले सदस्यता अद्यावधिक गरिएको मानिँदैन,’ महामन्त्री पौडेलले भने, ‘सदस्यता अद्यावधिक नभएको व्यक्ति अधिवेशनमा सहभागी हुन सक्दैन ।’
क्रियाशील नै हालेनन् रुखमा भोट
कांग्रेसमा लामो समयदेखि मौलाउँदै आएको गुटबन्दी र अन्तर्घात प्रवृत्तिले पार्टीलाई बारम्बार कमजोर बनाउँदै आएको छ । निर्वाचनमा हुने अन्तर्घात कांग्रेसको संरचनागत समस्या जस्तै बनेको छ ।
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कतिपय क्षेत्रमा पार्टीका क्रियाशील सदस्य बराबर मत पनि नपाएको देखिएको छ । क्रियाशील सदस्यले नै मत नहाल्ने स्थिति भइरहँदा कांग्रेस भित्र बेलाबखत सदस्यतामाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रारम्भिक तथ्यांकहरू हेर्दा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अघि सारेका उम्मेदवारहरूले १७ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत पाएको कांग्रेसको चुनावी समीक्षाले देखाएको छ ।
क्रियाशील सदस्यहरूले नै कांग्रेसलाई मत हाल्न नचाहेको विषयमा समीक्षा गरेर गल्ती–कमजोरी सच्याउन जरुरी रहेको नेताहरू बताउँछन् । ‘पार्टी सदस्यले म सदस्य हुँ भनेर सामाजिक इमेज बनाउन किन चाहेन अनि पार्टीका उम्मेदवारलाई मत हाल्न चाहेन भन्ने समीक्षा गरेर सही निचोड निकाली करेक्सन गर्न जरुरी छ,’ महामन्त्री पौडेलले भने ।
पार्टीको दृष्टिकोण निर्माणमा सदस्यहरूको अनिवार्य सहभागिता
कांग्रेसले पार्टीको दृष्टिकोण निर्माणका लागि क्रियाशील सदस्यहरूलाई सहभागी गराउने उद्देश्य राखेर पार्टीलाई ‘डिजिटलाइज’ गर्न लागिएको बताएको छ । पार्टीलाई ‘डिजिटलाइज’ गर्दा विचार र एजेन्डा क्रियाशील सदस्यहरूलाई जानकारी हुने, एजेन्डा र विचार बनाउँदा उनीहरूको सुझाव लिन सजिलो हुने कांग्रेसको भनाइ छ ।
‘हामी प्राइमरी इलेक्सन गरेर उम्मेदवार चयन गर्छौं भनिरहेका छौं । प्राइमरी इलेक्सन गरेर उम्मेदवार चयन गर्ने भनेको सदस्यहरूले नै उम्मेदवार चयन गर्ने हो,’ महामन्त्री पौडेलले भने, ‘अब सदस्यको जिम्मेवारी पनि बढेर जानेवाला छ । त्यसैले जिम्मेवार सदस्य बनाउन सदस्यता पुनः अद्यावधिक गर्न खोजेका हौं ।’
कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागु गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ ।
‘यी सबै कुरा केन्द्रीय प्रतिनिधिलाई जानकारी गराइएको छ । उहाँहरूले जिल्लामा गएर यही कुरा वडामा खटिने प्रतिनिधिहरूलाई बुझाउनु हुनेछ,’ पौडेलले भने, ‘हरेक वडामा स्थानीय प्राविधिक अथवा हाम्रो सदस्यमध्येको कोही प्राविधिक साथीलाई सहभागी गराएर यी काम अगाडि बढाइन्छ ।’
कांग्रेसले १ वैशाखदेखि सुरु हुने ‘एक महिने जरामा जाऊँ अभियान’ का क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न जाँदा ‘ओटीपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन भनेको छ ।
सभापति थापाबाट सदस्यता अद्यावधिक सुरुवात
क्रियाशील सदस्यता अद्यावधिकको सुरुवात सभापति गगनकुमार थापाले गर्ने भएका छन् । उनले अभियानको पहिलो दिन १ वैशाखमा आफूले क्रियाशील सदस्यता लिएको वडामा पुगेर सदस्यता अद्यावधिक गर्ने कांग्रेसले जनाएको छ ।
सभापति थापाको क्रियाशील सदस्यता काठमाडौं महानगरपालिका–२९ मा रहेको छ । पार्टीका अनुसार पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्यहरूले वैशाख महिना भित्र आफ्नो सदस्यता रहेको वडामा गएर अद्यावधिक गरिसक्नु पर्नेछ ।

‘वैशाख महिना भित्रमा केन्द्रदेखि प्रत्येक तहका पार्टी सदस्यले आफ्नो सम्बन्धित वडामा स्वयं उपस्थित भई सदस्यता अद्यावधिक गर्नु पर्नेछ,’ २१ चैतमा कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी सदस्यता अद्यावधिक गरिएका सदस्यहरूले मात्र कांग्रेस आईडी प्राप्त गर्नेछन् र १५औं महाधिवेशनमा भाग लिन पाउने छन् ।’
अभियानभित्र सांगठनिक विषय
कांग्रेसले अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिकसँगै पार्टीको सांगठनिक गतिविधिको विश्लेषण, जनता–युवा र पार्टी बाहिरका शुभेच्छुकहरूसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम पनि गर्ने भएको छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ संगठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पर्ने कार्यभार दिएको छ ।
‘पार्टीले प्रतिनिधिहरूलाई जिल्ला समिति, क्षेत्रीय समिति, प्रदेश क्षेत्र समिति, पालिका र वडा समितिहरूको गतिविधि, बैठक नियमित रूपमा भइरहेका छन् कि छैनन्, भ्रातृ संगठनको अवस्था के छ, सबै कुरा प्रतिवेदनमा उल्लेख गर्न भनेको छ,’ महामन्त्री पौडेलले भने ।
उनका अनुसार कांग्रेसले जिल्लामा खटिएका प्रतिनिधिहरूलाई नागरिकसँग निर्वाचनको समीक्षा गर्न पनि भनेको छ । उनीहरूले जिल्लामा पार्टीको आन्तरिक संगठनात्मक प्रणाली भित्र रहेका व्यक्तिहरूसँगको भन्दा फरक ढंगले नागरिकसँग समीक्षा गर्नेछन् ।
नागरिकसँगको समीक्षाबारे पौडेल भन्छन्, ‘कुनै जिल्लामा बुद्धिजीवी, पेसाकर्मी, युवाहरूसँग गएर कांग्रेस किन हा¥यो, कांग्रेसलाई पुनः उठाउन, सशक्त बनाउन के गर्नुपर्छ भनेर सुझाव लिने भनिएको हो ।’
विगतमा बुद्धिजीवी–पेसाकर्मीले विश्वास गर्दै आए पनि यसपालि फरक अवस्था देखिएको बुझाइ कांग्रेसको छ । ‘विगतमा विश्वास गरिरहेको स्थिति थियो । यो पटक त्यस्तो देखिएन,’ महामन्त्री पौडेलले भने, ‘के भयो, त्यसबारेमा नागरिक समाजका प्रबुद्ध अग्रजहरूसँग संवाद गर्न र त्यसको प्रतिवेदन केन्द्रमा बुझाउन भनिएको छ ।’
संगठनलाई सामाजिक गतिविधिमा संलग्न गराउने
कार्यवाहक मुख्यसचिव दुलालले अभियानको उद्देश्य सामाजिक र सिर्जनात्मक अभियान सञ्चालन, स्थानीय सरकार सञ्चालन र आगामी बजेट निर्माणसँग सम्बन्धित मार्ग निर्देशन एवं सहजीकरण गर्ने रहेको पनि बताएका छन् ।
महामन्त्री पौडेलले पनि केन्द्रीय प्रतिनिधिहरूलाई पार्टी र स्थानीय सरकारबीच संवाद र समन्वय गराउने कार्यभार तोकिएको जानकारी दिए । ‘यो स्थानीय सरकारको अन्तिम बजेट हो । यो बजेटलाई कसरी नागरिक मैत्री बनाउन सकिन्छ, त्यसमा पनि पार्टीसँग समन्वय गरेर स्थानीय नेतृत्वलाई सहजीकरण गर्ने टीओआर छ ।’
कांग्रेसले पार्टी संगठनलाई सामाजिक गतिविधिमा संलग्न गराउने पनि योजना बनाएको छ । जसका लागि एक महिने अभियानका क्रममा जिल्लादेखि वडासम्मका कार्यसमितिहरूलाई वार्षिक क्यालेन्डर बनाउन लगाउने भएको छ ।
‘जलवायु जनचेतना, सामाजिक विभेद, विकृति र विसंगतिविरुद्ध सजगता, अनौपचारिक क्षेत्रका श्रमिक, विदेशबाट फर्केका युवा संवाद, लागु पदार्थविरुद्ध युवा अभियान, आमा संवाद र उद्यम अभियान, सभ्यता संस्कृति र प्रकृति संरक्षण अभियान, शिक्षा स्वास्थ्य सुधारलगायतका सामाजिक अभियान सञ्चालन गर्ने र सोको वडा तहमै क्यालेन्डर बनाउने,’ प्रतिनिधिहरूका लागि पारित गरिएको कांग्रेसको कार्यविधिमा भनिएको छ ।

कार्यविधिमा प्रतिनिधिहरूलाई जिल्ला र क्षेत्रीय सभापतिसँग परामर्श गरेर कार्यसमितिको बैठकमा अभियानबारे जानकारी गराउने, प्रत्येक वडाका लागि अभियानको प्रतिनिधि खटाउन जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमतितिसँग समन्वय गर्ने, प्रतिनिधि खटाउँदा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य र जिल्लास्थिति पार्टीका नेताहरूलाई खटाउने र वडा प्रतिनिधिलाई अभियानका बारेमा अभिमुखीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक र समाजवादी पार्टी हो । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरणपश्चात् नेपाली कांग्रेसको औपचारिक जन्म भएको थियो ।
राणा शासनविरुद्धको संघर्षबाट जन्मिएको कांग्रेसले २००७ सालको क्रान्तिमा निर्णायक भूमिका खेल्यो । २०१५ सालको पहिलो आम निर्वाचनमा रुख चिह्न लिएर बहुमत प्राप्त गर्दै कांग्रेसले बीपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकार गठन गरेको थियो ।
पञ्चायतकालमा निरन्तर प्रजातन्त्रका लागि संघर्ष गर्दै २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।
लोकतान्त्रिक आन्दोलनको केन्द्रमा रहेको कांग्रेस आफूलाई केवल एउटा राजनीतिक दल मात्रै नभएर प्रजातन्त्र, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको हिमायती ठान्छ । बीपी कोइराला, गणेशमान सिंह जस्ता ऐतिहासिक व्यक्तित्वहरूले निर्माण गरेको कांग्रेस समय–समयमा संकट, विभाजन र पुनर्जागरणका चरणहरूबाट गुज्रिँदै आएको छ ।
प्रतिक्रिया 4