Comments Add Comment

एन्फा अध्यक्षका लागि नरेन्द्र श्रेष्ठको उम्मेदवारी, टासी पछि हटे

Narendra-Shrestha-n-Mani-ku
७ असोज, काठमाडौं । कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सातादोवाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले आगामी कार्तिक आठ गते हुने निर्वाचनक लागि अध्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षका लागि मणि कुवँरले उम्मेदवारी घोषणा गरे ।

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापामाथि फिफाले प्रतिवन्ध लगाएको छ । त्यसपछि कार्यबाहक रहेका बरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि श्रेष्ठले कार्यबाहक चलाइरहेका छन् । यसबीचमा फिफाले अध्यक्ष र वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्न भनेपछि आगामी एक वर्षे कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ ।

पत्रकार सम्मेलनमा श्रेष्ठले अध्यक्षको उम्मेदवारी आफ्नो हक भएको बताए । आफ्नो उम्मेदवारी घोषणा गर्दा भावुक देखिएका श्रेष्ठले सम्पूर्ण जीवन फुटबलका खलागि समर्पित गरेको दृष्टान्त दिँदै नियमनकारी निकायको कार्यकारी बन्ने चाहना रहेको भनाइ राखे ।

श्रेष्ठले आफुलाई २२ जिल्ला, ए बी, तथा सी डिभिजनका गरी दश क्लब र तीन समितिको समर्थन रहेको दाबी गरेका छन् ।

टासी घलेको उम्मेदवारी फिर्ता

केहि समयअघि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका मनाङ मर्स्याङ्दी क्लवका अध्यक्ष टासी घले भने पछि हटेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको हलमा पत्रकार सम्मेलन गर्दै टासीले एन्फाको बिधानमा उल्लेख भएको अध्यक्षको उम्मेदवारका लागि ५/५ जना प्रस्तावक र समर्थक आवश्यक रहने व्यवस्थाको बिरोध गरे । फिफाको बिधानमा प्रस्तावक र समर्थक १/१ भए पुग्ने रहेको भन्दै उनले यसबारेमा राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएपनि कुनै सुनुवाइ नभएको गुनासो गरे ।

पत्रकार सम्मेलनमा टासीले कसलाई समर्थन गर्ने भन्नेबारे क्लबका पदाधिकारीसँग परामर्श गरेर मात्रै निर्णय लिने बताए ।

टासीले उम्मेदवारी फिर्ता लिएपछि अहिलेसम्म एन्फा अध्यक्षमा नरेन्द्रको मात्रै औपचारिक घोषणा भएको छ । बर्तमान उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल प्रहरीका एआईजी तथा पूर्व फुटबलर बिज्ञानराज शर्माले उम्मेदवारी दिने बताएका छन् ।

उपाध्यक्षका लागि मणि कुवँर र उपेन्द्रमान सिंह

बरिष्ठ उपाध्यक्षका लागि अहिलेसम्म दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् । नरेन्द्र श्रेष्ठको प्यानलबाट आज मणि कुवँरले उम्मेदवारी घोषणा गरेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले यसअघिनै उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एन्फाको निर्वाचनमा ६९ मतदाता हुनेछ । एन्फाका ४५ जिल्ला शाखाका अध्यक्षहरु, १२ ए डिभिजन क्लव, ५ बी डिभिजन क्लव, ३ सी डिभिजन क्लवका प्रतिनिधिहरु मतदाता रहेनछन् । साथै फुटबल खेलाडी संघ, रेफ्री संघ, महिला फुटबल संघ र प्रशिक्षक संघका प्रतिनिधिले पनि मतदान गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment