Comments Add Comment

डेपुटी गभर्नर भन्छन्- आशिर्वाद थाप्दा सफा नोटको प्रयोग होस्

नयाँ नोट फोहोर हुनबाट कसरी जोगाउने ?

 

chintamani-sibakoti२५ असोज, काठामाडौं । पक्कै पनि दशैंमा तपाई नयाँ नोटको प्रयोग गर्दै हुनुहुन्छ । तर, त्यसलाई फोहोर हुनबाट जोगाउने बारे केही सोच्नुभएको छ कि छैन ? तपाईँलाई लाग्दो हो, जति फोहोर र झुत्रो भए पनि राष्ट्र बैंकले साटिहाल्छ, के टाउको दुखाइरहनु ?

तपाई हामीले नोटलाई फोहोर गर्दा वा झुत्रो बनाउँदा देशलाई ठूलो घाटा भइरेको छ । फोहोर वा झुत्रो नोट राष्ट्र बैंकले बजारबाट खिचेर जलाउने भएकाले नोट फोहोर गर्दा देशको सम्पत्ति नोक्सान हुने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी बताउँछन् ।

‘सर्वसाधारणमा नोटको हिफाजत कसरी गर्ने र नोट फोहोर भए राज्यलाई ठूलो घाटा हुन्छ भन्ने जानकारी नहुँदा नोटहरुको फोहोर गर्ने प्रचलन छ,’ शिवाकोटीले अनलाइनखबरसँग भने ।

दशैं-तिहार र छठका लागि राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको हाराहारीमा नोट बजारमा पठाएको छ । तर, यसरी चाडबाडमा पठाइएका ठूलो परिमाणका नोटहरु फोहोर भएर बैंकिङ सिस्टममा फर्किने गरेको उनको गुनासो छ ।

राष्ट्र बैंकले यसअघि नै सफा नोटको नीति अख्तियार गरी नोट सफा राख्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन र सर्वसाधारणलाई सचेत गराइसकेको छ । नोटमा स्टिच हान्न नपाइने राष्ट्र बैंकको नीतिका पक्षमा सर्वोच्च अदालतले समेत फैसलासमेत गरिसकेको छ ।

कानूनीरुपमा नोटमा स्टिच गर्न वा प्वाल पार्न पाइँदैन । तर, अझै पनि कतिपयले नोटमा स्टिच गर्ने गरेका छन् । नोटमा स्टिच गर्ने व्यक्तिको पहिचान भए, त्यसलाई अपराध गरेको ठानी कानूनी कारवाही हुने शिवाकोटीले बताए ।

कसैले नियतबस नोट फोहोर पारेको, च्यातेको भन्ने लागेमा राष्ट्र बैंकले त्यस्ता नोट नसाट्ने नीति अबलम्बन गर्न लागेको पनि उनले जानकारी दिए ।

‘राष्ट्र बैंकले साटिहाल्छ भन्दै फोहोर गर्ने, च्यात्ने गरेको पनि पाइन्छ,’ शिवाकोटीले भने, ‘कसैले नियतबस फोहोर गरेको र च्यातेको पाइएमा त्यस्ता नोट नसाट्ने नीति ल्याउने तयारीमा छौं ।’

कतिपयले नोटमा आफ्नो नाम लेख्ने गरेका छन् । यसरी नोटमा नाम लेख्नुलाई अबदेखि राज्यले अपराध ठान्ने उनको भनाई छ ।

त्यसैगरी, दशैंतिहार जस्ता चाडबाडमा पुजाआजामा नोटको प्रयोग गर्दा रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने गर्दा पनि नोट फोहोर हुने गर्छन् ।

नोटलाई फोहोर हुन नदिने के गर्ने ?

Nepali-Note-Newनोटलाई फोहोर हुनबाट जोगाउन मन्दिरमा चढाउँदा सुख्खा नोटमात्रै चढाउने र नोट चढाएको ठाउँमा दूध वा पानीले भिजाउनु नहुने उनी बताउँछन् ।

‘कसैलाई सीधै नोटमात्र दक्षिणा दिँदा फोहोर हुनेभएकाले खामको प्रयोग गरेर दक्षिणा दिनु उपयुक्त हुन्छ,’ शिवाकोटीले भने, ‘यो दशैंदेखि सिनियरले जुनियरलाई आशिर्वाद दिँदा सफा नोट राखेर आशिर्वाद दिनुपर्‍यो ।’

गाउँघरतिर थैली र पटुकामा नोट पोको पारेर राख्ने भएकाले पनि नोटहरु झुत्रा र पुराना हुने गरेको उनी सुनाउँछन् । त्यसरी थैली वा पटुकामा नराखी नोटलाई नखुम्चिने गरी पर्समा राख्नु उपयुक्त हुने उनको सुझाव छ ।

नोटको घट्दो आयु

नगदको कारोबार बढी हुँदा नोटको आयु घटेको र त्यस्तो कारोबार असुरिक्षत हुने भन्दै राष्ट्र बैंकले नोटको प्रचलन घटाउने नीति लिँदै आएको छ । नोटको प्रचलन विस्थापित गर्न राष्ट्र बैंकले कार्ड र चेकको प्रयोग बढाउने नीति लिएको हो ।

‘भौतिक नोटको कारोबार गर्दा बढि असुरक्षित पनि हुन्छ । र, नोटको आयु पनि घट्छ त्यसैले राष्ट्र बैंकले कार्ड वा चेकको कारोबारलाई बढी प्राथमिकता दिँदै आएको छ,’ शिवाकोटीले भने ।

हाल नेपाली नोटहरुको सरदर आयु साढे ३ वर्षको हो । कार्ड र चेकको प्रयोग बढाउने हो भने नोटको आयु ५ देखि १० वर्षको हुने उनको भनाइ छ ।

नोट भनेको राष्ट्रको पहिचान भएको शिवाकोटी बताउँछन् । ‘विदेशीले एयरपोर्टमा आएर नेपाली नोट साट्दा हामीले झुत्रे नोट दियौं भने उनीहरुको हाम्रो देशलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ,’ उनले भने ।

सफा नोटको नीति लिएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिइसकेको छ । जसअनुसार चलन चल्तीमा पठाउन नमिल्ने नोटहरुमा बैंकहरुले रातो ट्याग लगाएर राष्ट्र बैंकलाई पठाउनुपर्छ र त्यस्ता नोटलाई राष्ट्र बैंकले जलाएर नष्ट पार्छ । तर, चलनचल्तीमा पठाउन मिल्ने नोटलाई सेतो ट्याग लगाएर चलनचल्तीमा पठाउनुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment