Comments Add Comment

पर्सामा फोरमभित्र चर्को विवाद, समानान्तर समिति बनाउने चेतावनी

५ चैत, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपाल पर्साको आन्तरिक कलह सतहमा आएको छ । पछिल्लो मधेस आन्दोलनको सेन्टिमेन्टका कारण तीनै तहको निर्वाचनमा अपत्यासित सफलता पाएको फोरम अहिले आन्तरिक विवादमा फसेको छ ।

चुनावको समयमा अन्य पार्टीबाट नेता कार्यकर्ता ल्याउने होडबाजी नै चल्यो । फोरममा अहिले तिनै विभिन्न पार्टीबाट आएका नेता कार्यकर्ता व्यवस्थापन ठूलो चुनौती बनेको छ ।

वैशाखमा हुने महाधिवेशनलाई लिएर पार्टी नेतृत्वको गतिविधि प्रति एक समूहले सार्वजनिक रुपमै असन्तुष्टि जनाएको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष एवं प्रदेश प्रदेशसभा सदस्य मन्जुर अन्सारी, सहसचिव मुकेश द्विवेदी, केन्द्रीय सदस्य शशीकपुर मियाँलगायतले मंगलबार बिहान पत्रकार सम्मेलन गरी असन्तुष्टि सार्वजनिक गरे ।

सम्मेलनमा उनीहरुले पार्टी अध्यक्ष र केही नेताहरु अलोकतान्त्रिक, अवैधानिक र गैर राजनीतिक गतिविधि गरिरहेको आरोप लगाए । पार्टी नेतृत्व नसच्चिए जिल्लामा समानान्तर कमिटी गठन गर्ने चेतावनीसमेत दिए ।

अन्सारीले केही केन्द्रीय सदस्य, अधिकांश जनप्रतिनिधि र पार्टीको ७५ प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरे । ‘नाता पर्नेलाई सचिव बनाउने, परिवारलाई निर्वाचनमा उठाउने गतिविधि पार्टीमा विगतदेखि नै देखिएको हो ।

त्यतिमात्रै होइन वरिष्ठ उपाध्यक्षलाई वाईपास गरेर विधान विपरीत सुन्दर कुर्मीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने काम भयो,’ उनले भने ‘अहिले महाधिवेशनको समयमा आएरसमेत मनोमानी भइरहेको छ । पार्टीको बैठक बसेको छैन, पार्टी कार्यालयमा ताल्चा लगाएर राखिएको छ । त्यसैले संगठन सुदृढिकरणका लागि आन्तरिक संघर्षमा छौं ।’

केन्द्रीय सदस्य शशी कपुर मियाँले अलोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन गरे समानान्तर कमिटी गठन गर्ने चेतावनी दिए ।
चैत २ गते बसेको संघीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समितिको बैठकमा गणपूरक संख्या नपुगेको दावी उनीहरुको छ । सोही बैठकले विभिन्न स्थानीय तह र वडाहरुमा ईकाई कमिटि गठन गर्न प्रतिनिधि खटाएको छ । तर त्यस दिन बैठकमा १ सय १७ सदस्यीय जिल्ला कार्य समिति सदस्यमध्ये ९३ जना उपस्थित रहेको दावी फोरम नेपाल पर्साको छ ।

जिल्लामा अधिवेशन जारी राखिने

पार्टीका जिल्ला अध्यक्ष एवं सांसद प्रदीप यादवले आफू पार्टीको सिद्धान्त र विधान अनुसार नै अघि बढिरहेको बताए । ‘केन्द्र र प्रदेश कमिटीको निर्देशन र जिल्ला कमिटीको बहुमतले निर्णय गरे अनुसार अधिवेशनको तयारी भइरहेको छ । पार्टीको सिद्धान्त र विधान अनुसार नै चलेको छु मनोमानी गरेको छैन’ उनले भने ।

पार्टीको विधानमा वरिष्ठ उपाध्यक्ष राख्ने प्रावधान नै नभएको बताउँदै उनले मिटिङमा नआई बाहिर ठूला ठूला कुरा गरेर नहुने तर्क उनको छ ।

फोरम नेपालका पर्सा सह ईन्चार्ज राम नरेश यादवले पार्टीको निर्देशन अनुसार नै जिल्लामा अधिवेशन भइरहेको बताए । ‘पार्टीमा ठाउँ नपाएका केही साथीहरुले असन्तुष्टि जनाउनुभएको छ । उहाँहरुको पुरानो राजनीतक पृष्ठभूमि हेरे पुगिहाल्छ । उनीहरुले बदर गर्न भनेर केन्द्र र प्रदेशलाई चिठ्ठी पठाएको भए पनि कुनै सुनुवाई भएन’ उनले भने ‘धमाधम जिल्लामा अधिवेशनहरु भईरहेको छ । मूल प्रवाहीकरणमा नआउनेहरु पार्टीबाट बाहिर जान्छन् भन्ने पार्टीको निर्देशन छ । पार्टीको नीति अनुसार नै अघि बढ्छौं ’

बेलुकासम्म अधिकांश स्थानीय तहमा वडामा अधिवेशन सकिने उनको भनाइ छ ।

फोरम नेपालको नयाँ विधानमा भएको व्यवस्था प्रत्येक गाउँपालिकाबाट ३ जना अनिवार्य सदस्य र उनीहरुले २५ प्रतिशत मनोनित गर्ने प्रावधान अनुसार पर्सा जिल्ला कार्यसमिति अब ५३ सदस्यीय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment