Comments Add Comment

होलीमा इच्छा विपरीत रंग दले सार्वजनिक मुद्दा, २७ स्थानमा कार्यक्रमका लागि अनुमति

Photo Credit : अनलाइनखबर अर्काइभ ।

४ चैत, काठमाडौं । बुधबार मनाइने होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।

लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

‘हामीले एउटा कार्ययोजना नै बनाइसकेका छौं । जसअनुसार होलीको दिन काठमाडौंमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिनेछन्’, लामाले अनलाइनखबरसँग भने, ‘सकेसम्म होली पर्वलाई भद्र र सौहार्दपूर्ण बनाउने कुरामा हाम्रो प्रयास रहनेछ ।’

उनका अनुसार होलीलाई लक्षित गरेर उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ ।

उनले विगतका वर्षझैं साता अघि नै होली खेल्ने क्रम अहिले नेखिएको बताउँदै बुधबार पनि सौहार्दपूर्ण वातावरणमा होली मनाइने आशा व्यक्त गरे । जसका लागि पर्याप्त गृहकार्य गरिसकेको उनको भनाइ छ ।

‘हामीले होलीलाई मर्यादित बनाउन सोमबार पनि सोह्रखुट्टे लगायतको स्थानमा चेतनामुलक र्‍याली निकालेका थियौं’, लामाले भने, ‘हामीले माइकिङ पनि गरिरहेको छौं ।’ उनले अवस्था अनुसार कतिपयलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक पनि सोही हर्कत दोहोर्‍याए अभद्र व्यवहार (सार्वजनिक) मुद्दा समेत चलाइने दाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् । ती कार्यक्रमहरुको सुरक्षामा सम्बन्धित आयोजकका तर्फबाट स्वयम्सेवकसँगै प्रहरी पनि खटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment