Comments Add Comment

७ करोड खर्चेर धुलिखेलमा साहसिक खेल ‘सुपरम्यान जिपलाइन’

३ चैत, काठमाडौं । धुलिखेलमा सञ्चालनमा ल्याइएको साहसिक खेल ‘सुपरम्यान जिपलाइन’मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

जिपलाइन खेल्न पोखरा नै पुग्नु पर्ने बाध्यता हटे पछि काठमाडौं उपत्यकावासीहरुको घुइँचो धुलिखेलमा लागेको हो । यस अघि बढीमा दैनिक ६० जनाले खेलको मनोरञ्जन गर्दै आएका थिए तर शनिबार यसको दोब्बरले मनोरञ्जन लिएको जिपलाइनका सञ्चालक केदार थापाले अनलाइनखबरलाई बताए ।

राजधानीबाट नजिकको दूरीमा भएका कारण पनि आन्तरिक पर्यटकको चाप दिनानुदिन बढ्दै गएको थापाले बताए । थापा र भुपेन्द्र श्रेष्ठले संयुक्त रुपमा वल्ड वाइड एड्भेन्चर प्रालि नामक कम्पनी दर्ता गरेर जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।

पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीलगायतका ठाउँमा जाने आउने बाटो अरनिको राजमार्ग भएकाले त्यसको नजिक पारेर जिपलाइन निर्माण गरिएको सञ्चालक थापाको भनाइ छ ।

उनले यसलाई आन्तरिकका साथै बाहृय पर्यटकहरुको समेत रोजाइ बनाउने बताए । थापाका अनुसार अहिले आन्तरिकसँगै बाहृय पर्यटकहरुले पनि फाट्टफुट्ट आउने गरेका छन् ।

धुलिखेलमा शुरु गरिएको जिपलाइन खेलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न समेत मद्दत पुग्ने थापाको दावी छ ।
धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म यहाँ चार करोड रुपैयाँ भन्दा धेरै लगानी भइसकेको अर्का सञ्चालक भुपेश श्रेष्ठले बताए ।

सञ्चालक श्रेष्ठका अनुसार अझै केहि भौतिक संरचना बनाउन बाँकी रहेको छ । बालबच्चाका लागि मनोरञ्जन दिने मिनी जिपलाइन बनाउने क्रममा रहेको उनले बताए । यो सबै तयार हुँदा भने लागत ७ करोड नाघ्ने उनी बताउँछन् ।

सञ्चालक श्रेष्ठका अनुसार उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ ।

थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुन्द्रीसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ ।

फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्रविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो ।

युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालन लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ ।

समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका यी प्राविधिकले नियमित प्राविधिक परीक्षण गर्ने गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment