News Summary
Generated by OK AI. Editorially reviewed.- मधेसमा छठ पर्व हिन्दू धर्मको पवित्र, अनुशासित र प्रकृतिकेन्द्रित पर्वका रूपमा मनाइन्छ, जसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको समन्वय प्रस्तुत गर्छ।
मधेस अहिले महापर्व छठमा झुमेको छ । छठ पर्व हिन्दू धर्मको अत्यन्त पवित्र, अनुशासित र प्रकृतिकेन्द्रित पर्व हो, जसले धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्भूत समन्वय प्रस्तुत गर्छ । यो पर्व सूर्यदेव र छठी माईको आराधनामा केन्द्रित छ, जसमा श्रद्धालु भक्तजनहरूले आफ्ना पुत्र, पति र परिवारको दीर्घायु, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्छन् ।
नेपालका मधेसी समुदाय र भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, बंगाल लगायतका क्षेत्रमा यो पर्व विशेष भव्यताका साथ मनाइन्छ । पछिल्ला वर्षहरूमा काठमाडौं, पोखरा, विराटनगरजस्ता शहरमा पनि यसको रौनक फैलिँदो छ । सूर्यदेवलाई जीवन, ऊर्जा, स्वास्थ्य र समृद्धिको प्रतीक मान्ने यो पर्व आत्मानुशासन, शुद्धता र प्रकृतिप्रतिको आस्थामा आधारित छ । ब्रततालुहरू नदी, पोखरी वा जलाशयमा उभिएर सूर्यलाई अर्घ्य दिन्छन् । यसरी सूर्यको आराधना गरी उनीहरूले केवल धार्मिक श्रद्धा प्रकट गर्दैनन्, परिवार र प्रकृति र जीवनप्रति सम्मान पनि प्रकट गर्छन् ।
चार दिनसम्म चल्ने यो पर्व क्रमशः नहाय-खाय, खरना, सन्ध्या अर्घ्य र बिहानी अर्घ्य गरी चार चरणमा सम्पन्न हुन्छ । पहिलो दिन नहाय-खायमा ब्रतालुहरूले घर सफा गरी, नदी वा पोखरीमा स्नान गरी सात्विक भोजन गर्छन् । यसले शरीर र मनको शुद्धिकरणको सन्देश दिन्छ । दोस्रो दिन खरनामा बेलुकी खीर, रोटी र गुँडको प्रसाद खाएर ब्रतको आरम्भ गरिन्छ ।
तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ, जहाँ घाटहरू दीप र कलशले उज्यालो हुन्छन्, लोकगीत गुञ्जिन्छन्, र परिवारका सदस्यहरू सामूहिक रूपमा उपस्थित रहन्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समाप्त गरिन्छ । छठ पर्वको यस्तो अनुशासन र विधि मानव जीवनमा आत्मसंयम, सहनशीलता र आस्था जगाउने माध्यम बनेको छ ।
छठको इतिहास वैदिक युगदेखिको मानिन्छ । कृषिप्रधान समाजमा सूर्यको उपासना र मौसमी चक्रसँग जीवनलाई जोड्ने माध्यमका रूपमा यस पर्वको परम्परा सुरु भएको विश्वास गरिन्छ । छठमा प्रयोग हुने प्रसादहरू चामल, गहुँ, गुँड, केरा, ठेकुवा, फलफूल, माटाका भाँडाहरू सबै प्राकृतिक र शुद्ध हुन्छन् ।
यसले गाउँघरको जीवनशैली, कृषि संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको झल्को दिन्छ । यो पर्वले प्रकृतिप्रतिको निर्भरता र सम्मानको बोध गराउँछ । किसानहरूका लागि सूर्य केवल देवता होइन, जीवनदाता शक्ति हुन्, जसले खेती, वर्षा र फसलमा सन्तुलन ल्याउँछ । त्यसैले छठलाई प्रकृतिसँगको संवाद र सहअस्तित्वको पर्व पनि भनिन्छ ।
छठ पर्व महिलामुखी पर्वका रूपमा चिनिन्छ । सामान्यतया महिलाहरू नै व्रत बस्छन्, पूजा गर्छन् र परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्छन् । उनीहरूको श्रद्धा, धैर्य र अनुशासनले यस पर्वलाई असाधारण बनाउँछ । पछिल्ला वर्षहरूमा पुरुषहरूको पनि सक्रिय सहभागिता बढ्दै गएको छ, जसले लैङ्गिक समानता र सामाजिक समरसताको सन्देश दिन्छ ।
छठमा देखिने महिलाको नेतृत्व, प्रसाद तयार गर्ने सीप, घाट व्यवस्थापन र सामूहिक सहयोगले उनीहरूको सामाजिक सशक्तिकरणको प्रतिविम्ब प्रस्तुत गर्छ । यो पर्व केवल धार्मिक अनुष्ठान नभई सामाजिक सहभागिताको अभ्यास पनि हो, जसले समुदायलाई एकताको सुत्रमा बाँध्छ ।
छठ पर्वको अर्को विशेषता स्वच्छता र पर्यावरणीय चेतना हो । घर, आँगन, बाटो र घाट सबै सफा गरिन्छ । पूजास्थलमा प्लास्टिक, रासायनिक रङ वा प्रदूषित वस्तुहरूको प्रयोग न्यून मात्रामा हुन्छ । सबैजना प्राकृतिक सामग्री प्रयोग गर्छन्, जसले पर्यावरणमैत्री जीवनशैलीको सन्देश दिन्छ । नदी, पोखरी र घाटमा सामूहिक रूपमा पूजा गर्दा सबै जात, वर्ग र धर्मका मानिस एउटै पङ्क्तिमा उभिन्छन् । यो दृश्य सामाजिक सद्भाव र एकताको उत्कृष्ट उदाहरण हो । छठले जातीय विभेदभन्दा माथि उठेर मानिसबीच समानता र सहअस्तित्वको सन्देश फैलाउँछ ।
तर आधुनिक समयमा यो पर्वले केही चुनौतीहरू पनि सामना गरिरहेको छ । शहरीकरणका कारण नदी र पोखरीहरू प्रदूषित बनेका छन् । प्राकृतिक घाटहरूको अभाव र अनियन्त्रित भीडले छठको मौलिकता केही हदसम्म कमजोर बनाएको छ । केही ठाउँमा यसको व्यावसायिकरण, खर्चिलोपन र प्रदर्शनमुखी प्रवृत्ति देखिन थालेको छ । यसले मूल आत्मा आस्था, शुद्धता र सरलताको मूल्य घटाउने खतरा ल्याएको छ । यद्यपि, मधेसका गाउँ शहरमा अझै पनि छठको परम्परा अत्यन्त अनुशासित, सामूहिक र आत्मीय रूपमा कायमै छ ।
छठ पर्वले मधेसमा साझा पहिचान र सांस्कृतिक गर्वको प्रतीकका रूपमा भूमिका खेलेको छ । यस पर्वका माध्यमबाट मधेसी समाजले आफ्नो सांस्कृतिक जीवन्तता, परम्परागत मूल्य र सामूहिक चेतनाको अभिव्यक्ति गर्छ । संघीय नेपाल पछि पनि यो पर्व स्थानीय समुदायको आत्मबल र सामाजिक एकताको उदाहरण बनेको छ । मधेसमा जहाँ राजनीतिक विभाजन, सामाजिक असमानता र आर्थिक संकट छन्, त्यहाँ छठ पर्वले साझा संस्कृतिको माध्यमबाट सहअस्तित्व र मेलमिलापको बाटो देखाउँछ ।
यस पर्वमा खर्च, पुरोहित वा भौतिक साधनको आवश्यकता हुँदैन । आवश्यक हुन्छ केवल आस्था, मनको पवित्रता र श्रद्धा । यही कारण छठलाई ‘लोकको पर्व’ भनिन्छ । यो पर्वले आत्मानुशासन, पर्यावरणीय चेतना, लैङ्गिक समानता र सामाजिक सहकार्यको पाठ दिन्छ ।
छठ पर्व वास्तवमा केवल धार्मिक अनुष्ठान होइन, जीवन दर्शन हो- जसले मानिसलाई प्रकृतिसँग सन्तुलनमा बाँच्न, समाजसँग मिलेर अघि बढ्न र आफ्नो अस्तित्वप्रति आभार व्यक्त गर्न सिकाउँछ । यही कारणले छठ पर्व युगौंयुगसम्म जीवित रहिरहनेछ र हाम्रो संस्कृति, आस्था र पहिचानको मूल धरोहर बन्नेछ ।
छठको सबैमा शुभकामना ।
प्रतिक्रिया 4