Comments Add Comment

रक्सी पिउनेलाई बढी टोक्छ लामखुट्टेले

५ चैत, काठमाडौं । मदिरा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको जर्नल अफ मस्किवटो कन्ट्रोल एसोसिएशनको रिपोर्टका अनुसार रक्सी नपिउनेहरुभन्दा पिउनेहरुलाई लामखुट्टेले बढी टोक्छन् । यद्यपि रक्सी पिउनेहरुप्रति नै लामखुट्टे बढी आकर्षित किन हुन्छन् भन्ने चाहिँ खुलेको छैन ।

लामखुट्टेले रक्सी कसरी पत्ता लगाउँछन् ? 

लामखुट्टेले मानिसहरुको पहिचान दुई केमिकलबाट गर्दछन् । पहिलो, कार्बनडाइ अक्साइड हो, जुन हामीले सास फेर्ने बेला बाहिर निस्किन्छ । दोस्रो, अक्टानोल हो । अक्टानोललाई मशरुम अल्कोहल पनि भनिन्छ । मशरुम अर्थात च्याउको स्वाद यही केमिकलबाट आउँछ । यो केमिकल हाम्रो शरीमा एल्कोहल अर्थात् रक्सी पिउँदा बन्दछ ।

अब अर्को प्रश्न आउँछ- रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन ?

लाखौं वर्षदेखि लामखुट्टेले मानिसहरुको रगत पिउँदै आएका छन् । तर, रक्सी पिएका व्यक्तिको रगत पिउँदा लामखुट्टेलाई नशा लाग्छ कि लाग्दैन भन्ने कुराको अनुसन्धान भने एकदमै थोरै भएको छ ।

लामखुट्टेबारे अमेरिकी जानकार तान्या डेप्कीले फलाडेल्पिmयाको पेन्सेल्भेनिया विश्वविद्यालयमा पढाउँछिन् । उनी भन्छिन्, ‘मलाई लाग्दैन कि पियक्कडको रगत पिउँदा लामखुट्टेलाई पनि नशा लाग्छ । किनभने रगतमा अल्कोहलको मात्रा नशा लाग्ने जति हुँदैन ।’

तपाईंलाई अचम्म लाग्न सक्छ, किरा फट्याङ्ग्राहरुमा रक्सीको नशा सजिलै पचाउन सक्ने यति धेरै क्षमता हुन्छ कि उनीहरुलाई सितिमिति नशा लाग्दैन ।

लामखुट्टेले रक्सी कसरी पचाउँछन् ? 

अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका कोबी स्केलका अनुसार कसैले १० पेग रक्सी पियो भने उसको रगतमा अल्कोहलको मात्रा ०.२ प्रतिशत हुन्छ । तर यदि कुनै लामखुट्टेले त्यो व्यक्तिको रगत पियो भने उसमा रक्सीको निकै कम असर हुन्छ । यसबाट लामखुट्टेलाई असर पर्दैन ।

लामखुट्टेको पाचन शक्ति पनि सशक्त हुन्छ । रगत बाहेक अरु कुनै चिज उनीहरुको पेटमा पुगेमा अलग्गै ठाउँमा जम्मा हुन्छ । त्यहाँ इन्जाइमहरुले पचाइदिन्छन् । अर्थात् लामखुट्टेको शरीरमा रक्सीको पर्‍यो भने पनि उसका इन्जाइमहरुले नयाँ केमिकलमा बदलिदिन्छन् । जसका कारण दिमागमा असर पर्दैन ।

लण्डनको नचुरल हिस्ट्री म्युजियमको रेखदेख गर्दै आएकी एरिका म्याकएलिस्टर भन्छिन्- हानी गर्ने धेरैजसो केमिकललाई आफ्नो खानाबाट अलग गर्ने क्षमता अधिकांस किराफट्याङ्ग्राहरुमा हुन्छ । उनीहरुले बिस्तारै बिस्तारै शरीरबाट बाहिर निस्कासन गर्दछन् । उनीहरुले रक्सीदेखि हानीकारक ब्याक्टेरियासम्म पचाइदिन्छन् ।

एरिकले किराफट्याङ्ग्राको बारेमा एक किताब, ‘द सेक्रेट लाइफ अफ फ्लाइज’, पनि लेखेकी छन् । उनी भन्छिन्- आम रुपमा पाइने झिंगा, माहुरीहरुमा असाधारण पाचन शक्ति हुन्छ । उनीहरु सडेगलेका फलबाट रस चुस्छन् जबकी सड्ने क्रममा फलहरुमा अल्कोहल बन्दछ ।

एरिका भन्छिन्, ‘लामखुट्टेलाई नशा लाग्छ भन्ने कुरा त थाहा छैन तर झिंगा, माहुरीहरु अक्सर एल्कोहलको शिकार हुन्छन् । यसक्रममा उनीहरुको चालढाल बदलिन्छ । उनीहरु मस्ति गर्न थाल्छन् । आफ्ना साथीहरु रोज्न कठिन संघर्ष गर्दैनन् । ज्यादा अल्कोहल पिएपछि उनीहरुले होस नै गुमाउँछन् ।’

लामखुट्टेले पनि सडेगलेका फल चुस्न मन पराउँछन् । पोथी लामखुट्टेले मात्र रगत चुस्छन् । किनभने अन्डा पार्नलाई चाहिने प्रोटिन उनीहरुले रगतबाट पाउँछन् । यसैगरी शक्ति प्राप्त गर्न भालेपोथी दुवैले फल र फूल चुस्छन् ।

तान्या डेप्की भन्छिन्, ‘रक्सी पिउने व्यक्तिलाई नै लामखुट्टेले मन पराउनुको कारण भने अचम्म लाग्दो छ ।’

जीनको कारण पनि आकर्षित हुन्छन् लामखुट्टे 

मानिसहरुको जीनको कारण पनि लामखुट्टे आकर्षिक हुन्छन् । विश्वको जनसंख्याको पाचौं हिस्साको जीनमा यस्तो चिज हुन्छ, जसबाट लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।

त्यसमध्ये एक कारण हो ‘ओ ब्लड ग्रुप’ । अन्यको तुलनामा ‘ओ’ रगत समूह भएका व्यक्तिलाई लामखुट्टेले टोक्ने आशंका दुई गुणा बढी हुन्छ ।

शरीरको तापक्रम बढी भएका कारण पनि लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् । गर्भवती महिलालाई पनि लामखुट्टेले बढी टोक्छन् । जुन व्यक्तिले गहिरो स्वास छाड्छ त्यसलाई पनि लामखुट्टेले बढी टोक्छ । किनभने उसले कार्बनडाइअक्साइड ग्यास छोड्छ र यसबाट मानिस भएको पत्तो पाउँछ लामखुट्टेले ।

लामखुट्टेका अलग अलग प्रजातिले शरीरको अलग अलग हिस्सामा टोक्छन् । कुनैले खुट्टामा, कुनैले पन्जामा, कुनैले गर्धनमा टोक्छन् । कुनैले चाहिँ अनुहारमा पनि टोक्छन् । शायद उनीहरुले मानिसको नाक र मुखबाट निस्कने कार्बनडाइअक्साइड सुँघ्दै त्यहाँ पुगेका हुनसक्छन् ।

तान्या भन्छिन्, ‘म कोस्टारिका गएको बेला लामखुट्टेले मेरो पैतालामा टोके । यो कसरी सम्भव भयो ?’

रक्सीबाट निस्किने एथेनोलले पनि यसैगरी लामखुट्टेलाई मानिसतर्फ आकर्षित गर्दछ । जब हामी रक्सी पिउँछौं, हाम्रो पसिनासँगै थोरै मात्रामा एथेनोल पनि निस्किन्छ । लामखुट्टे यसको गन्धबाट मानिसहरुसम्म पुग्छ ।

सन् २०१० मा बुर्किना फासोमा गरिएको एक अध्ययनबाट रक्सी वा बियर पिएपछि लामखुट्टेले बढी टोक्ने गरेको निष्कर्ष निस्किएको थियो ।

तान्या भन्छिन्, ‘यदि तपाईं भोकै भौंतारिरहनु भएको छ भने तपाईंको कदम पनि आफसेआफ त्यही दिशातिर लम्किन्छ जताबाट खानाको बास्ना आइरहेको छ । यसैगरी एथेनोलबाट पनि लामखुट्टेले संकेत पाउँछ कि आसपास उसको भोजन छ ।’

(बीबीसी फ्युचरबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment