Comments Add Comment

अरुण नदीमा पुल नबने आन्दोलन गर्ने भोजपुरबासीको चेतावनी

सडक डिभिजन कार्यालय तुम्लिङ्टारमा ज्ञापन पत्र पेश

arun-rever
अरुण नदीमा अलपत्र निर्माणाधीन पुल

३ कात्तिक, दिङ्ला (भोजपुर) । अरुण नदीमा निर्माणाधिन पक्की पुल पाँच बर्ष बितिसक्दा समेत सम्पन्न नभएको भन्दै भोजपुरका नागरीकहरुले सडक डिभिजन कार्यलय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाएका छन् ।

भोजपुर र संखुवासभाको सीमाना भएर बग्ने अरुण नदी माथिको तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुल निर्माण कार्य अलपत्र परेपछि भोजपुरका नागरीकले एक बर्ष भित्र सम्पन्न हुनेगरी काम थाल्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०६८ साल मंसिरमा सिलन्यास भएको सो पुललाई जिल्लाका राजनीतिक दलका नेताहरुले सम्पन्न गराउने भन्दा पनि चुनाबि भोट माग्ने बस्तुको रुपमा प्रयोग गरेको नागरिकको आरोप छ ।

विकास विरोधी राजनीतिक दलका नेताहरु बहिस्कार सुरु गरेका नागरिकहरुले तत्काल पुल निर्माण कार्य अगाडि नबढे चरणबद्धरुपमा आन्दोलन गर्ने बताए । निर्माण अलपत्र हुँदा सडक सञ्जालले भोजपुर र संखुवासभा जोड्ने योजना बर्षौंदेखि पूरा हुन सकेको छैन ।

gyapan-patra
सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीय

नागरिक अगुवा एवं बुद्धिजिवी सुमन लम्सालको संयोजकत्वमा गएको आम नागरिकहरुको समूहले सडक डिभिजन कार्यालय तुम्लिङ्टारमा ज्ञापन पत्र बुझाउँदै एक महिना भित्र जनताले अनुभूति पाउने गरी पुल निर्माण कार्य अगाडि बढ्नु पर्ने बताएको छ ।

एक महिनाभित्र पनि आफ्ना मागहरुलाई बेवास्ता गरे सशक्त आन्दोलन गर्ने संयोजक लम्सालले बताए । बिभिन्न ७ सुत्रिय माग राख्दै संयोजक लम्सालले भने, ‘पुल निर्माणका नाममा लापरवाही र कमजोरी गर्नेमाथि कारवाही हुनुपर्छ ।’

राष्ट्रपतिदेखि मन्त्रीहरु भोजपुरका भए पनि पुलनिर्माण कार्यले गति लिन नसक्नु अत्यन्तै दुखद पक्ष भएको भन्दै लम्सालले अब नागरीक चुप लागेर नबस्ने बताए ।

पुल निर्माणसँगै सरकारले तय गरेको मध्यपहाडि लोकमार्ग प्रवेश गर्ने, काठमाडौं आउने र ढुवानी सरल पर्ने एकमात्र बाटो तुम्लिङ्टार लम्छुवा भोजपुरको भएका कारण भोजपुर र संखुवासभाका नागरिकहरुका लागि पुल अति आवश्यक भएको अर्थशास्त्री सुरेश लम्सालले बताए ।

त्यस्तै अनुगमन समितिका संयोजक प्रकाश पौडेलले पुल अभावकै कारण हरेक महिना समयमा उपचार नपाएर महिला तथा बालबालिकाले ज्यान गुमाउनु परेको गुनासो सुनाए । उनले यो आन्दोलन सुरुवाती भएको भन्दै आवश्यक परे सडक डिभिजन कार्यालयमा ताला लगाउन पनि पछि नपर्ने उदघोष गरे ।

ज्ञापन पत्र बुझ्दै सडक डिभिजन कार्यालयका प्रमुख किस्न ओझाले नागरिकको दबावले थप काम गर्न सहयोग पुग्ने बताए । उनले केहि प्राविधिक समस्याका कारण ढिला भएको भन्दै तिहार पछि लगत्तै काम सुरु हुने दावी गरे ।

उनका अनुसार हाल पुलको लम्बाई ८७ दशमलव २ मिटर थपेर जम्मा लम्बाई २ सय ४७ दशमलव २५ मिटर बनाउनु पर्ने भएको छ । उनले पुरानो ठेक्का पुरानै ठेकेदारले सम्पन्न गर्नुपर्ने र बाँकी ८७ दशमलव २ मिटर थप गरेको पुलको काम नयाँ टेन्डर गरेर काम सुरु हुने बताए ।

१४ करोड लागतमा पुल निर्माण कार्य दुई वर्ष अघि नै सम्पन्न हुनुपर्ने भएपनि राजनीतिक खिचातानीकै कारण पुलको डिजाईन परिवर्तन भयो भने लागत रकम बढेर २० करोड रुपैयाँभन्दा धेरै पुग्ोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment