शुक्रबारबाट विश्वभर रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’ प्रतिक्षामा छ । यो चलचित्र प्रतिक्षामा हुनुको पछाडि धेरै कारण छन् ।
लामो समयपछि निर्देशक करण जोहर आफै लभ स्टोरी चलचित्र निर्देशनमा फर्कनु, नायक रणवीर कपुर र नायिका ऐश्वर्या रायको जोडी हुनु, गीतसंगीतले दर्शकको मन जित्नु लगायतका कारणले पनि यो चलचित्र चर्चामा छ । साथमा पाकिस्तानी कलाकार फवाद खान भएका कारण विवादमा फस्दा यो चलचित्रलाई अझ फाइदा भयो । शुक्रबारबाट विना रोकतोक यो चलचित्र रिलिज हुँदैछ ।
तर, यो चलचित्र हेर्नका लागि दर्शकले पैसा पनि राम्रै खर्च गर्नुपर्ने भएको छ । यो टिकटको मुल्य ७० रुपैयाँदेखि २२ सय रुपैयाँसम्म रहेको छ । यसअगाडि नायक सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ हेर्नका लागि दर्शकले केही हलमा १८ सय सम्मको टिकट काटेका थिए ।
रणवीर, ऐश्वर्या, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र हेर्नका लागि दर्शकले केही मल्टिप्लेक्समा २२ सय सम्मको टिकट खरिद गर्नुपर्ने भएको छ ।
तिहारको विदाको समयसम्म दिल्लीको पीवीआर मल्टिप्लेक्समा टिकटको मुल्य २२ सय पुर्याइएको छ । वुकिङ उच्च भएको मौका छोप्दै हल संचालकले टिकट दर बढाएका हुन् । चाडपर्वमा रिलिज हुने स्टार कलाकारका चलचित्रको टिकटदर विकेन्डमा उच्च हुने गरेको छ ।
प्रतिक्रिया 4