Comments Add Comment

मुखर्जीलाई चिठीः काश्मिरमा मारिएका विमलको शव परिवारलाई किन बुझाइएन ?

महामहिम प्रणव मुखर्जीज्यू,

सर्वप्रथम त नेपालको तीनदिने भ्रमणमा आउनुभएकोमा यहाँलाई स्वागत गर्न चाहान्छु । आशा छ, १८ वर्षपछि भारतीय राष्ट्रप्रमुखको तर्फबाट तपाईंले गर्नुभएको नेपाल भ्रमण अवश्य पनि सफल हुनेछ । आफ्नो गच्छेअनुसार पाहुनालाई स्वागत गर्नु सबैको कर्त्तव्य हो । सोही अनुसार त्रिभुवन विमानस्थल पुगेर हाम्रा राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले यहाँको स्वागत गर्नुभयो । त्यस्तै, जानकारी मन्दिर तथा सुन्दर नगरी पोखरासम्म भ्रमणको व्यवस्था मिलाइएको छ ।

महामहिमज्यू,

हाम्रो संस्कारमा पाहुना आएका व्यक्तिसँग गुनासो पोख्नु त्यति राम्रो मानिँदैन । यति हुँदाहुँदै तपाईंकै भ्रमणमा सार्वजनिक भएको एक घटनाका कारण तपाईं समक्ष यो पत्र लेख्न बाध्य भएको छु । यसलाई अन्यथा नमान्नुहोला ।

तपाईं नेपाल भ्रमणको तयारी गर्दै गर्दा भाइटीकाको अघिल्लो दिन भारतीय भूमि काश्मिरको सुरक्षार्थ खटिएका धरान -११ स्थायी घर भई हाल भारतीय सेनामा कार्यरत नेपाली आमाका सपूत २० वषर्ीय विमल तामाङले वीरगति प्राप्त गरेका थिए । बिहान भएको यो दुःखद घटनाबारे उनका परिवारजनले बेलुका मात्र थाहा पाए । सेनामा भर्ती भएपछि कर्त्तव्य निर्वाह गर्ने क्रममा कतिबेला कसले वीरगति प्राप्त गर्छ, त्यो नौलो विषय होइन । तर महामहिमज्यू, तपाईंको देशको भूमि रक्षाका लागि वीरगति प्राप्त गरेका विमलको शव परिवारजनलाई बुझाउन भारत सरकारले गरेको बेवास्ताका कारण भने मभित्र पीडाबोध भएको छ ।

bimal-tamang

महामहिमज्यू, सञ्चार माध्यमबाट सुन्दै छु, युद्धमा मारिएका सैनिकको शव परिवारजनलाई दिन मिल्दैन भनेर विमलको शव दिन समेत भारत सरकारले आनाकानी गर्‍यो । परिवारजनले शव नेपाल ल्याउन प्रयास गरे पनि सम्भव भएन । समाचार अनुसार, भारतीय सेनाले विमलको मंगलबार नै दाहसंस्कार गर्‍यो । आमा-बुवाले आफ्नो छोराको अनुहार अन्तिम पटक एक झल्को हेर्न समेत पाएनन् ।

त्यही काश्मिर हो, जहाँ भारतीय सेनाबाट वीरगति प्राप्त गरेका भारतीय नागरिकहरुको शव उच्च सम्मानका साथ परिवारजनलाई हस्तान्तरण गरेको दृश्य हामीले टेलिभिजनमा देख्यौं । तर, त्यहीँको लडाइँमा वीरगति पाएका नेपाली आमाको सपूतको शव भने परिवारजनलाई बुझाइएन । भारत सरकारको यो कस्तो विभेदकारी नीति हो, हामीले बुझ्न सकिराखेका छैनौं ।

सायद त्यो शव नेपालमा भएका परिवारजनलाई बुझाउँदा खर्च लाग्छ भनेर भारत सरकारले त्यस किसिमको चातुर्य गरेको हुनुपर्छ । यदि त्यस्तो अवस्था थियो भने हाम्रो वीर सपूतको शव ल्याउँदा लाग्ने खर्च हामी नेपाली नै बेहोर्न तयार थियौं ।

महामहिम महोदय, सवाल भारतीय भूमि रक्षाका लागि वीरगति प्राप्त गरेकाको शव ल्याउने मात्र होइन, भारतीय सेनाबाट अवकाश पाएपछि समेत भूपू गोर्खाका विधवाहरुले धैरे समस्या खेप्दै आएका छन् । त्यसतर्फ पनि भारत सरकारले कुनै चासो दिएको देखिदैन । त्यस्तै भारतीय सेनामा कार्यरत नेपालीहरुलाई उच्च पदमा पुग्न समेत वञ्चित गरिएको अवस्था छ । लडाइँको मैदानमा पठाउने तर प्रक्रिया अनुसार हुनुपर्ने वृत्तिविकासमा छेकबार लगाउनु कतिसम्म न्यायसंगत कुरा हो ? छिमेकी देशप्रति कसरी सम्मानजनक व्यवहार भयो यो ?

महामहिमज्यू, यी त भारतीय सेनासँग सम्बन्धित विषय भए । राजनीति र अन्य व्यावहारिक विषयहरुमा पनि भारतले नेपालप्रति धेरै विभेदकारी नीति अवलम्बन गरिरहेको छ । जुन नेपाल र नेपाली जनतालाई कुनै पनि हालतमा स्वीकार्य छैन । आशा छ, तपाईको भ्रमणपछि भारतले त्यसमा अवश्य सुधार गर्नेछ ।

दमौली, तनहुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment