तीन सय बर्षअगाडि गोर्खाका राजा नरभूपाल शाहले शुरू गरेको नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाह हुँदै प्रताप सिंह शाह र बहादुर शाहसम्म आइपुगेको नेपालको विस्तार कालान्तारमा खुम्चिँदै गयो। झन्डै ५० बर्ष लगाएर गरिएको त्यो बिशाल बिस्तार २५ बर्ष पुग्न नपाउदै १८७२ को सुगौली सन्धिले अलिकति लुछेर लग्यो। सिक्किमदेखि गढवालसम्म भारतले आफ्नो बनाएको त्यो भू-भाग पुगेर फर्कने हरेक नेपालीलाई एकपटक सोधे हुन्छ देशको १ इन्च पनि कसैले लैजाँदा कस्तो अनुभव हुन्छ भनेर।
टिष्टा खोलाको किनारमा पुगेर मुटु फुल्छ, आँखाबाट आँशु आउँछ । जीउ सिरिङ्ग हुन्छ अनि काँडा उम्रिएर आउँछ। देशको माया कति लाग्छ भन्ने कुरा परदेशिएका जो कोहीलाई सोधे थाहा हुन्छ।
उक्त एकतर्फी सम्झौता भएको ९२ बर्ष पछाडि १९८० पौष ६ गते भएको नेपाल वेलायत सन्धि (जसलाई दीर्घकालीन शान्ति तथा मित्रताको सन्धि पनि भनियो) ले नेपालमा भारतको अझै ठूलो कब्जाको योजना पूरा नभएको प्रष्ट हुन्छ। नेपालका केही शासकहरुलाई हातमा लिएर गरिएको सो सन्धिले नेपालमा पहिलो आधिकारिक बैदेशिक हस्तक्षेप जन्मायो।
त्यसबेला नेपाल आएका एडवार्ड गार्डनर्ले प्रयोग गर्ने लाजिम्पाटको जग्गा अहिले पनि भारतीय र बेलायती दूतावासले प्रयोग गरिरहेका छन्। उक्त सन्धिले नेपालका केहि भू-भाग त दियो तर बदलामा राष्ट्रिय स्वाभिमान सदाका लागि खोसेर लग्यो। सो सन्धि कति घातक र कति प्रत्युत्पादक भयो भन्ने कुरा सो सन्धिको २७ बर्षपछि मात्र बुझ्न सकिन्छ।
सन् १९५० (२००७ श्रावण १६ गते) को दीर्घकालीन शान्ति तथा मित्रताको सन्धि (जुन २७ बर्ष अगाडिको सन्धिको परिमार्जित रुप थियो) ले नेपाल आजसम्म पनि आफ्नो नियन्त्रणमा भएको भारतको बुझाई छ। आज पनि हामी आफूले चाहेको हतियार किन्न सक्दैनौँ। पेट्रोलियममा अझै पनि भारतकै हालीमुहाली छ। सिमाना खुल्ला छ। दैनिक सिमाना मिचिएको छ। बारम्बारको राजनीतिक हस्तक्षेप छ।
यहाँ मैले भारतको बिरोध गर्न खोजेकी होइन। बिगतमा भएका सन्धि सम्झौताको बिरोध मात्र गर्न खोजेको पनि होइन। मैले खोतल्न चाहेको बिषय हामीले आफ्नो देशको भविष्य र केही सिमित व्यक्तिको निर्णयमा पर्दा कस्तो हुँदो रहेछ भनेर प्रस्तुत गर्न खोजेको मात्र हूँ। १८७२ देखि १९८० अनि २००७ सालका बिचमा भएका सन्धिहरुले नेपाललाई कस्तो दूरगामी असर गर्यो भनेर त्यतिबेला नै छलफल हुनुपर्ने हो तर हुन सकेन।
बिगत २०० बर्षमा नेपालले आफ्नो भू-भाग मात्र गुमाएन आफ्नो स्वाभिमान र स्व-निर्णयको अधिकार समेत गुमायो। नेपाल भारत बिच भएका भू-भागको पछिल्लो सन्धि १०० बर्ष पुग्नै लाग्दा नेपालमा भैरहेका गतिबिधिले के संकेत गर्छन्र ? नेपालले बिगतमा गरेका गल्तीबाट सिक्ने केही कुरा छन् कि छैन? जतिबेला जो सरकारमा हुन्छ वा जसले देशको बागडोर सम्हालेको हुन्छ उसैको निर्णय हो? के नेपाल कसैको बिर्ता हो ? दशकौँ लगाएर हजारौँको बलिदानले प्राप्त भएको यो सानो देशमा जसले जे चाह्यो र जस्तो चाह्यो तेस्तै हुने हो? बिगतमा भएका सम्झौता खारेज गर्न त नसकिएला । तर, विगतका गल्तीबाट सिक्न सकिन्न र ? एकपटक आँखा चिम्लिएर आफू जन्मिएको माटो सम्झन सकिँदैन ?
हाम्रो देशमाथि जो सुकैको नजर जस्तो सुकै होस् आफू सजग हुनुपर्छ। तत्कालीन राजा वीरेन्द्रलॆ बिसं २०३१ सालमा प्रस्ताव गरेको तथा ११२ भन्दा बढि राष्ट्रहरुले मानेको नेपाल शान्तिक्षेत्र हाम्रै छिमेकी देशले किन मानेन? तत्कालीन भारतीय प्रधानमन्त्रीसंग समेत सम्पर्क भएका नेपालका नेताहरुले किन भारतलाई मनाउन सकेनन्? प्रश्न मनाउन सके या सकेनन् होइन मनाउन चाहे या चाहेनन् भन्ने हो।
हामी आफै आफ्नो देशलाई धोका दिने परम्परागत शैलीमा प्रस्तुत भयौँ। बिसं २०२८ साल माघ २७ गते राजा महेन्द्रको शंकास्पद मृत्यु भयो। तत्कालीन टाइगर टप्स होटलका मालिक जोन कोप्मानले जे भने, त्यसैलाई आधिकारिक मानियो र राजालाई हृदयघात भएको भनियो। के त्यो मृत्यु साँचिक्कै हृदयघात थियो? उक्त घटनाले जस्तो मोड लिए पनि राजा वीरेन्द्र र परिवारको हत्या कतै न कतै जोडिए जस्तो लाग्छ। आफ्नै भूमिमा सैनिक परेड खेल्न निम्तो दिए पछि धुलो त उड्छ नै। त्यस्तै भयो नेपालको राजनीति। आफ्नो समूह वा आफ्नो स्वार्थ पूरा हुन पायो भने जताततै लम्पसार पर्ने पूरानै शैली बारम्बार दोहोरियो। हरेक पटक केही बक्सिस त पाइयो होला । तर सो बक्सिससंगै के के गयो, हामीले कहिल्यै खोतल्दै खोतलेनौँ ।
आफ्नो स्वार्थ पूरा नहुँदा बिसं ०४५ सालमा भारतले गरेको नाकावन्दी सबै नेताहरुलाई थाहै छ। अझ फेरि आफ्नो स्वार्थ पूरा नहुँदा भएको ०७२ सालको नाकाबन्दी कसरी गराइयो ? मधेसका आफ्नै नेताहरु लम्पसार परे। आफ्नै देशका जनता हराउन छिमेकीको सहारा खोजियो। देशलाई देशभित्रैकाले धॊका दिए। हामी नेपाली चुप लाग्यौँ, मात्र हेरिरह्यौँ । ०४६ सालमा भएको महाकाली सन्धि किन आज सम्म लागू हुन सकेन ? झन्डै ३० बर्ष पहिला भएको सन्धिको पन्चेश्वर बहुउद्धेशीय आयोजना के भयो?
भारतले भनेको सबै हुने हामीले भनेको केही पनि नहुने कहिले सम्म ? हामीले हाम्रै नदीको पानीसम्म प्रयोग गर्न नपाउने गरी गरिएको सो सन्धि नेपालकै हितमा छैन भन्ने सबै प्रधानमन्त्रीलाई थाहा छ। सबै भारत भ्रमणमा गएका छन् तर खै के भएको छ ? जब जब सरकार परिवर्तनको कुरा आउँछ, तब तब महाकालीको कुरा आउँछ ।
०४८ सालको टनकपुर सन्धि किन एकतर्फी भयो ? सो समयमा टनकपुर बेचियो भन्दा समेत तत्कालीन सरकारले कसैको कुरा सुनेन। २०५२ सालमा शेर बहादुर देउवाले पुन: शारदा ब्यारेज र पन्चेश्वर आयोजनाका नाममा सम्झौता गरे। हरेक पटक बिरोध भयो। नेपालले एकतर्फी रुपमा कसरी आफ्नो नदीका पानी गुमाउदै गयो भन्ने प्रमाण अझै पनि इन्टरनेसनल रिभर्सको वेबसाइटमा हेर्न सकिन्छ। चाहिएको बेला आफ्नो देशको पानी प्रयोग गर्न नपाउँदाको पीडा छँदैछ। छिमेकीले बनाएको बाधले आफ्नै जमिन डुबानमा पर्छ। तर, सोही डुबान क्षेत्रमा गएर भाषण गर्ने नेतालाई लाज लाग्दैन। लम्पसारवाद जो छ।
कुरा नदीको मात्र होइन, ०५२ सालमा शुरु भएको माओवादी आन्दोलन अझै विप्लव समूहले बोकिरहेको छ। सरकारले भर्खरै प्रतिबन्ध लगाएको यो समूहको कार्य प्रकृति पनि २०५२ सालमा भूमिगत हुने बेलाको माओवादीको भन्दा फरक छैन। लाखौँ गैरनेपालीले नागरिकता लिन मिल्ने गरी विभिन्न स्किम ल्याइए। जब चुनाव जित्नु पर्ने हुन्छ, जब आफ्नै देशको अर्को पार्टीलाई सरकारबाट झार्नु पर्ने हुन्छ तब हरेकपटक केही न केही यो देशले गुमाउँछ। कुनै न कुनै नयाँ नेता प्रधानमन्त्री हुनुपर्यो भने कुनै खराब सम्झौता हुन्छ। चाहे माओवादी होस्, कांग्रेस होस् या एमाले सबैले कुनै न कुनै धोका दिए।
एकपटक प्रधानमन्त्री भैसके पछि किन फेरि हुनुपर्यो? मलाई यसो गर्द्यौ भने म जे भने पनि मान्छु भने प्रबृर्ति कहिले पनि गएन। हरेक पटक दिनेले केही दियो तर धेरै लियो। एउटा पार्टीले अर्को पार्टीलाई धोका दिएको आज मात्र हो र? गल्ती हामी जनताको पनि छ। कुनै पार्टीको कार्यकर्ताको नाममा हामी आफै केहि नभएको नाटक गरेर बस्यौ।
केही वर्षदेखि नेपालको राजनीतिमा जुन खलबली देखिएको छ, यो राम्रो संकेत हुदै होईन। नेकपाको कहिले नसकिने एकीकरण, तराईका पार्टीका एकोहोरो घुर्की, कांग्रेसको कुबुद्धि, बिदेशी चलखेल कसैलाई सामान्य लाग्ला । तर, यो सामान्य होइन। अहिले संसदमा प्रस्तुत भएको नागरिकता विधेयक यस्तै एउटा परिणाम हो। अबको केही वर्षमा दशौँ लाख गैरनेपालीले नेपाली नागरिकता लिन सक्ने गरी ल्याइएको सो विधयेक प्रस्तुत गर्ने नेता आफैले पूरा पढेको छैन भनेर भनिसकेका छन्। कसले लेख्यो, कहाँ तयार भयो ? कुन नियतले प्रस्तुत गरिदै छ यस्ता कानुन ?
नाकावन्दीकै बिरोध गरेर उदाएको र धेरैले राष्ट्रवादी भनेको ओली सरकारले नै आफ्नै देशमा भएको नाकाबन्दीको बिरोधको ब्यानर सहन सकेन। विवेकशील साझा पार्टीमा राखिएको बिरोधको ब्यानर प्रहरीले पटक पटक च्यात्यो। नेपाली कांग्रेसले नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेन। बिस्वाश गर्नुहोस् न कांग्रेस सद्धे छ, न कम्न्युनिष्ट, न राप्रपा।
जनताले चुनेर पठाएपछि जनताको कुरा सुन्नु पर्दैन ? जनताले गरेको बिरोध दिनहूँ चर्को हुदै छ सरकार केही नसुने जस्तो गर्छ। आज सरकारले एउटा भन्छ भोलि अर्को गर्छ। सि.के. राउतको कुरा हेरौ। सरकार एउटा भन्छ एउटा गर्छ। कुन देशमा आज सम्झौता गरेर भोलि तोडिन्छ ? काठमाडौँमा सम्झौता गरेर भोलिपल्ट सि.के. राउतले आफ्नै सैन्य दस्ता उतारे तर सरकार मौन बस्यो। के सरकार कसैसंग डराएको छ ? को हो त्यो ?
यदि होइन भने सरकारको आलोचना गरेर फेसबुकमा लेख्नेलाई समात्ने सरकारले सि.के.लाई छोडेर र बिप्लवलाई प्रतिबन्ध लगाएर कुनै खेल त खेल्दै छैन ? माओवादी जन आन्दोलन आफूले सोचे जस्तो नभएपछि चालिएका गोटी त होइनन् सि.के. राउत र स्वतन्त्र मधेशको नारा? कतै हाम्रै आफ्नाले परदेशीलाई बोकेर हिडेको त छैन? हुदै नभएको समस्या छ भनेर हाउगुजी देखाइरहेको त छैन ?
फेरि फर्केर हेरौँ नेपाल कसरी जनताले नचाहँदा नचाहँदै पनि धर्म निरपेक्ष राष्ट्र बन्यो ? कसरी ७ प्रदेश बने ? कसरी पूरै कम्युनिष्टलाई कमजोर पार्ने खेल भैरहेको छ ? कसरी सरकार कामै गर्न नसक्ने अवस्थामा पुगेको छ ? कसरी जनचाहना विपरीत विभिन्न विधयेक पारित गरिदै छ? सत्ताभित्रैका नेताहरुको जानकारी बिना किन हुँदैछन् ठूला ठूला निर्णय ? को छ यो सबैको चालक ? जनता उत्तर चाहन्छन्। देशले स्पष्ट नीति अवलम्बन गरोस्, असल छिमेकीको नीति बनाओस् ।
आफ्नै बलबुँताले केही गरौँ भनोस्। देशका जनता आवश्यक परे भोकै बस्छन् या भएको बाँडेर खान्छन् भन्ने कुरा २०७२ सालकै नाकावन्दीमा प्रमाणित भैसक्यो। जनतालाई चाहिएको सुख र सम्वृद्धि त प्राप्त हुन सकेन। जे जे निर्णय हुदै गए जनता चुप हुँदै गए तर अब त अति भएन र?
यिनै पार्टीहरु नै होइन राणा भएन भनेर भारत पसेका ? यिनै पार्टीहरु नै होइन राजा भएन भनेर फेरि पन्चायत फ्याँक्न छिमेकी गुहार्ने ? नबिर्सनुहोस् हामीले तपाईहरुलाई गणतन्त्र चाहियो भनेर पनि साथ दियौँ । यो संविधान भएन अर्को भयो भने बिकास र सम्बृद्धि आउँछ भनेर पनि साथ दियौ ? खै बिकास ? खै समृद्धि ? बारम्बार गल्ती दोहोर्याए हाम्रो आफ्नै नेतृत्वले हामीलाई नै धोका दिएको इतिहास छ । अब त्यस्तो नहोस् । जनता जागरुक भैसके।
नेपालमा भारतप्रति यति धेरै नकारात्मकता पहिले कहिले पनि थिएन। हाम्रो सरकारले बुझ्नुपर्यो कि त्यो तीतोपन अब आफ्नै सरकार बिरुद्ध खनिने छ। जब अत्ति हुन्छ तब खती हुन्छ भने जस्तै अबको आन्दोलनले आफ्नै देशलाई धोका दिने सबैलाई बढारेर लैजाने छ। सबैमा चेतना भया! यदि ओली सरकारले जनतालाई धोका दिएर अझै छिमेकी गुहार्ने गल्ती गर्दैछ भने यो अब हामीलाई सैह्य हुँदैन। तपाईंहरुको समृद्धि घाँटीसम्म आइसक्यो । देशको स्वाभिमान र हामी ३ करोड नेपालीको ईज्जतसँग खेल्ने जो कोही पनि अब उम्कन पाउँदैन।
नेपाल जति सानो भए पनि भारतसंग लडेकै हो। तिब्बतसँग पनि लडेकै हो। आज न भारतसँग न चीनसँग लड्न सक्छ । कारण हामी सानो भएर होइन । हाम्रो सोच सानो भएर हो । हाम्रा शासक शक्तिका लागि लालायित भएर हो । यदि कसैलाई सानो देश भएर छिमेकीको खप्की खानै पर्छ भन्ने लाग्छ भने स्विट्जरलण्ड, इजरेल, सिंगापुर अनि कतार हेर्नुहोस्। कुनै समय सन्सारभरि बहादुरीका लागि चिनिएको हाम्रो देश आज किन आफैँ रोइरहेछ ?
त्यसको एउटै कारण हाम्रा आफ्नै नेताहरूले आफ्नो स्वार्थका लागि देशमाथि गरेका अन्तर्घात हो । दु:खको कुरा, हामीले त्यो अन्तर्घात बुझ्न सकेनौँ र आज पनि तिनैबाट आशा गरेर बसेका छौँ । अब समय फेरिएको छ, २-४ जनाको बदनियतले अब स्वाभिमान बेच्न सजिलो हुने छैन । सहने दिन गैसके । खबरदार! यो देश कसैको बिर्ता होइन।
(पौडेल विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्)
प्रतिक्रिया 4