
२ कात्तिक, काठमाडौं । गाजामा विद्रोही समूह हमासले नागरिकमाथि आक्रमणको तयारी गरिरहेको अमेरिकाले दाबी गरेको छ ।
विश्वसनीय सूचनाको हवाला दिँदै अमेरिकी विदेश मन्त्रालयले हमासले गाजामा नागरिकमाथि आक्रमणको तयारी गरिरहेको दाबी गरेको हो ।
मन्त्रालयले गाजामा पुन: हमासले हत्या शृङ्खला सुरु गरे त्यो हालै भएको युद्धविराम सम्झौताको उल्लघंन हुने चेतावनी दिएको छ ।
कतार, इजिप्ट र टर्की समेतको मध्यस्थतामा सफल भएको युद्धविराम सम्झौताको प्रगतिलाई हमासका गतिविधिले कमजोर बनाउनेमा अमेरिकाको चिन्ता छ ।
तर, अमेरिकी अधिकारीहरूले सूचनाको स्रोत भने खुलाएका छैन र यसबारे थप विवरण नदिएका बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाले गाजामा शान्ति सम्झौताका अन्य ग्यारेन्टर अर्थात् इजिप्ट, कतार र टर्कीलाई यसअघि नै सूचित गरिएको जनाएको छ । युद्धविरामका शर्तको पालना गर्न हमासलाई अमेरिकाको आग्रह छ ।
विदेश मन्त्रालयले भनेको छ, ‘यदि हमास आक्रमणलाई जारी राख्छ भने गाजाका नागरिकको सुरक्षा र युद्धविराम कायम राख्न हामीले कदम उठाउनेछौं ।’
हमासले भने यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन ।
हाल इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरण लागू छ । सम्झौता अनुसार हमासले जीवित बन्धकलाई रिहा गरेको छ भने मृतकको शव इजरायललाई सुम्पिने क्रम जारी छ ।
प्रतिक्रिया 4