व्रिसबेन । हाल अष्ट्रेलिया भ्रमणमा रहेका नेपालका सँस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीबनबहादुर शाही आइतबार राति र सोमबार दिनभर क्वीसल्याण्डको नेपाली समुदायसँग अन्तर्क्रियामा रहे । उनी नेपाल फेस्टिबलको कार्यक्रम सकेर व्रिसवेन आइपुगेका थिए ।
पर्यटन प्रवर्द्धनमा नेपाल सरकारको नीति र कार्यक्रमबारे आयोजित अन्तर्क्रियामा बोल्दै मन्त्री शाहीले आफू कुराभन्दा काम गर्न चाहने भएको बताए । उनले पर्यटन र विकास असंख्य भनिएको नेपालको अति दुर्गम जिल्ला हुम्लामा केही राम्रा उदाहरण पेश गर्न आफू सफल भएको बताए ।
उनले भौगोलिक विकटता, विगतको सशस्त्र द्वन्द्वका बीच पनि हुम्लामा विकासका काममा आफूले सफलता हासिल गरेको बताए । उनले आफूसँग नेपालको पर्यटन विकासको स्पष्ट खाका भएको बताउँदै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया र दुईवटा बोइङ खरिद प्रक्रिया अगाडि बढाउने योजना चालु रहेको बताए ।
उनीसँगै भ्रमणमा रहेका गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले आफूले जापानमा व्यापारमा गरेको प्रगतिलाई नेपालको विकासमा लगाउन चाहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता नवराज गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल सहभागी थिए ।
गैरआवासीय नेपाली संघ क्वीन्सल्याण्डका संयोजक अभिजानसिंह बस्नेतको अध्यक्ष्तामा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि स्वतन्त्र प्रताप शाह, वरिष्ठ पत्रकार डा. भरत पौडेल, डा. पार्थ पराजुली लगायत चालीस जना नेपालीहरुको सहभागीता थियो ।
मन्त्री शाहीले सोमबार दिउँसो पर्यटकीय शहर गोल्डकोष्टको भ्रमण गरेका थिए । कार्यक्रममा भुटानले पर्यटन विकासमा कसरी प्रगति गर्यो भन्ने त्यहाँका प्रधानमन्त्री छिरिङ तोग्बेको चर्चित भिडियो पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया 4