Comments Add Comment

कलाकारको अभिनयः पहिले पनि कांग्रेस, अहिले फेरि कांग्रेस 

नयाँ शक्तिदेखि पुरानो शक्तिसम्म कलाकारको राजनीतिक मोह

congress-prabesh

यसैसाता कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित कार्यक्रममा १० जना कलाकार टीका लगाएर कांग्रेसमा प्रवेश गरे । त्यसरी पार्टी प्रवेश गर्नेहरु हिजो पनि कांग्रेस नै थिए । उनीहरुले रुख चिन्हमा भोट हाल्दै आएका थिए । तर, कांग्रेसकै कलाकारले कांग्रेस प्रवेशको अभिनय गरे देउवा निवासमा ।

माओवादी शान्ति प्रकृयामा आएपछि रामकेशर बोगटी माओवादी अध्यक्ष प्रचण्डसँग नजिक हुने प्रयासमा थिए । प्रचण्डसँग सम्बन्ध बढाउन प्रचण्डको तत्कालीन निवास नयाँबजारमा पटक-पटक धाएका बोगटीले माओवादीवाट खासै लाभ लिन सकेनन् । कलाकार संघको अध्यक्षमा कांगे्रस निकट कलाकारको साथ पाएपछि अध्यक्ष जितेका बोगटी बुधबारदेखि देउवाको हातवाट टीका लगाएर पक्का कांग्रेस भएका छन् ।

विगतमा कलाकारहरु माओवादी पार्टीमा प्रवेश गरेका बेला निर्देशक नीर शाह पनि प्रज्ञा प्रतिष्ठान पुगेका थिए । तर, अरु कलाकारसँगै टीका लगाएर पार्टी प्रवेश गरेनन् । तर, उनले माओवादी पार्टी मुलुुकको आवश्यकता भएको भन्दै आफु पनि माओवादी विचारवाट प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

केही समय माओवादी नेतृत्वसँग उनको राम्रै समन्वय भयो । पद लिने र दिने कुरामा सहमति नभएपछि शाहलाई माओवादी मन पर्न छोड्यो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई भोट माग्दै हिँडे । उनी अहिले आफुलाई कांग्रेस निकट कलाकारकै रुपमा चिनाउन चाहन्छन् ।

सामान्यतया पार्टीको विचार र सिद्धान्तवाट प्रभावित भएर पार्टी प्रवेश गर्ने चलन हुन्छ । तर, नेपाली कलाकर्मीहरुलाई कुनै पनि पार्टीको विचारले निर्देशित गरेको देखिँदैन ।

चार वर्षअघि माओवादीको विचारवाट प्रभावित भएको भन्दै कामरेड शैलीमा ‘लालसलाम’ गरेर माओवादी प्रवेश गरेकी रेखा थापा चार वर्षपछि कमल थापाको विचारवाट पहिल्यैदेखि प्रभावित थिएँ भन्दै राप्रपा प्रवेश गरिन् । यसैवाट पुष्टि हुन्छ, हाम्रा कलाकार लहडमै पार्टी प्रवेश गर्छन् र लहडमै छोड्छन् पनि ।

माओवादी आन्दोलनले कलाकारको चेतना स्तर बढायो 

०४६ सालमा बहुदलिय प्रजातन्त्र पुर्नस्थापना भएपछि आम नागरिक विभिन्न दलमा आवद्ध भए । तर, समग्र कलाकर्मी पार्टी राजनितीमा खुलेर आएनन् । ०६० सालसम्म पनि आफूलाई मूलधारका भन्ने कलाकर्मीहरु ‘हामी त राष्ट्रका गहना’ भन्ने गर्थे ।

जब, माओवादी शान्ति प्रकृयामा आयो, माओवादी नजिक कलाकारहरुले भन्न थाले कि कलाकार राष्ट्रका गहनामात्रै हैनन् शक्ति पनि हुन् । अनि मूलधारका कलाकारले पनि आफ्नो परिचय आफैंले फेरे र भन्न थाले ‘हामी राष्ट्रका शक्ति हांै’ ।

कलाकर्मीहरुमा राजनीतिक चेत छिर्दै गरेका वेलामा माओवादी पार्टीले प्रज्ञा प्रतिष्ठानमा बृहत कार्यक्रम गर्‍यो र एकसय बढी कलाकार एवं प्राविधिकलाई पार्टी प्रवेश गरायो । एक सय बढी कलाकार एकैपटक माओवादी प्रवेश गरेपछि कांग्रेस, एमाले र राप्रपाले पनि पार्टीमा कलाकारलाई प्रवेश गराउने क्रमलाई अभियानकै रुपमा सूरु गरे । त्यसपछि हरेक पार्टीका जनबर्गीय संगठन पनि सक्रिय हुन थाले ।

अहिले निर्देशक समाज, निर्माता संघ, कलाकार संघलगायत कुनै संघसंस्थामा उम्मेदवार बन्ने व्यक्ति कति व्यवसायिक छ, हेरिँदैन । मात्रै कुन पार्टी हो भनेर हेरिन्छ । जुन पार्टीको पल्ला भारी भयो, उसैको जीत सुनिश्चित हुने गरेको छ ।

निर्देशक समाज, निर्माता संघ, वा कलाकार संघको अध्यक्षको उम्मेदवार विकास बोर्डको अध्यक्षको दावेदार मानिन थालेको छ । त्यसकारण पनि हरेक कलाकारलाई खुलेर पार्टीमा लाग्नैपर्ने वाध्यता छ । कुनै पनि कलाकार एवं प्राविधिक जतिसुकै क्षमतावान किन नहोस् यदि कुनै पार्टीमा आवद्ध छैन भने राजनीतिक नियुक्ति उसका लागि ‘आकाशको फल आँखातरि मर’ हुने निश्चित छ ।

किन पार्टी फेर्छन् कलाकार ?
माओवादी पार्टीले गरेको आम हडलातमा माओवादी अध्यक्ष प्रचण्डसंग नाँचेपछि चर्चामा आएकी रेखा थापा त्यसको एक वर्षपछि एमाले नेतृ उर्मिला अर्यालसँगै माओवादी पार्टी प्रवेश गरिन् ।

माओवादीमा लागेपछि दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पार्टीको उम्मेदवार समेत भएकी रेखा मतदाता नामावलीमा नाम नभएका कारण हिस्स परिन् । यद्यपि उनले विकास बोर्ड अध्यक्ष लगायत अन्य संघसंस्थामा नियुक्तिका लागि पनि पहल नगरेकी हैनन् । तर, उपलब्धि हात पर्न सकिनन् । अन्तिममा हिन्दु नारी हुँ भन्दै राप्रपा प्रवेश गरिन् ।

यी कति टिक्छन् हेर्न बाँकी छ
दोस्रो संविधानसभा निर्वाचन हुनुभन्दा केही महिनाअघि एमाले पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा टीका लगाएर एमाले प्रवेश गरेका भुवन केसी दोस्रो संविधानसभा निर्वाचनमा एक दिन सभासदको उम्मेदवार समेत भए । केसीलाई टिकट दिएकै कारण काठमाडौ क्षेत्र नम्बर एकका पार्टीका सबै कार्यकर्ताले आ-आफ्नो पदवाट राजीनामा दिएपछि पार्टीले भुवनको टिकट खोस्यो । तर, आजसम्म भूवन एमालेमै छन् ।

डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गरेपछि नयाँ शक्ति नेपालको अभियानमा सक्रिय करिश्मा मानन्धर अहिलेसम्म नयाँ शक्तिकै अभियानमा सक्रिय छिन् । सरोज खनाल, अशोक शर्मालगायतले पनि नयाँशक्ति पार्टीका विषयमा अहिलेसम्म कुनै असन्तुष्टि व्यक्त गरेका छैनन् ।

व्यवसायिक मर्यादा घट्दो
कलाकारहरु दलीय राजनीतिमा सक्रिय हुनु आफैंमा नराम्रो घटना होइन । संघसंस्थामा नियुक्ति पाएका कतिपय व्यक्तिले व्यवसायिक कामभन्दा पार्टीका फोस्रा एजेन्डालाई महत्व दिँदा महत्वपूर्ण मुद्दा समेत ओझेल पर्न थालेको छ । राष्ट्रिय चलचित्र नीति कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिका संयोजकका यादव खरेलले सरकारले नीति कार्यान्वयनमा तत्परता नदेखाएको र काम गर्ने वातारवरण नभएको भन्दै पदवाट राजीनामा दिए ।

राष्ट्रिय चलचित्र नीति अहिलेका लागि अति आवश्यक भए पनि सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड लगायत अन्य संस्थाका पदाधिकारीले महत्व नबुझिदिँदा छाँयामा पर्ने भएको छ ।

नेपाली कांग्रेसनिकट भएकै कारण निर्माता संघका अध्यक्ष राजकुमार राई चलचित्र विकास बोर्डका अध्यक्ष भएका हुन् । राईको पदावधि आउँदो जेठमा सकिँदैछ । राईको पदावधि सकिन केही महिना बाँकी हुँदैमा कलाकर्मीको आँखा विकास बोर्डको कुर्सीमा ठोक्किन पुगेको छ ।

चलचित्र विकास बोर्ड चलचित्रसँग सम्बन्धी चल्तीको संस्था मानिन्छ, अध्यक्ष लगायत बोर्ड सदस्यसमेत राजनीतिक भागबण्डाकै आधारमा नियुक्ति गरिने हुँदा बोर्डमा जान पाइन्छ कि भनेर पनि दलीय राजनीतिमा लाग्नेहरु बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment