Comments Add Comment

जनभावनामा खेलवाड नगरौं: कांग्रेस महामन्त्री कोइराला

shasank-koirala

२० पुस, कावासोती । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताको भावनामा खेलवाड नगर्न र चुनावमा केन्दि्रत हुन दलहरुलाई आग्रह गरेका छन् ।

नवलपरासीको गैंडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद उदघाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले तीन तहको निर्वाचन गराउँदा मात्र संविधान कार्यान्वयन हुने भएकाले चुनावमा केन्दि्रत हुन आवश्यक भएको बताए ।

संविधान जारी गर्दा दलहरु एकताबद्ध भएजस्तै संविधान कार्यान्वयनमा पनि सबै दल एक हुनुपर्ने उनको जोड थियो । ‘संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासदले सहमति जनाएका थियौं त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो,’ उनले भने, ‘जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।’

नवलपरासी क्षेत्र नम्बर १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागिपरेको समेत उनले बताए ।

अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल र खेल मैदान बनाउन समेत आवश्यक रहेको डा. कोइरालाले बताए । ‘यहाँ बिपी कोइरालाको नाउँमा अन्तराष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा छु,’ कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment