प्राविधिक कमजोरीका कारण लाखौं व्यक्तिहरुलाई नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फलो गर्न वाध्य पारिएको स्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटरले माफी मागेको छ ।
पद तथा गोपनीयताको सपथ खाएलगत्तै अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डल @POTUS ट्रम्पको नियन्त्रणमा आएको थियो ।
राष्ट्रपति परिवर्तनसँगै यसअघि पदमा रहँदा बाराक ओबामाले गरेका सबै ट्वीटहरु सफा गरेर आर्काइभ अकाउन्ट @POTUS44 मा सारिएको छ । तर, प्राविधिक त्रुटिले गर्दा यसअघि ओबामालाई फलो गरिरहेका सबैले ट्रम्पलाई फलो गर्न वाध्य भएका थिए ।
ट्वीटरका बोस ज्याक डोर्सेले कम्पनीले अनुसन्धान गर्दा त्रुटि भेटिएको जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यसबाट ५ लाख ६० हजार मानिसहरु प्रभावित भएको हुनुपर्छ ।’ उनी अगाडि लेख्छन्, ‘गल्ति भएकै हो, त्यो ठिक थिएन । हामी यसको जिम्मेवारी लिन्छौं र माफी माग्छौं । कुनै बहाना गर्नुछैन ।’
संक्रमण योजना बनाउन ओबामा प्रशासनले सबै प्लेटर्फमहरुमा काम गरेको डोर्सेले बताएका छन् । ‘यो एकाउन्ट व्यक्तिगत नभएर संस्थागत भएकाले फलोहरुहरुसँगै तर शून्य ट्वीटमा अकाउन्ट अपडेट गर्नुपर्ने उनीहरुले सोचे’ उनले लेखेका छन् ।
ट्रम्पको पहिलो ट्वीट
राष्ट्रपति भएपछिको आफ्नो पहिलो ट्वीटमा नै ट्रम्पले आफ्नो सोच उजागर गरेका छन् । उनले गरेको ट्वीटमा ‘बोर्डर फिर्ता ल्याउने र रोजगारी फिर्ता ल्याउने’ उल्लेख छ । यो ट्वीट उनले आफ्नो व्यक्तिगत अकाउन्टबाट गरेका थिए, जसमा उनका २ करोड १० लाख फलोअर्स छन् ।
राष्ट्रपतिको आधिकारिक अकाउन्ट पनि अपडेट हुन थालिसकेको छ । यसमा सबैभन्दा पहिले ट्रम्पले सपथ खाइरहेको फोटो हालिएको थियो भने त्यसपछि ह्वाइट हाउसको फोटो हालिएको थियो ।