
१८ चैत, काठमाडौं । मधेसका अन्य जिल्लाहरुमा नभएर बारा र पर्साका एकाध गाउँमा मात्रै भुँवरीजसरी आएको आँधी अरु बेलाको जस्तो सामान्य नभएको जानकारहरूले बताएका छन् । नेपालका मौसमविदले पनि यत्रो आँधी आउने अनुमान नगरिएको भन्दै यो आँधीबेहेरी अनुसन्धानको विषय भएको बताएका छन् ।
प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल आइतबार साँझ बाराको फेटा गाउँपालिकामै थिए । एकजना आफन्तको घरमा आयोजित सामाजिक समारोहमा भाग लिएर फर्कँदै गर्दा सडकमै उनले आँधीबेहरीको सामना गर्नुपर्यो ।
‘मैले जिन्दगीमा यस्तो कहिल्यै देखेको थिइनँ, आधा किलोसम्मका असिना खसेका थिए । करिब आधा घण्टाको वीचमा यो सब ताण्डव भयो । ईंटाले बनेका पक्की घरसमेत भत्किए ।’
मन्त्री सोनलका अनुसार बारा र पर्साको सीमा क्षेत्रमा पर्ने फेटा, प्रसौनी, कलैया लगायतका केही स्थानमा मात्रै यस्तो महाविपत्ति देखिएको छ । कतिपय गाउँपालिकाका निश्चित वडाहरुमा क्षति पुगेको छ ।
केही गाउँपालिकाका वडाहरुबाहेक आँधीहुरीको क्षती मधेसका अन्य जिल्लामा देखिएको छैन । केही निश्चित स्थानहरुमा मात्रै अनौठो घटना भएको छ । गाउँ नै उजाड हुने गरी एउटै गाउँमा ५०/६० जनाको निधन भएको छ । आँधीबाट हजारभन्दा बढी घरहरु प्रभावित भएका छन् ।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई पनि बारा पर्साका सीमावर्ती गाउँमा आएको आँधीबेहेरी अनौठो लागेको छ । उनी भन्छन्, ‘समुद्रको छेउमा मात्रै यस्तो आँधी आएको सुनिएको थियो, तर समुद्र नभएको ठाउँमा यस्तो भयो ।
मौसमविद भन्छन्- पूर्वानुमान थियो, तर….
मौसमविदहरुले आँधि आउन सक्ने पूर्वानुमान भए पनि पर्याप्त प्रविधि र मोडल नहुँदा आँधीको बेगबारे ‘अन्डरस्टिमेट’ गरिएको बताएका छन् । बारा-पर्सामा आएको आँधीलाई दुर्लभ भन्दै मौसमविदले यो अनुसन्धानको विषय भएको बताएका छन् ।
भारत सरकारले विहारमा आँधी आउन सक्ने भन्दै आफ्ना जनतालाई सचेत गराएको थियो । तर, नेपालमा भने मौसम विज्ञान विभागले यस्तो सर्तकता अपनाएको पाइएन ।
‘यो हाम्रो नेपालका लागि दुर्लभ घटना हो र मौसमविदहरुका लागि पनि अध्ययनको विषय हो,’ मौसमविद मीनकुमार अर्यालले भने ।
अर्यालले अनलाइनखबरसँग भने, ‘मध्य र पूर्वी भूभागमा पाँच-सात सय प्रतिसेकेन्डको गतिमा हावाहुरी आउँछ भन्ने पूर्वानुमान हामीले गरेका थियौं, तर यति शक्तिशाली होला भन्ने पूर्वानुमान गरेका थिएनौं ।’
अर्यालले प्रि-मनसुन सिजनमा मेघ गर्जनसहित पानी पर्नु र हुरी चल्नु सामान्य मानिने बताए ।
अर्यालले अनलाइनखबरसँग गरेको कुराकानीको अंश यस्तो छ-
यो हाम्रो नेपालका लागि दुर्लभ घटना हो र मौसमविदहरुका लागि अध्ययनको विषय पनि हो । अहिले हामी अध्ययनका क्रममा छौं । परवानीपुर वेदर स्टेशनबाट डाटा संकलन गरिरहेका छौं । अहिले हावाको गति कति थियो भन्ने पनि एकिन भइसकेको छैन । सबै डाटा संकलन गरेर अध्ययन गर्दा एकिन हुन्छ ।
वर्षाका लागि हामीसँग धेरै प्रकारका मोडेलहरु छन् तर आँधी हुरीको अध्ययन गर्ने मोडेल हामीसँग एउटा मात्र छ । त्यसैले पनि एकिन डाटा संकलन गर्न र निष्कर्षमा पुग्न समय लाग्छ । हामीसँग मोडलको अप्सनहरु नहुँदा हावाहुरीको शक्ति पूर्वानुमान गर्न नसकिएको हो । एउटा मात्र मोडेलमा भर पर्नुपर्ने स्थिति भएकाले कहिलेकाहिँ अन्डर स्टिमेट र कहिलेकाहिँ ओभर स्टिमेट भइदिन्छ । हिजो अन्डरस्टिमेट भयो होला ।
हामीसँग भएका राडारलगायतका प्रविधिहरु जडान गर्ने क्रममा छ । मौसमी अवस्था पत्ता लगाउने बेलुनहरु उडाइराखेका छौं । अटोमेटिक वेदर स्टेशनहरु पनि जडान गर्ने काम ७०-८० प्रतिशत सम्पन्न भइसकेको छ । सबै काम सकिएपछि अलि सहज होला ।
फेरि प्रि-मनसुन परियड भनेको कस्तो हो भने धेरैजसो सिस्टमहरु स्थानीयस्तरमै विकास हुन्छ । धेरै सिस्टम स्थानीय रुपमा भयो भने मोडलहरु देखाउन सक्दैन । लोकल्ली डेभलप के कारणले भयो भन्ने कुरा अध्ययन अनुसन्धानको विषय हो ।
स्थानीय वायु, ८-९ किलोमिटर माथिसम्मको वायुमण्डलको सतह, त्योभन्दा माथिल्लो लेभल, तल्लो तह, कता-कताबाट मोइस्चरहरु सप्लाइ भयो त्यसको आधारमा हामीले अध्ययन गर्नुपर्ने हुन्छ ।
बारा, पर्सा लगायतका जिल्लामा यस्तो अवस्था आउनुमा धेरै स्थानीय प्रणाली विकास भएर हो । यद्यपि यसमा तल्लो लेभलमा बंगालको खाडी र अरेबियन सागरबाट पनि सपोर्ट छ । माथिल्लो लेभलमा एक खालको न्यूनचापीय रेखा पनि देखा परेको छ । तर लोकल्ली चाहिँ धेरै सपोर्ट छ । एक्कासी माथि चिसो र तल तातो भइसकेपछि सोचेभन्दा बढी ओभर टर्निङ अथवा भूमरी जस्तो आयो ।
नजिकको वेदर स्टेशनमा भएको यन्त्रले हावाको गति कति मापन गरेको छ त्यसको आधारमा यो आँधी हुरीको नाम दिने गरिन्छ । बारा पर्सामा हावाको गति कति रहेछ भनेर हेर्न खोजिरहेका छौं । हावाको गतिको डाटा नआइसकेकाले नामाकरण गर्न अहिले सकेका छैनौं । डाटा आउन अलिकति टाइम लाग्छ । हावाको गति ३० नट अर्थात् १५ मिटर प्रतिसेकेन्डभन्दा माथि गइसकेपछि सशक्त हुरी आउँछ ।
आज भने आँधी हुरी आउने सम्भावना छैन । तर, मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । त्योसँगसँगै सानो हुरी चल्नु त सामान्य हो ।
प्रतिक्रिया 4